हिमालय आँखा अस्पतालमा वर्षमै ९ हजारको आँखाको शल्यक्रिया

समाधान संवाददाता २०८० फागुन २० गते १४:४०

पोखरा ।
हिमालय आँखा अस्पताल पोखराले शुक्रबार ३१ औं वार्षिकोत्सव मनाएको छ । पोखराको घारीपाटनमा रहेको अस्पतालले गएको आर्थिक वर्षमा ८ हजार ८ सय ४६ जनाको आँखाको शल्यक्रिया गरेको छ ।


स्थापनाको ३ दशकको यात्रामा गएको वर्ष इतिहासमै सबैभन्दा बढीलाई अस्पतालले सेवा दिएको छ । गएको वर्ष अस्पतालमा १ लाख ९१ हजार १ सय ९० जनाले ओपिडीमा सेवा लिएका थिए । अस्पतालले तीन दशकको यात्रामा ओपिडीमा ३८ लाखलाई सेवा दिएको छ भने १ लाख ४७ हजार ५ सय २५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।


अस्पतालकी मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले वार्षिकोत्सव समारोहमा गत वर्ष अस्पतालले गरेका विभिन्न गतिविधिबारे प्रकाश पारिन् । उनले यो अवधिमा अमेरिकन चिकित्सकको टोलीलाई साँपुबारे प्रशिक्षणसमेत दिइएको जानकारी दिइन् ।

Advertisement

अस्पतालले कम शुल्कमा गुणस्तरीय आँखा उपचार प्रदान गर्दै आएको उनको भनाइ छ । ‘हामीले अनलाइन दर्ता सुरु गरेका छौँ भने केही सेवाको शुल्कसमेत घटाएका छौँ,’ प्राडा श्रेष्ठ भन्छिन्, ‘अस्पतालको आइएसओ एर्टिफिकेसनको कामसमेत हुँदै छ ।’


वार्षिकोत्सवमा अस्पतालले सर्वाेत्कृष्ट विभागका रुपमा शल्यक्रिया विभागलाई पुरस्कृत गरेको छ । विभागका सबै सदस्य जनही ५ हजार र सम्मानपत्रसहित पुरस्कृत भएका छन् । यसैगरी, सर्वाेत्कृष्ट प्राविधिक कर्मचारीमा अस्मिता पौडेल र प्रशासनिक कर्मचारीबाट धनबहादुर लामा पुरस्कृत बने । उनीहरुलाई जनही नगद २० हजार सम्मानपत्र प्रदान गरियो ।

Advertisement


कार्यक्रममा नेपाल नेत्रज्योति संघ कास्कीका पूर्वअध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले नेपालको आँखा उपचारको क्षेत्रमा ठूलो योगदान गरिरहेको हिमालय आँखा अस्पताललाई सबै क्षेत्रले सघाउनुपर्नेमा जोड दिए । आई केयर फाउन्डेसन नेदरल्यान्डका अनिल गोर्खालीले २८ वर्षदेखि हिमालय आँखा अस्पतालासँग सहकार्य गरिरहेको र यो निरन्तर हुने प्रतिवद्धता गरे । फाउन्डेसनले सन् २०२४ मा अस्पताललाई २ करोड ४६ लाख र कर्णालीमा आँखा शिविरका लागि थप २० लाख दिने भएको छ ।


कार्यक्रममा नेपाल नेत्रज्योति संघ कास्की अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले मनकारीहरुको साथ, सहयोगले अस्पताल यहाँसम्म आइपुगेको जनाए । कार्यक्रममा संघका सचिव नारायण बरालले पनि बोलेका थिए । करिब ६० रोपनीमा रहेको यो अस्पतालमा अहिले १ सय २० जना कर्मचारी छन् । अस्पताललाई थप व्यवस्थित बनाउन यसको गुरुयोजना बनाइँदै छ ।

तपाईको प्रतिक्रिया