गण्डकीमा एमाले—माओवादीलाई सकस

समाधान संवाददाता २०८० फागुन २२ गते ९:१७

पोखरा ।
संघमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन हुने पक्का छ । दलहरुबिच यसबारे अनौपचारिक छलफलसमेत सुरु भइसकेको छ । तर संघमा जस्तै एमाले र माओवादी मिलेर नयाँ गठबन्धनको सरकार बनाउन सकस पर्ने देखिन्छ ।


६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले) को २२ र नेकपा (माओवादी केन्द्र) का ८ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित कृष्ण धिताल छन् ।


सभामुखले मत बराबरी भएमा मात्र मतदात गर्न पाउने कानुनी व्यवस्था छ । यसो हुँदा गण्डकीमा साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) निर्णायक हुने अवस्था छ । गण्डकीमा राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

Advertisement


संघमा अहिलेको सत्ता गठबन्धनमा नरहेको राप्रपा प्रदेशमा सरकारमा जाने सम्भावना निकै कम छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङको पार्टी नयाँ गठबन्धनमा जाने/नजाने प्रष्ट भइसकेको छैन ।


प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छन् । सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ । यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवैको साथ पाउँदा पनि बहुमत जुटाउन मुस्किल पर्छ ।

Advertisement


एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक) र राप्रपाका २ सांसद मिलेर ३१ अर्थात बहुमतको समीकरण बन्यो भनेमात्रै गण्डकीमा नयाँ गठबन्धनको सरकार बन्न सक्छ र कांग्रेस सत्ताबिमुख हुन्छ ।


राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङ सत्तामा जाने नजानेबारे कुनै सोच नबनाएको बताउँछन् । ‘हामी त अहिले यो भ्रष्ट व्यवस्थाको विरुद्धको आन्दोलनमा छौं, हाम्रो पार्टी केन्द्रले पनि आन्दोलनकै निर्देशन दिएको छ, सत्तामा जाने कि नजाने भनेर केही भनेको छैन,’ उनले भने ।


प्रदेश सरकारमा अस्थिरता आउने देखिएको खण्डमा भने धरापमा पर्नबाट जोगाउन आफूहरु तयार हुनसक्ने संकेत भने उनले दिए । अर्थात कांग्रेस र माओवादीको गठबन्धन टुटेर नयाँ गठबन्धन बन्न नसकी मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था आउन नदिने हकमा भने राप्रपा सरकारमा जान सक्ने उनको सन्देश थियो ।


एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भने नयाँ समीकरणका लागि जुनसुकै पहलकदमी लिन कुनै कसर बाँकी नराख्ने बताउँछन् । भन्छन्, ‘अस्थिरताको पक्षमा कोही छैन र मध्यावधि हुनु हुँदैन भन्नेमा सबै दल सहमत देखिन्छन्,’ उनले भने ।


२०७९ को प्रदेश सभा निर्वाचन पछि एमाले नेता खगराज अधिकारीको नेतृत्वमा पुस २५ गते गण्डकीमा माओवादी, राप्रपासहितको सरकार गठन भएको थियो । उनको सरकार ३ महिनामात्रै टिक्यो । माओवादीले संघमा कांग्रेससँग गठबन्धन गरेपछि गण्डकीमा पनि कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका थिए । उनले २०८० वैशाखमा सत्तारोहण गरेका थिए । तर वर्ष दिनमै उनको सरकार धर्मराएको छ ।

तपाईको प्रतिक्रिया