वैकल्पिक पदमार्ग पहिल्याउँदै एक्याप

सुन्दरकुमार थकाली २०८० फागुन २३ गते १०:४९

जोमसोम ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले पर्यटकीय पदमार्गहरु मर्मत तथा सुधारमा जोड दिएको छ । यातायात सञ्जालले ओझेलमा परेका वैकल्पिक पदमार्ग तथा प्रयोगविहीन अवस्थाका जीर्ण पदमार्गको मर्मत र सुधार गरिएको हो ।


आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुख्य गरी ३ वैकल्पिक पदमार्ग मर्मत तथा सुधारमा प्राथमिकता दिएको हो । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गर्ने थोरङ्लापासदेखि म्याग्दी र मुस्ताङको अन्तिम बिन्दु थासाङ गाउँपालिका ४ पैरोथाप्लासम्मका ३ वटा पदमार्ग मर्मत तथा सुधारमा एक्यापले उच्च प्राथमिकता दिएको छ ।


एक्याप मुस्ताङले थोरङ भन्ज्याङ वैकल्पिक पदमार्ग, तिलिचो पदमार्ग र सौरु—सिर्खुम वैकल्पिक पदमार्ग मर्मत सुधार गर्दै आएको छ । यी वैकल्पिक पदमार्ग सडक तथा विभिन्न कारणले जीर्ण बन्दै गएका थिए । एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले मर्मत तथा सुधार गरिएको पर्यटकीय वैकल्पिक पदमार्गको मर्मत सुधार गरी पर्यटकका लागि सहज बनाइएको सुनाए । उनले चालु वर्षको विनियोजित बजेटले कात्तिकदेखि एक्यापले ३ पदमार्ग मर्मत सुधार गरेको जनाए ।

Advertisement


मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकका लागि थोरङ भन्ज्याङदेखि मुक्तिनाथसम्म, घरपझोङ गाउँपालिका ५ ठिनीदेखि तिलिचो पदमार्गको मेसोकोन्दोपाससम्म र थासाङ गाउँपालिका—२ को सौरुदेखि सिर्खुमसम्मको वैकल्पिक पदमार्गको मर्मत तथा सुधार भइरहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप मुस्ताङले पर्यटकीय पदमार्ग मर्मतसँगै पर्यटकीय पदमार्गमा साइन पोस्टिङ गर्ने, अन्नपूर्ण संरक्षणभित्र पर्यटकले अवाञ्छित गतिविधि हुन नदिन पर्यटकले गर्न हुने र नहुने कार्य र पर्यटकीय पदमार्ग हुँदै पुग्ने सकिने पर्यटकीय गन्तव्यहरुको जानकारीमूलक सूचना बोर्ड राख्ने काम भएको छ ।

Advertisement

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गर्ने थोरङ्लापासदेखि म्याग्दी र मुस्ताङको अन्तिम बिन्दु थासाङ ४ पैरोथाप्लासम्मका ३ पदमार्ग मर्मत


मुक्तिनाथदेखि वारागुङ मुक्तिक्षेत्र १ लुप्रासम्मको वैकल्पिक पदमार्ग साइन पोस्टिङ गर्ने जानकारीमूलक सूचना बोर्डको पुनर्लेखन गर्ने र आवश्यकता अनुसार स्थापना गर्ने काम भइरहेको छ । वैकल्पिक पदमार्गमा यात्रा गर्दा पर्यटक अलमलमा नपरुन् भन्ने उद्देश्यले राखिएको साइन पोस्टिङले पदमार्गमा यात्रा गर्ने पर्यटकलाई निकै ठूलो सहयोग पुग्ने कार्यालय प्रमुख रेग्मीको विश्वास छ ।


मुस्ताङको ठिनी हुँदै तिलिचो जाने पदमार्गको मर्मत तथा सुधारको सर्भे र त्यहाँ साइन सर्भे भइसकेको र चाँडै त्यहाँ पदमार्ग मर्मतसुधार तथा जानकारीमूलक सूचना बोर्डको पुनर्लेखन गरी पुनस्र्थापना गर्ने योजना रहेको उनले जनाए । एक्यापले अपुग भएका पर्यटकीय पदमार्गका लागि साइन पोस्टिङ तथा, जानकारीमूलक सूचना बोर्ड लेखन लगायतको सर्भे गरेको छ ।


मुस्ताङमा छैरो—चिमाङ पदमार्ग, चिमाङ—छैरो पदमार्ग र सौरु—सिर्खुम पदमार्ग र टिटी, कुञ्जो, झिप्रा देउराली हुँदै पेरोथाप्ला पदमार्गमा साइन पोस्टिङसहित पर्यटक लक्षित साइन पोस्टिङ र सूचना बोर्डहरु राख्ने काम सकिएको छ । बेनी—जोमसोम राष्ट्रिय राजमार्ग नजिकै पर्ने लेते—कैकु पर्यटकीय वैकल्पिक पदमार्गको समेत सर्भे गरिसकेको छ ।


एक्याप मुस्ताङले वैकल्पिक पदमार्गमा परेका स्थानमा फोहोर व्यवस्थापन गर्ने कार्यमा समेत जोड दिएको छ । एक्यापले पदमार्गहरुमा आवश्यकता निर्धारण गरी डस्बिनको व्यवस्था गरेको छ । पछिल्लो समय सडक सञ्जालका कारण मुस्ताङका पर्यटकीय पदमार्ग ओझेलमा पर्न थालेका छन् ।


सडक यातायातका कारण मुस्ताङमा पर्यटक पदमार्गको अस्तित्व समाप्त हुन थालेकाले तिनको मर्मत, सुधार र संरक्षणको आवश्यकता परेको हो । हवाई मार्ग तथा सडक यातायातका कारण कतिपय पर्यटकले पर्यटकीय पदमार्गमा हिँड्न छाडिसकेका छन् । वैकल्पिक पदमार्ग प्रयोग नगरी राजमार्ग सडक प्रयोग गरी हिँड्ने पर्यटकले सवारी साधनको धुवाँ र सडकको धुलो खानुपर्ने अवस्था छ ।


राउन्ड अन्नपूर्ण हुँदै मुस्ताङ भित्रिने निकै कम पर्यटकले मात्र वैकल्पिक पदमार्ग प्रयोग गरेको पाइएको छ । अधिकांशले राजमार्ग सडक तथा सवारी साधनमा यात्रा गर्ने गरेका छन् । राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडकका कारण मुस्ताङमा दर्जनौं वैकल्पिक पर्यटक पदमार्ग मासिएका छन् । पर्यटकका लागि सरोकारवाला निकायले नयाँ वैकल्पिक पदमार्ग पहिचानमा जोड दिन नसक्दा पदमार्गहरुको अस्तित्व संकटमा पर्न थालेको हो ।


पर्यटकीय पदमार्ग सडक यातायातका कारण प्रयोगविहीन हुँदा लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको बसाईसमेत छोटिन थालेको हो । राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै कुनै बेला यात्रा गर्ने पर्यटकले २ सातासम्म बिताउने गरेकोमा पछिल्लो समय ४/५ दिनमै अन्नपूर्ण सर्किटको यात्रा छोट्टिन पुगेको हो ।


यसबाट पर्यटकीय पदमार्गहरुमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायी विस्थापित हुँदै गएका छन् । पृथक भूगोल, मनोरम प्राकृतिक सम्पदाले भरिपूर्ण हिमाली जिल्लामा पदमार्ग संरक्षणका लागि अन्धाधुन्ध विकासलाई नियन्त्रण गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । उनीहरुले सडक सञ्जालअघि सञ्चालनमा रहेका पदमार्गको सुधार र नयाँ पदमार्ग खोजी गर्दै पर्यटक पदमार्गको प्रचारप्रसार गर्नुपर्ने आवाजसमेत उठेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया