गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी

समाधान संवाददाता २०८० फागुन २८ गते २०:२१

पोखरा ।
गण्डकी प्रदेशसभाको तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो नेतृत्वमा सरकार गठनको पहल थालेको छ । यसअघि प्रदेशमा बनेका सबै सरकारमा माओवादीको सहभागिता रहे पनि अहिलेसम्म यसले नेतृत्व पाएको छैन ।


सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा पार्टीबाट मुख्यमन्त्रीका लागि आवश्यक पहल गर्नेबारे छलफल भएको छ । माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा पुनले केन्द्रले माओवादीले नेतृत्व पाउने संकेत गरेकाले प्रदेशमा अग्रसरता दिइएको दाबी गरिन् ।


‘बैठकबाट औपचारिक निर्णय गरिएन तथापि गण्डकीको नेतृत्व हामीले पाउने केन्द्रले भनेकाले नेपाली कांग्रेस बाहेकका सबै दलसँग सहकार्य थालेका छौँ,’ उनले भनिन् । अहिलेसम्म प्रदेशमा माओवादीको समर्थनमा एमाले र कांग्रेसले समान २ पटक सरकारको नेतृत्व गरेको जनाउँदै उनले यसपालि माओवादीले मुख्यमन्त्री पाउनुपर्ने जिकिर गरिन् ।

Advertisement


गण्डकीमा माओवादीका सभामुखसहित ८ सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा (एमाले)सँग २२ र नेकपा (एकीकृत समाजवादी)सँग १ सांसद छन् । यहाँ सत्ता गठबन्धनलाई सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ जरुरी छ । प्रदेशमा राप्रपाका २ सांसद छन् ।


माओवादीबाट हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी छन् । तनहुँबाट दोस्रो पटक प्रदेशसभा सदस्य चुनिएका चुमान अघिल्लो कार्यकालमा आन्तरिक मामिला मन्त्री थिए । दोस्रो कार्यकालको पहिलो सरकार एमाले नेतृत्वमा बन्दा उनी मन्त्री बनेनन् । दोस्रो पटक सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि माओवादीबाट पुरानै मन्त्रीहरु रेशमबहादुर जुग्जाली र सुशीला सिम्खडा दोहोरिए ।

Advertisement


चुमान भने यसपालि माओवादीले नेतृत्व पाउनेमा आशावादी छन् । उनी भन्छन्, ‘यसअघि बारम्बार हामीले गठबन्धनका साझेदारलाई मन्त्री बनायौं, यसपालि माओवादी स्वभाविक हकदार हो ।’ यता, एमालेले पनि सरकारको नेतृत्वका लागि पहलकदमी गरिरहेको छ । आइतबार भएको एमाले संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।


गण्डकीमा माओवादीले नयाँ सरकार गठनका लागि सबै दलसँग संवाद र छलफलको संयोजन गर्ने अधिकार संसदीय दलका नेता हरिबहादुर चुमानलाई दिइएको छ । माओवादीले कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परिसकेको जनाउँदै दीर्घकालीन महत्वका निर्णय नगर्नसमेत सचेत गराएको छ ।


संघमा २१ गते सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ गते माओवादीबाट सरकारमा सहभागी २ मन्त्रीलाई बर्खास्त गरेका थिए । आफ्ना मन्त्री बर्खास्त भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । अब पाण्डे नेतृत्वको सरकारले चैत २१ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । राप्रपा अनिर्णीत भएको अवस्थामा न कांग्रेसले विश्वासको मत पाउन सक्छ, न सत्ता गठबन्धनले नयाँ सरकार गठनका लागि ३१ सांसद जुटाउन सक्छ ।


मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा उपचुनाव हुनसक्ने बताए पनि एमाले र माओवादी भने सदनबाटै सहज रुपमा सरकार बन्ने अपेक्षामा छन् । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली आफूहरुले उपचुनावको परिकल्पनै नगरेको उल्लेख गर्छन् । भन्छन्, ‘सत्तामा हुनु वा प्रतिपक्षमा हुनु ठूलो कुरा होइन तर प्रदेशको स्थायित्व मुख्य हो । प्रदेशसभाबाटै सहज रुपमा सरकार बन्नेमा हामी ढुक्क छौँ ।’

तपाईको प्रतिक्रिया