मुस्ताङ र मनाङमा दादुरा—रुबेला खोप लगाउन सुरु

समाधान संवाददाता २०८० फागुन ३० गते १२:३१

जोमसोम ।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा दादुरा—रुबेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । हिमपात र अत्यधिक चिसोका कारण रोकिएको दादुरा—रुवेला रोग विरुद्धको खोप अभियान सोमबारदेखि सञ्चालन भएको हो ।


दादुरा रुवेला रोग विरुद्धको राष्ट्र व्यापी खोप अभियानको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले फागुन १३ गतेदेखि सुरु गरे पनि हिमाली जिल्ला मुस्ताङ र मनाङमा यो अभियान सञ्चालन प्रतिकुल मौसमका कारण दुई साता ढिलाइ हुन पुगेको हो । स्वास्थ्य कार्यालय मुस्ताङले चिसो र हिमपात छल्न बेसी झरेका नागरिकहरू जिल्ला नफर्किसकेकाले दादुरा—रुबेला खोप अभियान ढिलो हुन पुगेको बताएको छ ।


मुस्ताङमा आयोजित दादुरा —रुवेला रोग विरुद्धको खोप अभियानको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल र जिसस प्रमुख माया गुरुङले संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई भ्याक्सिनेटर र किट र स्वास्थ्य उपकरण हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

Advertisement

हिमपात छल्न बेसी झरेका नागरिकहरू जिल्ला नफर्किसकेकाले दादुरा—रुबेला खोप अभियान ढिलो हुन पुगेको


प्रत्येक ४/४ वर्षको फेरोमा दादुरा—रुवेला खोप अभियान सञ्चालन हुने स्वास्थ्य निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले उल्लेख गरे । उनले हिमाली जिल्ला मुस्ताङ र मनाङमा बुधबारदेखि एकैसाथ दादुरा—रुवेला खोप अभियान सुरु भएको जानकारी दिए । नेपालमा दादुरा—रुवेला रोग विरुद्ध ८० प्रतिशत बालबालिका खोपको पहुँचमा जोडिएको भए पनि २० प्रतिशत बालबालिकाले खोपबाट वञ्चित रहेको उनले बताए । जसमध्ये ४ प्रतिशतले कुनै पनि खोप नलगाएको र १६ प्रतिशत बालबालिकाले कुनै न कुनै रूपमा खोप मात्रा पुरा नगरेको निमित्त महानिर्देशक पौडेलको भनाई छ ।

Advertisement


गण्डकी प्रदेशको नवलपुरमा मात्रै ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा —रुवेला खोप लगाइएको प्रदेशका १० जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा —रुवेला खोप अभियान सञ्चालन भइरहेको निमित्त महानिर्देशक पौडेलले बताए । भारतमा दादुरा—रुवेला रोग संक्रमण बढ्दो रहेकाले सरकारले दक्षिणका सीमावर्ती क्षेत्रहरूमा १५ वर्ष मुनिका बालबालिकालाई दादुरा—रुवेला खोप अभियानमा समेट्नुपरेको उनले जनाए ।


हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा ६१२ जना बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम छ । खोप अभियानका लागि जिल्लाका ५ स्थानीय तहको २९ वटा खोप केन्द्रमा दादुरा—रुबेला खोप अभियान सञ्चालन हुने बताए । अभियान अन्तर्गत जिल्लाका २९ खोप केन्द्रमा २९ जना भ्याक्सिेनेटर,४० जना स्वसेवक र ५८ जना एईएफआई टोली परिचालन हुनेछन् ।


स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लाको थासाङमा फागुन २९ र ३० गते,घरपझोङमा फागुन २८ र ३० गते, वारागुङ मुक्ति क्षेत्रमा फागुन २९,३० र चैत्र १ गते,लोघेकर दामोदर कुण्डमा फागुन ३० र चैत १ गते र लोमान्थाङ गाउँपालिकामा चैत १ र २ गते गरी लगातार ५ दिनसम्म दादुरा —रुवेला खोप अभियान सञ्चालन हुने बताएको छ । राष्ट्र व्यापी खोप अभियानमा भई सबै बालबालिकालाई सरिक गराई नेपालबाट दादुरा—रुवेला रोग उन्मुलन तथा निवारणमा योगदान पुर्‍याउन सबै सरोकारवालाहरूले सहकार्य गर्न अपिल गरे ।


खोप अभियानलाई भव्य रूपमा सफल बनाउन स्वासथ्यकर्मी, स्वासथ्य स्वयंसेविका,जनप्रतिनिधि, विद्यालयका शिक्षक, प्रहरी र प्रशासन र पत्रकारहरुसँग समन्वय र सहकार्य गरिएको छ । दादुरा —रुवेला खोप अभियान अन्तर्गत मुस्ताङमा घरपझोङ गाउँपालिकाका ४ वटा खोप केन्द्रबाट एकैसाथ शुभारम्भ गरिएको हो । घरपझोङ गाउँपालिकाको जोमसोम स्थित मुस्ताङ अस्पताल, स्याङ, छैरो र चिमाङ स्वास्थ्य चौकीहरुमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा—रुवेला खोप अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा यसअघि अन्य खोप लगाउन छुटेका बालबालिकाहरुलाई पनि खोप दिइने स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।


बालबालिकाहरुलाई दादुरा—रुवेला खोप लगाउन आउने अभिभावकहरुको मुस्ताङ अस्पताललमा निकै ठुलो भीडभाड थियो । घरपझोङका ४ वटै स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मीले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई दादुरा—रुवेला खोप लगाए । घरपझोङमा बुधबार पनि खोप अभियान सञ्चालन हुनेछ ।


दादुरा—रुवेला रोग एक सक्रामक रोग हो । यो रोग लागेपछि बालबालिका सिकिस्त बिरामी हुन्छन् । यो रोग लागेपछि बालबालिकाको ज्यानै समेत जाने जोखिम हुन्छ । यो रोगबाट बच्न भरपर्दो उपाय भनेकै दादुरा —रुवेला खोप लगाउनु हो । ९ महिनादेखि १५ महिना मुनिका बालबालिकालाई २ पटकसम्म दादुरा—रुवेला रोग विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया