पोखराः पर्यटनको राजधानी

धनराज आचार्य २०८० चैत २ गते १४:४४

हिमालयको काखमा अवस्थित पोखरा प्राकृतिक सौन्दर्य, प्राचीन संस्कृति र साहसिक गन्तव्यका कारण प्रख्यात छ । नेपालको करिब मध्य भागमा अवस्थित यस नगरमा सहरदेखि ग्रामीण क्षेत्रसम्मलाई छन् । मुलुककै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पोखरा परिचित छ । साथै, प्राकृतिक सुन्दरता, यातायातको सुविधा, आवास तथा अतिथि सत्कार लगायतका विशेषताले समेत पोखरा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित छ ।


शान्त वातावरण र चारैतिर हरियाली पहाडले घेरिएको मुलुककै पर्यटकीय नगरीको रूपमा परिचित पोखरा संस्कृति तथा प्रकृतिप्रेमी र साहसिक पर्यटकहरूका लागि समेत अद्वितीय स्थान हो । शान्त र मनमोहक फेवातालमा प्रतिबिम्बित कुमारी हिमाल माछापुच्छ्रेको सुन्दर दृश्यले जो कोहीलाई लोभ्याउँछ । पर्यटक प्रफुल्ल मुद्रामा फेवातालमा डुंगा सयर गर्छन् । साँझपख सूर्यास्तको सुन्दर दृश्य र ताल किनारको जीवन्त लेकसाइडको वातावरणमा रमाउँछन् ।


पोखरा महानगरपालिका पर्यटकीय दृष्टिकोणले पोखरा लगायत समग्र गण्डकी प्रदेशलाई पर्यटनसँग सँगै जोडेर लैजाने प्रयत्नमा छ । पर्यटनमार्फत प्राप्त गरिएको यो समृद्धिको यात्रालाई ‘टुगेदर फर टुरिजम’ भन्ने अवधारणामा हामी अगाडि बढिरहेका छौँ । पोखरा गण्डकी प्रदेशको राजधानीमात्र नभई समग्र प्रदेशको मुख्य प्रवेश विन्दु र आर्थिक तथा व्यापारिक दृष्टिले पनि प्रमुख स्थान हो । यसर्थ गण्डकी प्रदेशलाई नेपालको पर्यटनको हब र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने निष्कर्षमा हामी पुगेका छौँ ।

Advertisement


पोखरालाई पर्यटनको केन्द्र बनाएर आसपासका अरु सहर र गाउँलाई उपकेन्द्रका रुपमा विकास गर्नु जरुरी छ । आसपासका पालिका, स्थानहरु पोखराका लागि वृक्षका लागि जरा जत्तिकै महत्वपूर्ण छन् । जरा बिना वृक्षको कसरी कल्पना हुन्छ र ? हामी पोखरालाई फगत राजनीतिक विभाजनको ३३ वडा रहेको पोखरामा सीमित गर्ने पक्षमा छैनौँ । अहिले पोखरालाई पर्यटकीय राजधानी बनाउने अन्तिम तयारीमा रहँदासम्म यो प्रदेश, स्थानीय सरकार, संघ, संस्था र यो क्षेत्रका नागरिकको कार्यक्रम हो यो ।

पोखरा, पोखरा महानगरपालिकाको चार किल्लाभित्र मात्र सीमित छैन । पोखरासँगै वरिपरिका जिल्ला र पालिकालाई समेत बृहत पोखरामा समेटिन्छन् ।

Advertisement


देशकै कार्यकारी प्रमुख प्रधानमन्त्रीले घोषणा गरेपछि यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । पोखरामा अतिथिमा रुपमा पर्यटकीय राजधानी घोषणा गरेर फर्केपछि प्रधानमन्त्री र अहिलेको सरकारले यसलाई मान्यता दिँदै त्यसका लागि आवश्यक संरचना, प्रचारप्रसार र प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्नुहुनेछ भन्ने अपेक्षा पोखरेलीको छ । राजधानीबाट करिब दुई सय किमीमा रहेको सुन्दर सहर पोखरा पर्यटनको राजधानी बन्दा काठमाडौंसहित देशका कुनै स्थानलाई पनि घाटा हुँदैन ।


पोखराबाट ७८ किमी दक्षिण तर्फको भारतीय सीमा र ७२ किमी उत्तरतर्फ चीनको सिमाना पोखराका लागि सामरिक हिसाबले निकै महत्वपूर्ण छ । भौगोलिक अवस्थितिको दृष्टिले पोखरा नेपालको केन्द्र भागमा पर्दछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेकाले पोखरा मुलुकको जुनसुकै स्थानबाट पनि आवागमनका लागि सहज छ भने भविष्यमा अन्तर्राष्ट्रिय गन्तव्यहरुमा नियमित उडान सञ्चालनको प्रतीक्षामा छ । पोखरा समग्र गण्डकी प्रदेशसहित विशेष गरी पोखरासँग व्यापारिक दृष्टिकोणले हालैमात्र सञ्चालनमा आएको कोरोला नाकाले विशेष अर्थ राख्छ ।


पोखरा संसारकै सबैभन्दा उत्कृष्ट पर्यटकीय विशेषता भएको सहर हो । समुन्द्री सतहदेखि १ हजार मिटरभन्दा कम उचाइमा रहेर ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमाल अन्नपूर्ण प्रथम (८०९१ मिटर), मनासलु (८१६३ मिटर) र धौलागिरि (८१६७ मिटर) नजिकबाट अवलोकन गरी अदभूत आनन्द लिन सकिने विश्वकै एकमात्र ठाउँ हो, पोखरा । संसारका ८ हवा मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा पर्दछन् । तीमध्ये पाँच वटा मित्र राष्ट्र चीनसँगको सिमानामा पर्छन् । चित्ताकर्षक कुमारी हिमाल माछापुच्छ्रे, गंगापूर्ण, मर्दी लगायतका मनमोहक हिमशृङ्खलाको दृश्य पोखराबाट अवलोकन गर्न सकिन्छ ।


नीलगिरी र धौलागिरिको बिचमा पर्ने म्याग्दी जिल्लाको कालीगण्डकी गल्छी संसारको सबैभन्दा गहिरो गल्छी हो । गण्डकी प्रदेशमा पर्ने संसारको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङ जिल्लाको तिलिचो ताल, संसारकै उत्कृष्ट १० पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण पदमार्ग, पर्यटकीय रोजाइमा पर्ने पुनहिल, ऐतिहासिक गोरखा दरबार, प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथको यात्रा पोखराबाट सुरु हुने गर्दछ । १ सय ४० भन्दा बढी प्रजातिका सुनाखरीसहित बहुमूल्य जडीबुटी पाइने ऐतिहासिक पञ्चासे क्षेत्र, नेपालको पहिलो होम स्टेको रूपमा चर्चित सिरुबारी, घले गाउँ, घान्द्रुक, अन्नपूर्णको काखमा अवस्थित सिक्लेस, ताङतिङ, पछिल्लो समय पर्यटकीय दृष्टिकोणले चर्चामा रहेको खुमई डाँडा, करपु डाँडाको यात्रामा जाने अधिकांश पर्यटक पोखरा हुँदै आउने जाने गर्दछन् । संसारकै उत्कृष्ट प्याराग्लाइडिङ उडान गर्ने क्षेत्र सराङकोट पनि पोखरामै पर्दछ ।


रामसारमा सूचीकृत ९ वटा तालले सुशोभित पोखराका ऐतिहासिक विन्दवासिनी मन्दिर, भद्रकाली, तालबाराही, केदारेश्वर, भूमेश्वर महादेव, पुम्दीकोट, विश्व शान्ति स्तूप, माटेपानी गुम्बा लगायतका गन्तव्य पर्यटकहरूको रोजाइमा पर्दै आएका छन् । महेन्द्रगुफा, गुप्तेश्वर गुफा, चमेरेगुफा लगायत गुफैगुफा रहेको पोखरामा लुकामारी खेल्दै बग्ने सेती नदीले पनि आगन्तुकलाई अचम्मै पार्ने गरेको छ ।


पोखरा महानगर कला, संस्कृति, सभ्यतामा पनि धनी छ । यहाँ अहिले फरक फरक खालका चार वटा संग्रहालय छन् । साहसिक गतिविधिमा पनि पोखरा अगाडि नै छ । ¥याफ्टिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, हट एयर बेलुन, स्काइ डाइभिङ, बन्जी जम्प र जिप फ्लायरसमेतको मज्जा पर्यटकले यहाँ लिन सक्छन् । फेवाताल किनारबाट केबलकारमा सराङकोट पुग्ने र सूर्याेदयको मज्जा लिने अवसर पनि अहिले थपिएको छ ।


पोखरा सांस्कृतिक विविधता तथा सम्पदाले समृद्ध सहर हो । यहाँ ६० भन्दा बढी जात जातिका मौलिक संस्कृति, चालचलन र रीतिरिवाज देख्न पाइन्छ । २ सय ५० वर्ष पुरानो भैरव नाचदेखि नेवारी संस्कृतिमा प्रसिद्ध लाखे नाच, तायमचा, बाघजात्रा, गुरुङ समुदायको ट्होटे, घाटु, मगर समुदायको कौडा नृत्य, सोरठी, सालैजो, तामाङ सेलो, मेहेन्दीमाया, ब्राह्मण समुदायको बालन नृत्य, भजन चुड्का, पोखरेली पञ्चे बाजा, गन्धर्व समुदायको सारंगी पोखराका पृथक पहिचान बनेका छन् ।


पोखरा, पोखरा महानगरपालिकाको चार किल्लाभित्र मात्र सीमित छैन । पोखरासँगै वरिपरिका जिल्ला र पालिकालाई समेत बृहत पोखरामा समेटिन्छन् । यहाँका ऐतिहासिक संस्कृति, कला, भाषा, प्राकृतिक सम्पदाहरू अध्ययन अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक, अनुसन्धाता, विद्यार्थी आदिले गण्डकी प्रदेशका महत्वपूर्ण स्थललाई पोखरासँगै जोडेर हेर्ने र बुझ्ने गर्दछन् । यस कारण नेपालको पर्यटन र आर्थिक समृद्धिसँग बृहत्तर पोखराको अवधारणासँगै अगाडि बढाउन जरुरी छ । यसका लागि पोखरा महानगरपालिका छिमेकी पालिकाहरूसँग आवश्यक परामर्श, समन्वय र सहकार्यका लागि सधैँ तत्पर रहँदै आएको छ ।


अहिले पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्ने अन्तिम तयारी छ । यसले पोखरा लगायत गण्डकी प्रदेश र समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्नेछ । पोखराका पर्यटकीय गन्तव्य, ऐतिहासिक कला र संस्कृतिको संरक्षण तथा विकास, पर्यटन पूर्वाधार निर्माण, दिगो पर्यटन विकासको लक्ष्य प्राप्ति तथा आम पोखरेली एवं गण्डकी प्रदेशवासीको साझा चाहनाका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नु समीचीन ठहर्छ । राजधानी घोषणापछि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । त्यो दायित्व निर्वाह गर्न विभिन्न तहका सरकार, छिमेकी पालिकासहित आम पोखरेलीको साथको अपेक्षा छ ।

आचार्य पोखरा महानगरका प्रमुख हुन् ।

तपाईको प्रतिक्रिया