के हो एमाले कास्कीको विवाद ? किन रोकियो प्रतिनिधि छनोट प्रक्रिया ?

समाधान संवाददाता २०८० चैत २ गते १७:१६

पोखरा ।

यही चैतकाे १० र ११ गतेका लागि तय भएको नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन तोकिएकै मितिमा हुने नहुने अन्याैल भएको छ । चैत ३ गते शनिबारका लागि तोकिएको प्रतिनिधि चयन प्रक्रिया स्थगित गर्न केन्द्रीय संगठन विभागले निर्देशन दिएपछि अधिवेशनका बारेमा अन्याैलता सिर्जना भएको हो ।

संगठन विभागले जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट गर्ने विधिबारे जिल्ला कमिटीले गरेको निर्णय बुझाइमा बिल्कुलै एकरुपता नभएको भन्दै पुन जिल्ला कमिटीको बैठक बसेर एक रुपता कायम गरी प्रतिनिधि छनोट गर्न भनिएको छ ।

Advertisement

के हो विवाद ?

जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने विधिका विषयमा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र सचिव बैनबहादुर अधिकारी क्षेत्रीबीच मत बाझिएपछि विवाद भएकाे हो ।

Advertisement

एमाले कास्की कमिटीमा २ समूह छन् । अघिल्लो जिल्ला अधिवेशनमा पनि २ समुहबीच प्यानल बनाएरै चुनाव भएको हो । मतदाताले दुवै प्यानलका पदाधिकारी र सदस्यहरुलाई जिताए ।

अघिल्लोपालि जितेकामध्ये एउटा समूहको नेतृत्व अध्यक्ष मनबहादुर गुरुङले गर्छन् भने अर्को समूहको नेतृत्व सचिव बैनबहादुर अधिकारी क्षेत्रीले गर्छन् । तर पनि उनीहरुको कार्यकालको अन्तिम समयसम्म आइपुग्दासम्म २ समूहबीच विवाद भएका कुरा सार्वजनिक भएनन् ।

तर अधिवेशनको मिति तोकिएपछि प्रतिनिधि छनोटको चरणसम्म आइपुग्दा भने २ समूहबीच मतैक्य हुन सकेन् । अहिलेको विवादको चुरो अन्तिम बैठकको निर्णय बुझाइमा छ ।

अध्यक्षले गुरुङले प्रतिनिधि छनोटका लागि पठाएको सर्कुलर जिल्ला कमिटीको निर्णय विपरीत भएको भन्दै सचिव क्षेत्रीले आपत्ति जनाएका छन् भने अध्यक्षले जिल्ला कमिटीको निर्णय र केन्द्रीय समितिको सर्कुलर अनुसार प्रतिनिधि छनोटको मापदण्ड बनाएर सर्कुलर पठाएको दावी गरेका छन् ।

जिल्ला कमिटीको बैठकले प्रतिनिधि छनोट गर्दा ४० जना पार्टी सदस्यलाई आधार मान्ने भन्ने निर्णयमा दुवै समूह सहमत छन् । ४० जना पार्टी सदस्यलाई आधार मानेर ती सदस्यबाट २ जना खुला, १ जना महिला र १ जना उत्पीडित प्रतिनिधि चयन गर्ने भन्ने कुरामा दुवै समूह सहमत छन् ।

४० भन्दा बढी पार्टी सदस्य भएको हकमा प्रतिनिधि छनोट गर्ने विषयमा विवाद भएको हो । अध्यक्षले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा ४० भन्दा बढी सदस्य भएकाे हकमा प्रत्येक २१ जना पार्टी सदस्य बराबर थप एक जना प्रतिनिधि चयन गर्नु पर्नेछ भन्ने उल्लेख छ । हो यही कुरामा सचिव समूह असन्तुष्ट छ ।

सचिव बैनबहादुर अधिकारी क्षेत्री ४० लाई आधार मानेपछि थप ४० जना पार्टी सदस्यबाट १ जना प्रतिनिधि चयन गर्ने निर्णय जिल्ला कमिटीले निर्णय गरेको बताउँछन् । तर अध्यक्षले जिल्ला कमिटीले सर्वसम्मत रुपमा गरेको निर्णय विपरीत २१ जनाबाट थप १ प्रतिनिधि पठाउने गरी सर्कुलर गरेको सचिवको दावी गर्छन् ।

तर अध्यक्ष मनबहादुर गुरुङ बैठकले थप ४० सदस्यबाट १ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको मान्न तयार छैनन् । एमाले केन्द्रले जिल्ला अधिवेशनका सम्बन्धमा पठाएकाे निर्देशनभन्दा बाहिर जाने गरी जिल्ला कमिटीले निर्णय गर्न नसक्ने उनको भनाइ छ ।

महासचिवले पठाएको सर्कुलरमा आधार संख्या तय गरेपछि थप प्रतिनिधि त्यही आधार संख्याको ५० प्रतिशतभन्दा बढी भएपछि थप १ प्रतिनिध चयन गर्नुपर्नेछ भन्ने जिल्ला कमिटी बैठकमै पढेर सुनाएको भन्दै अध्यक्ष गुरुङ यसैका आधारमा थप २१ सदस्यबाट १ जना प्रतिनिधि पठाउन सर्कुलर पठाएको दाबी गर्छन् ।

पार्टी संगठन विभाग प्रमुखले पनि यसैलाई संकेत गर्दै जिल्ला कमिटीको निर्णय बुझाइमा एकरुपता नभएकाले पुन बैठक बसेर एउटै बुझाइ बनाउन निर्देशन दिएको छ । त्यसपछि मात्र प्रतिनिधि चयन गर्न भनेको छ ।

यही विषयलाई लिएर नेताहरु विभाजित भएका छन् । संगठन विभागसम्म उजुरी पुगेको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले गण्डकी प्रदेश कमिटीलाई पठाएको पत्रमा कास्की इन्चार्ज एवं स्थायी कमिटी सदस्यको नेतृत्वमा उजुरी परेको उल्लेख छ । उजुरी दिनेमा केन्द्रीय सदस्यहरु र जिल्लाका पदाधिकारीहरु समेत भनिएकाे छ ।

अघिल्लो जिल्ला अधिवेशनमा अध्यक्ष गुरुङ र उपाध्यक्ष तेजनारायण अधिकारी एउटा प्यानलबाट विजयी भएका थिए भने सचिव क्षेत्री सहित उपसचिवद्वय दर्शन लामा र नवराज ओझा अर्को प्यानलबाट विजयी भएका थिए । कास्कीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य पनि यसैगरी २ समूहमा विभाजित छन् ।

एमाले कास्कीकाे अधिवेशन विवादित, प्रतिनिधि छनोट स्थगित गर्न केन्द्रको निर्देशन

तपाईको प्रतिक्रिया