बालबालिका लक्षित सुरक्षा सन्दर्भ सामग्री हस्तान्तरण

सुन्दरकुमार थकाली २०८० चैत २ गते १६:५३

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङका पालिका तथा विद्यालयलाई बालबालिका लक्षित सुरक्षा सन्दर्भ सामाग्री पुस्तक हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङद्वारा जिल्ला प्रशासन कार्यालयको हातामा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ५ वटै स्थानीय तहका विद्यालय प्रतिनिधिहरूलाई सुरक्षा सन्दर्भ सामग्री पुस्तक हस्तान्तरण गरिएको हो ।


विद्यालय क्षेत्र तथा सार्वजनिक स्थानमा बालबालिकामा हुन सक्ने सुरक्षा चुनौती अन्तर्गत साइबर अपराध तथा अन्य हिंसा, सामाजिक अपराध, बालयौन दुराचार, बालहिंसा, विकृति विसंगति, सामाजिक हिंसाका साथै अन्य विपद् जोखिमबाट बालबालिका लक्षित विभिन्न सचेतना अभिवृद्धिमूलक सन्दर्भ सामग्री समेटिएको सुरक्षा सन्दर्भ सामग्री पुस्तक प्रहरी प्रधान कार्यालयले तयार गरेको हो । प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत ४४ जिल्लाहरुमा यसप्रकारको पुस्तक वितरण गरेको हो । पुस्तकमा २४ वटा विषयमा बालबालिकालाई सचेतना अभिवृद्धि गर्नका लागि तयार गरिएको जनाइएको छ ।


मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा जिसस, शिक्षा विकास तथा समन्वय इकाई, जिल्लाका ५ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू र पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

Advertisement

बालबालिका लक्षित विभिन्न सचेतना अभिवृद्धिमूलक सन्दर्भ सामग्री समेटिएको सुरक्षा सन्दर्भ सामग्री पुस्तक प्रहरी प्रधान कार्यालयले तयार गरेको हो


स्थानीय तहले आफैले सामुदायिक विद्यालयहरूको पाठ्यपुस्तक निर्माण गर्ने अधिकार संविधानले उपलब्ध गराइएकाले प्रहरी प्रधान कार्यालयले तयार गरेको बालबालिका लक्षित बढ्दो सुरक्षा संवेदनशीलता तथा अपराध न्यूनीकरण सम्बन्धी पुस्तिकालाई कुनै न कुनै रूपमा समेट्दै बालबालिकामा हुने सबै खाले हिंसा, अपराध, विकृति विसंगति न्यूनीकरण तथा सामाजिक न्यायको साक्षरता अभिवृद्धि गर्ने प्रहरी प्रधान कार्यालयको उद्देश्य छ । बालिकालाई लक्षित गरी निर्माण गरिएको पुस्तकले विद्यालय तहमा बालबालिकाहरूमा हुने जोखिम न्यूनीकरणमा उपलब्धिमूलक हुने विश्वास गरिएको छ ।

Advertisement


जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकाली, प्रजिअ जनकराज पन्त र प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले संयुक्त रूपमा जिल्लाका पालिका प्रतिनिधि र विद्यालय प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका जनप्रतिनिधि एवं शिक्षक प्रतिनिधिले आ—आफ्ना धारण राखेका थिए । उनीहरूले प्रहरी प्रधान कार्यालयले तयार पारेको पुस्तकलाई पाठ्यक्रममा रूपमा समेट्ने लिखित प्रतिबद्धता समेत जनाएका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा स्थानीय तह—प्रहरी—विद्यालय समझदारी पत्रमा जिल्लाका ५ वटै पालिकाका जनप्रतिनिधि एवं शिक्षक प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका हुन् ।


जिल्ला समन्वय समितिका उपप्रमुख आइतेलाल थकालीले प्रहरीद्वारा वितरण गरिएको पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामाग्रीको रूपमा पठन÷पाठन गर्नुपर्ने बताए । उपप्रमुख थकालीले समय सापेक्षिक समय अनुकूल मिलाएर विद्यालय तहमा प्रहरी शिक्षामूलक पुस्तकलाई शिक्षण सिकाइको रूपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।


प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीद्वारा तयार पारिएको पुस्तक बालबालिकाको भविष्यसँग जोडिएकाले यस्ता पुस्तकको सिकाइ अभ्यासले बालबालिकाहरू हुने सुरक्षा संवेदनशीलतालाई न्यूनीकरण गर्ने दाबी गरे ।


घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुस्तकले बालबालिकाको सुरक्षा चुनौतीका विषयमा महत्वपूर्ण सचेतना अभिवृद्धि गर्ने बताए । उनले प्रहरीले तयार पारेको पुस्तकमा समेटिएका विषयलाई पाठ्यपुस्तकमा समेट्ने प्रतिबद्धता जनाए ।
प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले बालबालिका लक्षित सुरक्षा संवेदनशीलतासँग जोडिएको महत्वपूर्ण विषयलाई विद्यालय तहमा अध्यापन गराइनुपर्ने बताए । उनले प्रहरीले यस सम्बन्धी पठन—पाठन तथा सिकाइ अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया