पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्न पहल गर्छुः प्रधानमन्त्री

समाधान संवाददाता २०८० चैत ५ गते १०:३९

पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बने पनि उडान भने आन्तरिकमात्रै भइरहेको छ । सञ्चालनमा आएको १ वर्षमा आधा दर्जन चार्टड उडान भए पनि नियमित उडान कहिले सुरु हुन्छ भन्ने यकीन छैन । अन्तर्राष्ट्रिय उडान नहुँदा ऋण तिर्न कठिनाइ भएका टिप्पणी भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै नियमित उडान गर्न पहल गर्ने दोहोर्‍याएका छन् ।


उनले पोखरा विमानस्थलको ऋण अनुदानमा बदल्ने प्रयत्न भइरहेको जानकारी गराएका छन् । दाहालले पोखरामा आइतबार बिहान भएको कार्यक्रममा प्रधानमन्त्री छिमेकी मुलुकहरुसँग नियमित उडानबारे कुरा भइरहेको सुनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भूमिका निर्वाह गरेकोसमेत उनले स्मरण गरे ।


‘२५ प्रतिशतमात्र होइन, सबै ऋण पनि अनुदानमा बदल्नेबारे मेरो ध्यान छ, धेरै कुरा म अहिले नै भन्दिनँ’ उनले भने । दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि त्यसलाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका रहने जनाए । आइतबार दिउँसो भएको कार्यक्रममा उनले पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा गरे । कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल पोखरा आउँदा आफूलाई फरक अनुभूति हुने बताउँछन् ।

Advertisement


कार्यक्रममा उनले पर्यटनको राजधानी बनेको पोखरालाई साच्चिकै राजधानी बनाउने दायित्व अब सबै तहका सरकारसहित स्थानीयको भएको जनाए । अतिक्रमणले ग्रसित फेवा किनारमा भएको समारोहमा उनले तालका समस्या चाँडै सुल्झाइने वाचा गरे ।


‘सर्वाेच्चको फैसला र जनताको भावना दुवैलाई सम्बोधन गरी फेवातालका समस्या सुल्झाइनेछ । अब पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्य बनाउन नेपालसहित विश्वभरी रहेका नेपालीले भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने । पर्यटनको राजधानी बनेको पोखरामा सडक र हवाई पहुँच विस्तार, लगानी वृद्धि, पूर्वाधार निर्माण गर्दै स्थानीयको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा उनको जोड छ ।

Advertisement


प्रधानमन्त्री दाहालले भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लैजाने गरी नीति निर्माण र कार्यान्वयन गर्न प्रदेश सरकार र प्रदेशका पालिकाहरुलाई अनुरोध गरे । संघ सरकारले समेत यसका लागि सघाउने उनले प्रतिबद्धता जनाए । उनी भन्छन्, ‘आवश्यक पूर्वाधार निर्माण, मानवीय विकास सँगसँगै पोखरामा पूर्वाधार विकासका लागि केन्द्र सरकारको पहलसँगै विकासका साझेदारहरुलाई लगानी गर्न समन्वय गरिनेछ ।’


दाहालले गण्डकी प्रदेशका रहेका अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) र मकालु संरक्षण क्षेत्र परियोजना(एमक्याप)को समस्या चाँडै समाधान गर्ने सुनाए । गण्डकी सरकारले एक्याप र एमक्यापको म्याद थप गर्ने निर्णय नसच्च्याए संघ सरकारविरुद्ध सर्वाेच्च जाने चेतावनी दिइसकेको छ ।


‘म एक्याप र एमक्यापबारे राम्रो जानकार छु, ऐन संशोधन गरी छिट्टै प्रक्रिया निष्कर्षमा पु¥याइनेछ,’ उनले आश्वासन दिए । प्रधानमन्त्री दाहालले मध्यपहाडी लोकमार्ग र पृथ्वीराजमार्गको स्तरोन्नतिको कामको नियमित अनुगमन गरिरहेको उनले सुनाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अब बन्ने दोस्रो पञ्च वर्षीय योजनामार्फत् यो निर्णयलाई कार्यान्वयन गर्दै जाने सुनाए । प्रदेशको राजाधानी पोखरा पर्यटनको राजधानी हुँदा सबै जिल्ला र पालिकाहरुले यसबाट लाभ लिन सक्नुपर्ने र त्यो अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।


गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले घोषणालाई कार्यान्वयन गर्न तयारीमा लाग्न आग्रह गरे । उनले घोषणा अनुरुप देश र विदेशमा प्रवद्र्धनसँगै थप पूर्वाधार निर्माण गर्दै समृद्धिमा लाग्न अनुरोध गरे । पोखरा महानगरका मेयर धनराज आचार्यले यसले पोखरेलीमा ऊर्जा सञ्चार भएको उल्लेख गरे ।


मेयर आचार्यले अब पोखरा विकासको कार्ययोजना अनुसार अघि बढ्ने जनाए । आइतबारबाटै पोखरा बजारका मुख्य क्षेत्र चौबिसै घन्टा खुला हुने भएका छन् । ४३ मापदण्ड तयार गरी ती मापदण्ड पालना गर्नेलाई रातभर सञ्चालन गर्न अनुमति दिइने भएको छ । पोखराको लेकसाइडका केही व्यवसायीले अदालतबाट आदेश लिएर राति अबेरसम्म व्यवसाय खुला गरे पनि अधिकांश बजार राति १० बजेपछि बन्द हुने गरेको छ ।

तपाईको प्रतिक्रिया