आँखा शिविरमा १८० जना लाभान्वित

समाधान संवाददाता २०८० चैत ५ गते ११:३५

पोखरा ।
वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न आँखा शिविरमा १८० जना लाभान्वित भएका छन् । मोदी गाउँपालिका वडा नम्बर १ कार्यालयको स्थानीय व्यवस्थापनमा मोदी गाउँपालिका वडा नम्बर १ मा रहेको भुकताङ्ले स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा चस्मा तथा औषधिसमेत निशुल्क वितरण गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि मोदी १ पर्वतका वडा अध्यक्ष टेकबहादुर गुरुङले वडाले हरेक वर्ष विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा वाइज मेन इन्टरनेसनल नेपाल डिस्ट्रिक्टका गभर्नर अरुण रानाभाटले वाई सर्भिस क्लब अन्तर्राष्ट्रिय स्तरको सामाजिक सेवा गर्दै आएको संस्था भएको सुनाए ।


प्राविधिक सहयोग उपलब्ध गराएको हिमालय आँखा अस्पतालका कर्मचारी शालिकराम भण्डारीले हिमालय आँखा अस्पतालले विकट गाउँमा बसोबास गर्ने नागरिक लक्षित कार्यक्रमहरुलाई सहयोग गर्दै आएको बताएका थिए । क्लबका अध्यक्ष पूनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा रिजनल सर्भिस डाइरेक्टर कृष्ण रानाभाटले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया