प्रकृति र पर्यटकले चिनाएको सहर

सुवास मल्ल २०८० चैत ६ गते १०:४९

नेपालको पर्यटनको सुरुवात पर्वतारोहण पर्यटनबाट भएको मानिन्छ । सन् ५० को दशकमा नेपालमा १ सय ४ वर्ष लामो जहाँनिया राणाशासनको अन्त्यपश्चात प्रजातन्त्र स्थापना भएपछि खुला परिवेशको सुरुवाती दशक थियो । यही दशकमा नेपालका शिखरहरुले उचाई नाप्ने अवसर प्राप्त गरे । नेपालमा विश्वका अग्ला चुचुराहरुमध्ये आधाभन्दा बढी रहेको थाहा भएपछि विश्वभरका पर्वतारोही नेपालमा आए ।


८ हजार मिटरभन्दा अग्लो हिमाल संसारमा सबैभन्दा पहिले आरोहणको सूची कास्कीको अन्नपूर्णबाट सुरु हुन्छ । ८ हजार ९१ मिटर अग्लो यो हिमाल फ्रान्सका मौरिस हर्जाेगले आरोहण गरेपश्चात नेपालमा अन्य ८ हजार मिटरभन्दा अग्ला शिखरहरुमा पनि पर्वतारोहीको आँखा पुगेको हो । नेपालको पर्यटनका लागि यो कोशेढुंगा कास्कीले नै बनाएको थियो ।


अन्नपूर्णबाहेक ८ हजार मिटरभन्दा अग्ला धौलागिरी र मनास्लु आरोहण गर्ने पर्वतारोहीहरु समेत जहाजमा पोखरासम्म आएर त्यसतर्फ लाग्ने भएकाले नेपाली पर्वतारोहणका लागि सन् ५० र ६० को दशकमा पोखरा एउटा केन्द्र जस्तै बनेको थियो ।
सन् ६० को अन्त्यमा सुनौलीदेखि पोखरा र सन् ७० को मध्यमा काठमाडौं पोखरा राजमार्ग निर्माण भइसक्दा नेपालमा हिप्पीहरुको बाक्लो आगमन हुन थालिसकेको थियो । त्यस बेला स्विस भूगोलविद टोनी ह्यागन र अन्य पर्वतारोहीले खिचेका तस्विर र लेखेका पुस्तकले पोखरालाई नेपाली पर्यटनको हटकेकका रुपमा हिप्पीहरुको रोजाइमा पर्न थालेको थियो । काठमाडौं आएका हिप्पीमध्ये अधिकांश पोखरा र यस आसपास भ्रमण गर्ने गर्थे । पोखरामा व्यावसायिक पर्यटन यही कालमा सुरुवात भएको हो ।

Advertisement

पर्यटकीय राजधानीको पनि राजधानी लेकसाइडलाई घोषणा गरेर त्यसभन्दा परका पर्यटन क्षेत्रलाई दोस्रो दर्जामा हेर्ने संकीर्णतामा लेकसाइड बाँचेको छ


हिप्पीहरुको सोख अनुरुप पोखरा प्राकृतिक सुन्दरता, संगीत र स्वतन्त्रताको सहरका रुपमा विकास हुँदै गयो । टिसर्ट लगाएर हिमाल यति नजिकबाट हेर्न मिल्ने विश्वका अरु कुनै सहर विरलै थिए । मनमोहक हिमाल, प्राकृतिक पहाड, सुन्दर ताल, असंख्य चरा र मिजासिला मानिसको सहरका रुपमा उनीहरुले पोखराको वर्णन गरे ।

Advertisement


हुन त उनीहरुको संगतले पोखराको एक पुस्ता युवामा पनि त्यही पाराको स्वच्छन्दता देखियो । जसको फलस्वरुप यहाँ लागुपदार्थ दुव्र्यसनी र अपराधसमेत बढेर गयो । तर त्यस बेला पनि पोखरा नेपाली पर्यटनको केन्द्र नै थियो । सन् ८० को दशकमा पोखरा विश्वभर चर्चाको विषय बनिसकेको थियो । वेल्सका राजकुमार चाल्र्सको पोखरा भ्रमणपछि यो चर्चा झनै चुलिएको थियो । विभिन्न देशका अति विशिष्ट व्यक्तित्व नेपाल भ्रमणमा आउँदा पोखरासमेत आउने चलन भइसकेको थियो ।


सन् ९० को दशकमा नेपालमा पञ्चायत ढलेसँगै राजनीतिक स्वतन्त्रताले अर्थतन्त्रमा समेत उदारिकरणको बाटो खोलिदियो । पोखरा देशका अधिकांश व्यापारिक प्रतिष्ठानको रोजाईको सहर बन्न पुग्यो । पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रले राम्रो लगानी गरेसँगै देशका सेलिब्रेटी, उद्यागपति, राजनीति आदिको बिदा मनाउने सहरका रुपमा विकल्पका रुपमा विकास भएको पाइन्छ । विद्यालय र कलेजका भ्रमणहरु, उद्योग र व्यवसायिक निकायका बैठक वा तालिमहरु आदिका लागि समेत पोखरा रोजाइमा पर्न गयो ।


यही दशकको अन्त्यमा नेपाल भ्रमण वर्ष १९९८ मा समेत पोखराको विशेष योगदान देखियो । पर्यटक पोखराको सुन्दरताबाट मुग्ध भएको प्रमाण आज पनि नेपाल भ्रमणमा आएका ४० प्रतिशत पर्यटकले पोखरा भ्रमण गरेबाट समेत थाहा पाउन सकिन्छ । पोखराको वरपर पदयात्राका नयाँ नयाँ मार्ग खुल्दै गए । घरवास कार्यक्रम स्याङ्जाबाट सुरु भएर यो क्षेत्रको पर्यटनका लागि आधारस्तम्भका रुपमा देखिँदै गयो । तर त्यसपछिको दशकमा देशले सामना गर्नु परेको गृहयुद्धका कारण यो क्षेत्रको पर्यटन पनि डामाडोल भयो ।


दोस्रो जनआन्दोलनपछि देशभर स्थानीयताको लहर उर्लेर आयो । लोकतन्त्रको आधारशिलाका रुपमा देश कोल्टे फेर्न थालेसँगै देशको पर्यटन क्षेत्र पनि गाउँ गाउँसम्म पुग्यो । अब जसरी काठमाडौंको प्रशासनिक र राजनीतिक शक्ति गाउँ गाउँसम्म पुग्यो, त्यसरी नै पोखराको पर्यटकीय केन्द्र पनि विकेन्द्रीत हुन थाल्यो ।


संविधान निर्माण भएपछि भूकम्पले थिलोथिलो बनाएका बेला देशमाथि थोपरिएको नाकाबन्दीसँग जुध्न नेपालमा ‘पहिले देश, अनि परदेश’ को अभियान जनस्तरमा देखा पर्न थाल्यो । देशका स्थानीय सरकारहरुले पनि पर्यटकीय पूर्वाधार विकासमा राम्रो लगानी गर्न थालिसकेका थिए । युवामा आएको प्रतिरोधी अभियानले विस्तारै नेपाली पर्यटनमा धेरै नयाँ गन्तव्य विकास हुन थाले । काठमाडौं, पोखरा, चितवन, लुम्बिनीको गोल्डन ट्रयांगल अब भत्किन थालेको थियो । देशको पूर्वतर्फ र पश्चिमतर्फका गन्तव्यहरुले पर्यटकहरुलाई मोहित पारिहेका थिए ।


यस्तो अवस्थामा पोखराको सुस्त विकासले गर्दा कतै पोखरा पर्यटकीय सहर रहन्छ कि रहन्न भन्ने प्रश्न उठ्न थालिसकेको थियो । पोखराले पर्यटकीय राजधानीको सर्वस्वीकार्यता गुमाउँदै गएको थियो । पोखरा जोड्ने राजमार्गहरु अब साँघुरा महसुस भइरहेका थिए । पोखराले कला, संस्कृति, खेलकुद, मनोरञ्जन जस्ता विविध क्षेत्रमा आफूलाई थप विकास गर्न सकिरहेको थिएन ।


पर्यटन क्षेत्रका लागि अत्यन्त आवश्यक सुरक्षा, सरसफाइ, मानव संसाधन, यातायात आदि क्षेत्रमा समेत प्रगति सुस्त थियो । पोखरामा आज पनि पर्यटकले गुणस्तरीय सेवा प्राप्त नगरेकाले असन्तुष्ट बन्ने गरेको सहप्राध्यापक डा बलराम भट्टराईको निश्कर्ष छ । अर्काेतर्फ पोखरालाई पोखरेलीले ब्रान्डिङ गर्न नसक्नु दुःखद पक्ष भएको अर्का सहप्राध्यापक डा उमेश सिंह यादवको तर्क छ ।


पोखरालाई यस्तो बेलामा पर्यटनको राजधानी घोषणा गरिँदै छ, जति बेला पोखरा राजधानी हुने सर्वस्वीकार्यता गुमाउँदै छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएको छ तर अन्तर्राष्ट्रिय व्यावसायिक उडान र त्यसका लागि पूर्वाधार पोखरामा छैनन् । राजमार्गहरुको स्तरोन्नतिको कार्य निकै ढिलो भएको छ । पोखराका तालहरु तलहरु विस्तारै धमिलिँदै र अतिक्रमणको चपेटामा परिरहेका छन् ।


पर्यटकीय राजधानीको पनि राजधानी लेकसाइडलाई घोषणा गरेर त्यसभन्दा परका पर्यटन क्षेत्रलाई दोस्रो दर्जामा हेर्ने संकीर्णतामा लेकसाइड बाँचेको छ । पर्यटनका संघ, संस्थामा समन्वयको अभाव छ । पोखरा दिनानुदिन अल्छी सहरका रुपमा सम्साँझै सुत्ने र अबेरमात्र ब्यूतिने प्रवृत्ति छ । यहाँका युवा दिनदिनै पलायन भइरहेका छन् र पर्यटन क्षेत्रमा योग्य जनशक्तिको अभाव हुँदै गएको छ । पोखराको पहिचान झल्काउने वस्तु उपहारमा रुपमा आफ्नो देश लगौं भन्दा पर्यटकले केही भेट्दैनन् ।


यसरी हेर्दा पोखरा एक दशकभन्दा अगाडि साँच्चीकै पर्यटनको राजधानी थियो तर आजको प्रतिस्पर्धी समयमा पोखरासामु उभिएका चुनौतिका सगरमाथाका अघिल्तिर पोखराको माछापुच्छ्रे देखाएर पर्यटनको राजधानी घोषणा मात्रले खास माने राख्ने देखिँदैन । एक दशक अगाडिकै पोखरा फर्काउनका लागि जनस्तरबाटै काम गर्नु जरुरी छ । एकजुट भएर विज्ञहरुको सुझावका आधारमा पोखरालाई पुनः वास्तविक पर्यटकीय राजधानी बनाउन भने केही वर्षमा नै पक्कै सकिन्छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिको प्रतिवेदन प्रस्थान विन्दु बन्न सक्छ । त्यसैलाई गन्तव्य मान्न सकिँदैन ।

तपाईको प्रतिक्रिया