लेकसिटी कलेजले संकलन गर्‍यो ५३ युनिट रगत

समाधान संवाददाता २०८० चैत ८ गते १५:३९

पोखरा ।
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर, पोखरामा सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ । सामाजिक कार्य दिवस पारेर महेन्द्रपुलमा चैत ६ गते मंगलर कार्यक्रम आयोजना भएको थियो ।


लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले इजरायलमा भएको हमास आक्रमणमा परेर ज्यान गुमाएका विद्यार्थीलाई सम्झेर ‘म पहिलो रक्तदाता बन्छु’ भन्दै पहिलो रक्तदाता बनेर कार्यक्रम सुरुआत भएको थियो ।
क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले सामाजिक कार्यको व्यावहारिकस्वरुप उक्त कार्यक्रम गरिएकोमा खुसी व्यक्त गरे । सामाजिक कार्यकी प्राध्यापक रोशिना कुँवरले दिवसको नारासँगै रक्तदानको महत्वबारे बोलेकी थिइन् ।


विद्यार्थीले सर्वसाधारण पैदलयात्रुलाई समेत रक्तदानको महत्वबारे बुझाउँदै रक्तदानका निम्ति आग्रह गरेका थिए । प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र, पोखराले गरेको थियो । वरिष्ठ प्राविधिक महेन्द्र केसीद्वारा सामान्य स्वास्थ्यजाँच गरी स्वस्थ भएको पुष्टि भएपछि मात्र रक्तदातालाई रक्तदानको अनुमति दिइएको थियो ।

Advertisement


उक्त कलेजका विद्यार्थीले बेलाबेलामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसपालिको रक्तदानमा स्थानीय व्यक्तिहरूको पनि धेरै सहयोग मिलेको विद्यार्थीले बताए । यसपालि सामाजिक कार्य दिवसको मूलनारा ‘रूपान्तरणकारी परिवर्तनका लागि साझा भविष्य’ थियो ।

Advertisement

तपाईको प्रतिक्रिया