एमाले कास्की अधिवेशन सुरु

समाधान संवाददाता २०८० चैत ११ गते १०:२८

पोखरा ।
नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु भयो । अधिवेशनको उद्घाटन समारोह नयाँबजार स्थित पोखरा प्रर्दशनी केन्द्रमा भएको छ भने बन्दसत्र आइतबार बिहानदेखि पोखरा सभागृहमा छ ।


कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले एमाले घेराबन्दी र चक्रव्यूहलाई तोडेर बाहिर आउन सफल भएको बताए । उनले एमालले मुलुकको समृद्धिका लागि नयाँ समीकरण बनाएको दाबी गरे । ‘अघिल्लो गठबन्धनले सुशासन र सेवा प्रवाहको पक्षमा सुधार नसकेको कारण एमालेले भत्काउने उपयुक्त समय ठान्यो,’ महासचिव पोखरेलले भने, ‘एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीलाई तोड्नु थियो । चक्रव्यूहलाई बाहिर आएका छौं ।’


पोखरेलले नयाँ सहकार्यको यात्रा बामपन्थी दलको समीकरण नभएको प्रष्ट पारे । महासचिव पोखरेलले एमाले समाजवादी मोर्चा बनाएर जाने पक्षमा नभएको खुलाए । महासचिव पोखरेलले आन्तरिक चुनावलाई विरोधीसँग लडेजस्तो नबनाउन सुझाव दिए । ‘अधिवेशनमा सहमति नभएको खण्डमा लम्ब्याइरहने होइन,’ उनले भने, ‘अधिवेशनलाई लम्बाएर कार्यकर्तालाई सकस दिने होइन, विधि र प्रक्रिया अनुसार गर्ने हो ।’

Advertisement


महासचिव पोखरेलले मञ्चमा बस्ने नेताले नेतृत्व छान्ने नभएर दर्शक दीर्घामा रहेका कार्यकर्ताले छान्नुपर्ने सुनाए । एमाले सचिव गोकर्ण बिष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, कास्की इन्चार्ज थपमाया थापा, एमालेका नेता सोमनाथ अधिकारी प्यासी, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्की अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षत्री लगायतले कार्यक्रममा बोलेका थिए ।

दुई पक्षीय प्रतिस्पर्धाको तयारी
एमाले कास्की अधिवेशनको शनिबार उद्घाटन शत्रमा देखिएको दृश्यले नै नयाँ नेतृत्व चयन रोचक हुने प्रमाणित गरेको छ । उद्घाटन शत्रमै नेताहरु फरक फरक टोली बनाएर प्रतिनिधिहरुसँग भेट माग्दै थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि सकेसम्म सर्वसम्मतको प्रयास हुने जिल्ला अध्यक्ष मनबहादुर गुरुङ बताउँछन् ।

Advertisement


गण्डकीको राजनीति हुँदै जिल्लाको राजनीतिलाई प्रतिष्ठाको विषय बनाएको खगराज अधिकारी समूह र पृथ्वीसुब्बा गुरुङनिकट समूहबिच नै यहाँ प्रतिस्पर्धा हुने देखिन्छ । तर, दुवै समूह गुट रहेको स्वीकार्न तयार छैनन् ।


अहिले कास्कीमा पृथ्वीसुब्बा निकट समूहमा मुख्यगरी जगत विश्वकर्मा र नेताहरु भीम कार्की, दीपक पौडेल र मीनाकुमारी गुरुङ छन् । अधिकारी पक्षमा केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि बैनबहादुर क्षेत्री, दर्शन लामा र नवराज ओझा छन् । क्षेत्री यो समूहका अध्यक्षका दाबेदार हुन् ।


दुवै पक्षका दोस्रो तहका नेताहरु सर्वसम्मत गर्ने पक्षमा छन् । तर, केही नेता चुनाव नै गर्नुपर्ने मुडमा देखिन्छन् । जगतले अगुवाइ गरेको समूह भने सकेसम्म चुनाव नगर्ने पक्षमा देखिन्छ । हालसम्म अध्यक्षमै धेरै आकांक्षी देखिएकाले सर्वसम्मत गर्नुपर्ने पक्षमा यो समूहमा छ । बन्दशत्र सुरु नभएसम्म उम्मेदवार सार्वजनिक नगर्न र सर्वसम्मतको प्रयास गर्ने यो समूहको रणनीति छ ।


अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । शनिबार बेलुकासम्म बैनबहादुरको समूहबाट सचिवमा वर्तमान उपसचिव दर्शन लामालाई अघि सार्ने तयारी छ ।


जगतले अगुवाइ गरेको समूहबाट अध्यक्षमा दीपक पौडेल, माधव बास्तोला र तेजनारायण अधिकारी आकांक्षी छन् । सुरेन्द्र गुरुङ, शिव आचार्य, कर्ण गुरुङ, राधिका शाही योगी लगायतले पदाधिकारीमा आकांक्षा राखेका छन् ।

तपाईको प्रतिक्रिया