मुक्तिनाथको खातामा ८ करोड

सुन्दरकुमार थकाली २०८० चैत ११ गते १०:३१

जोमसोम ।
हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथमा त्यहाँ पुगेका धार्मिक तीर्थालुहरु भेटी स्वरुप स्वेछिक चन्दा दान गर्छन् । त्यसरी दान स्वरुप प्राप्त रकम मुक्तिनाथ विकास समितिको खातामा जम्मा हुँदै आएको छ । समितिको खातामा अहिलेसम्म ८ करोड ३६ लाख जम्मा भएको छ ।


मुक्तिनाथ विकास समितिको ५ वटा बैंक खातामा ८ करोड ३६ लाख आर्थिक मौज्दात जम्मा भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार मुक्तिनाथमा भेटी स्वरुप उठेको चन्दा नेपाल बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला बैंक र प्रभु बैंकमा मौज्दात छ ।


मुक्तिनाथ विकास समितिको भेटी मौज्दात चालु वर्ष प्रभु बैंकमा मात्र जम्मा हुने गरेको छ । अन्य बैंकमा रहेको समितिको आर्थिक मौज्दात बचत खातामा रहेको उनले बताए । सदस्य सचिव शर्माले मुक्तिनाथ विकास समितिको कोषको रकम ४ वटा बैंकमा जम्मा नभएको र प्रभु बैंकमा मात्र जम्मा हुने गरेको उल्लेख गरे ।

Advertisement


प्रभु बैंकमा बचत खातामा रहेको समिति कोषको २ करोड ९२ लाख रकम ५ दशमलव ५ प्रतिशत बैंकमार्फत प्राप्त गर्ने गरी समितिको नाममा मुद्दति खातामा जम्मा भएको र बाँकी १५ हजार रकम समितिको बचत खातामा रहेको सदस्य सचिव शर्माको भनाइ छ । मुक्तिनाथ विकास समितिले चालु आर्थिक वर्ष फागुन ३० गतेको निर्णय अनुसार मुक्तिनाथ विकास समितिको नाममा प्रभु बैंकमा रहेको मौज्दातलाई मुद्दति खातामा राखिएको सदस्य सचिव शर्माले उल्लेख गरे ।


मुक्तिनाथको भेटी कोषको रकम प्रभु बैंकमा मुद्दति र बचत गरी ३ करोड ७ लाख मौज्दात छ । समिति कोष अन्तर्गत गता आर्थिक वर्ष २०७९/०८० सम्ममा कृषि विकास बैंकमा १ करोड ७९ लाख ६१ हजार, माछापुच्छ्रे बैंकमा १७ हजार ५९१, सांग्रिला बैंकमा ३ करोड ५२ लाख १६ हजार र नेपाल बैंकमा ११ लाख ८४ हजार बचत खातमा मौज्दात रहेको सदस्य सचिव शर्माको भनाइ छ ।

Advertisement

संकलित दान कर्मचारीको तलबभत्ताबाहेक भौतिक विकासमा खर्च हुन सकेको छैन


मुक्तिनाथ विकास समिति अन्तर्गत मुक्तिनाथ मन्दिरमा एकजना पुजारी, एकजना रसिद काट्ने कर्मचारी र ३ जना सरसफाइकर्मी गरी ५ जना कर्मचारी छन् । त्यहाँ कार्यरत पुजारीसहित ५ जनाको कर्मचारीको तलब भत्तामा मुक्तिनाथ विकास समितिले मासिक ६४ हजारको अनुपातमा बर्सेनि ७ लाख ६८ हजार खर्च गर्ने गरेको छ । समितिले हालसम्म जम्मा गरेको भेटी रकम कर्मचारीको खर्च कटाएर बाँकी सबै रकम समितिको खातामा जम्मा गर्ने गरिएको छ ।


मुक्तिनाथ विकास समिति गठन भई कार्यसञ्चालन गरेको १६ वर्ष बितिसक्दा समेत मुक्तिनाथमा भक्तजनले चढाएको स्वेच्छिक भेटी कर्मचारीको तलबभत्ता बाहेक त्यहाँ भौतिक विकास खर्च हुन नसकेको हो । मुक्तिनाथमा त्यहाँ कार्यरत समितिका कर्मचारीले १ सय रुपैया भन्दा बढीको चन्दा रसिद काटेर जम्मा गर्ने गरिएको छ ।

मन्दिर परिसरमा समितिको नाममा भक्तजनले चढाउने ५ वटा चन्दा बाकस छन् । एक वर्षअघि मुक्तिनाथमा भक्तजनको सहजताका लागि डिजिटल चन्दा भुक्तानी गर्ने सुविधा उपलब्ध गराइएको छ । मन्दिरमा प्रभु बैंकको क्युआरकोर्ड राखेर भक्तजनले सिधै समितिको खातामा पैसा दिन पाउने व्यवस्था गरिएको हो । चालु वर्ष मुक्तिनाथको सबै माध्यमबाट उठेको भेटी रकम प्रभु बैंकमा मात्र जम्मा भइरहेको सदस्य सचिव शर्माले बताए ।


धार्मिक स्थल मुक्तिनाथक्षेत्रको बृहत्तर विकासका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पुरातत्व विभागबाट मुक्तिनाथ गुरुयोजना समेत कार्यान्वयनमा छ । यद्यपि गुरुयोजना अन्तर्गत आशिंक पूर्वाधार बाहेक त्यहाँको बृहत्तर विकासमा खासै उपलब्धीमूलक प्रगति हासिल हुन सकेको छैन । गुरुयोजना कार्यान्वयनमा आएको पनि करिव ५ वर्ष बढी भइसकेको छ ।


मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रजिअ र सदस्य सचिव मालपोत कार्यालयका प्रमुख हुने विधानमा व्यवस्था छ । समितिका धेरैजसो पदाधिकारी तथा सदस्यहरु बर्तमान शासकीय संरचना अनुसार कायम नरहेकाले समितिको बैठक बस्न गणपुरक संख्या पुग्न समेत मुश्किल परेको हो । यसैका कारण मुक्तिनाथ विकास समिति खासै चलायमान हुन नसकी निष्क्रिय जस्तै भएको सरोकारवालाहरुको बुझाइ छ ।

भक्तजनले धार्मिक पुण्यका लागि मुक्तिनाथलाई चढाइएको चन्दा त्यहाँ दर्शन गर्न जाने भक्तजनको सहजताका लागि खर्च गरिनुपर्ने भएपनि समितिले त्यहाँको विकासमा कुनै लगानी गर्न सकेको छैन । मुक्तिनाथ क्षेत्रमा जाने धार्मिक भक्तजनहरुलाई त्यहाँ पुग्दा स्वच्छ, सफा र वातावरणमैत्री सुविधा हुने पर्ने र भक्तजनलाई सुविधा र सहज हुँने गरी शौचालय, बाथरुम र कपडा चेन्जिङ रुम हुनु पर्ने भएपनि बेलाबेला त्यहाँ पुग्ने भक्तजनले त्यहाँको व्यवस्थापनप्रति प्रश्न उठाउने गरेका छन् ।


यसै आर्थिक वर्षको साउन १८ गते जिल्ला प्रशासनको हातामा संघ तथा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासन, जिसस, र मुक्तिनाथ विकास समितिका पदाधिकारी सम्मिलित बहुसरोकारवालाहरुको बैठक बस्यो । उक्त बैठकलाई मुक्तिनाथ विकास समितिको बैठको समेत मान्यता दिइयो । त्यसबेला बैठकले मुक्तिनाथको कोषको रकम केही चलायमान गरी मुक्तिनाथमा आवश्यक पूर्वाधार निर्माणमा खर्च गर्न सकिने निर्णय गरिएको थियो ।

तत्कालीन सिडिओ अनुप केसीको अध्यक्षतामा बसेको बहुसरोकारवाला बैठकले समितिको कोषको रकम मन्दिर क्षेत्रको विकास, व्यवस्थापन र संरक्षणमा खर्च गर्ने गरी पूर्वाधार निर्माण सहजीकरण समिति गठन गर्‍यो । सो ५ सदस्यीय सहजीकरण समितिमा सिडियोको अध्यक्षतमा मालपोत कार्यालय, मुक्तिनाथ मन्दिरका प्रमुख लामा,मन्दिरका पुजारी र सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने गरी तोकियो ।

समितिले मुक्तिनाथ गुरुयोजनाको मापदण्डमा रहेर मन्दिर परिसरमा रहेको योजनालाई पूरा गर्ने, कुण्ड व्यवस्थापन गर्ने, अधुरो रहेको भवन संरक्षण गर्ने, मन्दिर परिसरमा छाना र कुर्सीसहितको विश्रामस्थल निर्माण गर्ने, परिसरमा छप्पनी ढुङ्गा बिच्छ्याउने लगायत निर्णय गरेको थियो । यसका लागि पूर्वाधार विकास कार्यालयलाई खरिद नियमावली अनुसार लागत स्टमेट तयार गर्न जिम्मेवारी दिने निर्णय गरिएको थियो ।


त्यसबेला समितको बैठक मान्यताद दिइँदै मुक्तिनाथको नाममा रहेको जग्गाहरुको यकिन गरी संरक्षण गर्ने, पर्खाल र तारबार लगाउने, सिसी टिभी जडान गर्ने, व्यवस्थित सेफ्टी ट्याङकी निर्माण गर्ने, घोडा हिँड्ने बाटोको मर्मत सुधार गर्ने आगो ताप्न हिटिङ रुम निर्माण गर्ने र मन्दिर परिसरको सौन्दयीकरण गर्ने लगायत निर्णय गरिएको थियो ।


समितिको उक्त बैठक बसेको ८ महिना बितिसक्दा समेत मुक्तिनाथ विकास समितिले त्यहाँको विकासमा खर्च गर्न चासो दिएको छैन । मुक्तिनाथमा नेपाली र भारतीय धार्मिक भक्तजनसहित विभिन्न देशका नागरिकले चन्दा दिन्छन् । त्यहाँ चढाइएका कतिपय देशका मुद्रासमेत सटही हुन नसक्दा प्रहरी कार्यालयमा थन्क्याएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया