सुनिए अल्पज्ञानी र सञ्जीव

समाधान संवाददाता २०८० चैत ११ गते ११:१३

पोखरा ।
दौँतरी कार्यक्रमको तेस्रो शृंखलामा शनिबार कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीले आफ्ना दौँतरी अनुभव र कविता सुनाए । दुई दौँतरीलाई मञ्चमा सहजीकरण गरेका थिए कवि अमृत क्षेत्रीले ।


दौँतरी यात्राको सुरुआत, विकास, उतारचढाव र त्यसका विविध आयामलाई समेटेर अमृतले जिज्ञासा राखेका थिए भने कविद्वयले थोरै औपचारिक, थोरै अनौपचारिक ढंगले जीवनका अनुभव र अनुभूति साटे । ५० को दशकदेखि पोखरेली परिवेशमा साहित्य सिर्जनामा निरन्तर क्रियाशील यी २ कविले कविता सुन्न र सुनाउनकै लागि विभिन्न मञ्च चाहारेका प्रसंग सुनाए । भोकभोकै कविताका कार्यक्रममा हिँड्दाका दुःख पनि सम्झे ।


प्राध्यापन पेसामा आबद्ध दुवै कविले घर सम्झे, आमाबा सम्झे, आफन्त सम्झे, विद्यार्थी सम्झे, समाज हुँदै राजनीतिसम्म सम्झे । कलेज पढ्दाका दिन सम्झे, प्रेम सम्झे र सम्झे आफूजस्तै अरू दौँतरीहरू पनि । कर्मका सिलसिलामा अहिले काठमाडौँ पुगेका अल्पज्ञानीले पोखराबाट अलग हुँदाखेरिका अनुभूति सम्झन छुटाएनन् भने साथी छोडेपछि दुःख हुन्छ भन्दै सञ्जीवले छेड हाने ।

Advertisement


दौँतरी कविले गफगाफका बिचबिचमा एक दर्जनभन्दा बढी कविता सुनाए । कार्यक्रममै कवि सञ्जीव पौडेलको नवीनतम कवितासङ्ग्रह जून ओर्लेको रात सार्वजनिक गरियो । प्राज्ञ सरूभक्त, नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला र सञ्जीवका बुवा लक्ष्मण पौडेलले संयुक्त रूपमा कृति लोकार्पण गरे ।


कवि अल्पज्ञानीको प्रकाशोन्मुख कवितासंग्रह उज्यालो पर्खिरहेको मानिस पनि सोही कार्यक्रममा विमोचन गर्ने तयारी रहेकामा प्रविधिक कारणले असमर्थ भएको आयोजक नेपाली लेखक संघ गण्कडी अध्यक्ष ईश्वरमणि अधिकारीले सुनाए । कार्यक्रममा साहित्यकार सरूभक्त, माया पब्लिकेसनका निर्देशक विनयभूषण दत्त लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया