एमाले कास्कीको ११ औं अधिवेशन: प्रतिवेदन अध्ययन गर्न १० समूह

समाधान संवाददाता २०८० चैत १२ गते ११:०१

पोखरा ।
नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशमा आइतबार ४ प्रतिवेदन पेश भएका छन् । जिल्ला अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।


बन्दशत्रमा सचिव बैनबहादुर क्षेत्रीले संगठनिक प्रतिवेदन पेश गरे । आइतबार २ बजे सुरु भएको बन्द शत्रमा वित्तीय तथा कोष व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेल आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, केन्द्रीय लेखा आयोगका सदस्य केशबहादुर केसीले सुझाव प्रतिवेदन पेश गरेका हुन् । आइतबार पेश गरिएका प्रतिवेदनमाथि सोमबार छलफल हुनेछ ।


सबै जिल्ला प्रतिनिनिधिलाई सोमबार ती प्रतिवेदन अध्ययन गरेर आउन भनिएको छ । आइतबार नै चार प्रतिवेदन अध्ययन गर्न १० समूह बनेका छन् । यी समूहले प्रतिवेदनमाथि टोली नेतामार्फत सुझाव, प्रश्न र सल्लाह राख्न सक्छन् । ती जिज्ञाशाको उत्तर अध्यक्ष गुरुङ र सचिव क्षेत्रीले दिने छन् ।

Advertisement


जिल्ला अध्यक्ष गुरुङका अनुसार प्रतिवेदन छलफल भएर पास भएपछि निर्वाचन मण्डलले निर्वाचन क्षेत्र निधारण गर्ने छ । १ सय २० सदस्यीय कमिटीलाई कुन क्लस्टरमा कति राख्ने निर्वाचन समितिले तय गर्ने छ । निर्वाचन समितिले विभिन्न कलस्टरमा पालिका, इलाका कमिटी, महिला, उत्पीडित समुदाय, खुला, विशेष संरक्षीत क्षेत्रबाट १ सय २० सदस्य छुट्याउनेछ ।


सोेमबार साँझ नै नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने तयारी सुरु हुने उपसचिव दर्शन लामाले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि सकेसम्म सर्वसम्मतको प्रयास हुने बताइन्छ । गण्डकीको राजनीति हुँदै जिल्लाको राजनीतिलाई प्रतिष्ठाको विषय बनाएको खगराज अधिकारी समूह र पृथ्वीसुब्बा गुरुङनिकट समूहबिच नै यहाँ प्रतिस्पर्धा हुने देखिन्छ । तर, दुवै समूह गुट रहेको स्वीकार्न तयार छैनन् ।

Advertisement


अहिले कास्कीमा पृथ्वीसुब्बा निकट समूहमा मुख्यगरी जगत विश्वकर्मा र नेताहरु भीम कार्की, दीपक पौडेल र मीनाकुमारी गुरुङ छन् । अधिकारी पक्षमा केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि बैनबहादुर क्षेत्री, दर्शन लामा र नवराज ओझा, मञ्जुदेवी गुरुङ राजीव पहारी छन् । क्षेत्री यो समूहका अध्यक्षका दाबेदार हुन् ।


दुवै पक्षका दोस्रो तहका नेताहरु सर्वसम्मत गर्ने पक्षमा छन् । तर, केही नेता चुनाव नै गर्नुपर्ने मुडमा देखिन्छन् । जगतले अगुवाइ गरेको समूह भने सकेसम्म चुनाव नगर्ने पक्षमा देखिन्छ । हालसम्म अध्यक्षमै धेरै आकांक्षी देखिएकाले सर्वसम्मत गर्नुपर्ने पक्षमा यो समूह छ । बन्दशत्र सुरु नभएसम्म उम्मेदवार सार्वजनिक नगर्ने र सर्वसम्मतको प्रयास गर्ने यो समूहको रणनीति छ ।


अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । आइतबार बेलुकासम्म बैनबहादुरको समूहबाट सचिवमा वर्तमान उपसचिव दर्शन लामालाई अघि सार्ने तयारी छ । जगतले अगुवाइ गरेको समूहबाट अध्यक्षमा माधव बास्तोला उम्मेदवार हुने लगभग तय छ । यद्यपि अध्यक्षमा दीपक पौडेल र तेजनारायण अधिकारी पनि आकांक्षी छन् । यो टिमबाट सुरेन्द्र गुरुङ, शिव आचार्य, कर्ण गुरुङ, श्रीराम पोखरेल, राधिका शाही योगी, हिरा गिरी लगायतले पदाधिकारीमा आकांक्षा राखेका छन् ।

तपाईको प्रतिक्रिया