१८८ कैदीबन्दीको आँखा जाँच

समाधान संवाददाता २०८० चैत १४ गते ११:२३

पोखरा ।
नेपाल नेत्रज्योति संघले ४६ औं स्थापना दिवसको अवसरमा मंगलबार आँखा जाँच शिविर चलाएको छ । संघले सञ्चालन गर्दै आएको हिमालय आँखा अस्पतालको आयोजनाका चिकित्सक र स्वास्थ्यकर्मीले जिल्ला कारागार कास्कीमा निशुल्क आँखा शिविर चलायो । शिविरमा १ सय ८८ जना कैदीबन्दी लाभान्वित भए ।


४६ औं नेत्रज्योति दिवसको अवसरमा भएको शिविरमा १ सय ५८ जना पुरुष र ३० जना महिलाको आँखा जाँच गरिएको संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरले जानकारी दिए । शिविरमा ८ जनालाई दृष्टिदोष र ३ जनालाई मोतियाविन्दु देखिएको थियो । उनीहरुलाई निशुल्क औषधी र चस्मा वितरण गरिएको छ ।


मोतियाविन्दु देखा परेका ३ जनालाई निशुल्क शल्यक्रियाका लागि अस्पताल मै बोलाइएको अध्यक्ष थापामगरले बताए । ‘कसैको पहुँच नभएका कारण स्वास्थ्य बन्चित नहोस्’ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनको भनाइ थियो ।

Advertisement


अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठको नेतृत्वमा कारागारमा शिविर गरिएको हो । अस्पतालले वार्षिक रुपमा कारागारमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरले धेरै कैदीबन्दी र थुनुवाहरु लाभान्वित भएको उनले बताइन् ।


शिविर हुनु अघि वातावरण सरसफाई उपसमितिका संयोजक देवी सुवेदीको नेतृत्वमा पोखरा १७ घारीपाटनस्थित अस्पताल परिसरमा सरसफाई गरिएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ गण्डकी प्रदेश प्राडा दिलबहादुर क्षेत्रीले वातावरणलाई स्वच्छ र सफा राख्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया