काफलडाँडाबाट सिकौं

गोपाल श्रेष्ठ २०८० चैत १४ गते १२:२२

म्याग्दीको सदरमुकाम बेनीबजार त बेलाबेलामा पुगेकै थिएँ । कहिले मुस्ताङ जाँदा बेनीलाई ‘गेट वे’ बनाइयो त कहिले टोड्के जाँदा । त्यसो त, बेनीबजार नै घुम्न भनेर गएको रेकर्ड पनि छ । म्याग्दीमा धेरै छन् घुम्ने ठाउँहरू । पुनहिल, केभहिल, तातोपानी कुण्ड, टोड्के, झाँक्रीपानी, मोहरेडाँडा, धौलागिरि वेस क्याम्प आदि । करबाकेलीका विषयमा भने झन्डै वर्ष दिनअघि मात्र सुनेको हुँ । त्यो पनि आफ्नै कर्मथलोमा ।


एक दिन दिउँसो पत्रकार मित्र अमृत भादगाउँले र करबाकेलीका सामाजिक अभियन्ता चामबहादुर पुन काठमाडौंको सोह्रखुट्टेस्थित हाम्रो पसलमा आउनु भएको थियो । त्यही दिन चामबहादुर दाइसँग चिनजान भयो । र, करबाकेली क्षेत्रको बारेमा सङ्क्षिप्त रुपमा बुझ्ने मौका मिल्यो ।


त्यतिबेला चामबहादुर दाइ जीवनकथा लेखिरहनु भएको थियो । पछि काठमाडौंमै उहाँको किताब ‘लाहुरेको सङ्घर्ष’ विमोचन भयो । बिमोचन कार्यक्रममा पुग्दा बल्ल उहाँको योगदानका विषयमा छर्लङ्ग हुने मौका मिल्यो ।

Advertisement


उहाँको किताब प्रेरणादायी छ । आफ्ना पितापूर्खाको सम्मान गर्दै उहाँले पुन समुदायको पहिचानका लागि उदाहरणीय काम गर्नु भएको छ । अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीमा उहाँकै नेतृत्वमा बनाइएका करबाकेली थान, पुन समुदाय सङ्ग्रहालय, सामुदायिक पाहुना घर, ‘करबाकेली इको ट्रेक’ तिनै सत्कर्मका उदाहरण हुन् । उहाँले पुनका विषयमा अध्ययनमुलक पुस्तक लेख्नुका साथै फिल्म पनि बनाउनु भएको छ ।


सुनेको र पढेकोभन्दा आफैं पुगेर हेर्न पाउँदा झन धेरै कुरा बुझिँदो रहेछ । पुस्तक विमोचनकै दिन ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गर्ने घोषणा भएकोे थियो । काव्ययात्रीको हुलमा हामी दुई साइकले रञ्जन राजभण्डारी र मैले पनि सहभागिता जनायौं ।

Advertisement


कात्तिक १९ गते काठमाडौंबाट हाम्रो यात्रा सुरु भयो । त्यसको भोलिपल्ट अर्थात् कात्तिक २० गते दिनभर हिँडेर काफलडाँडा पुग्यौं । राती पुगेकाले बिहान मात्र त्यहाँको प्राकृतिक, धार्मिक र सामाजिक सम्पदा अवलोकन गर्न पायौं ।

‘करबाकेली इको ट्रेक’मा बालकदेखि वृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठूलो कुरा गाउँलेहरू मनकारी रहेछन्


कात्तिक २१ गते बिहानै हामीले पाहुनाघरको झ्यालबाटै धौलागिरि हिमालको दृश्यावलोकन ग¥यौं । त्यसपछि करबाकेली थान पुगेर त्यहाँ भित्रका करबाकेली बाबा र उनको परिवारका प्रतिमा अवलोकन गर्‍यौं । करबाकेलीलाई आस्थाको फूल चढायौं ।
करबाकेली बाबा रहेछन् यस क्षेत्रका पुन समुदायका कुल देवता । त्यसैले चामबहादुर दाइको नेतृत्वमा तिनै कुल देवताको सम्मानमा भव्य थान (मन्दिर) बनाइएको रहेछ ।


झट्ट हेर्दा गाउँले घर जस्तो देखिन्छ करबाकेली थान । ढुङ्गा, माटो र काठबाट बनाइएको थान मौलिक छ । करबाकेली दर्शनपछि हामीले सङ्ग्रहालय हेर्‍यौं । सङ्ग्रहालय भवनले पनि गाउँले घरकै झल्को दिन्छ । निकै मिहिनेत गरेर त्यहाँ सामान सजाइएको छ । पुन समुदाय र करबाकेलीको अध्ययन गर्नेहरूका लागि सङ्ग्रहालय उपयुक्त छ ।


बेनीबजारबाट काफलडाँडासम्मै सडक जोडिएको छ । हामी भने दिनभर हिँडेर राती मात्र त्यहाँ पुगेका थियौं । यिनै चामबहादुर दाइको नेतृत्वमा पुनहिलबाट काफलडाँडा भएर बेनीबजारसम्म हिँड्ने गोरेटोलाई ‘करबाकेली इको ट्रेक’ नाम दिइएको रहेछ ।
यस पदमार्गमा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी छन् ।


गाउँलेले हामीलाई महभिरमा पनि भव्य स्वागत गरे । काफलडाँडामा पनि त्यसैगरि स्वागत सत्कार गरे । त्यति मात्र होइन, आफ्नो परम्परागत नाच पुख्र्यौली पनि देखाए । उनीहरूसँगै हामी पनि नाच्यौं । हामीले पदयात्राको दोस्रो दिन करबाकेली थानबाट फूलबारीसम्म पदयात्रा गर्‍याैं । फूलबारीको गुराँसे जङ्गल देख्दा चैतबैशाखमा पो पदयात्रा गर्नु पर्ने रहेछ भन्ने लाग्यो !
हामीले तेस्रो दिन फूलबारीबाट पुनहिल, घोडेपानीबजार हुँदै उल्लेरीसम्म पदयात्रा गर्‍यौं । उल्लेरीबाट जिपमा पोखरा पुगेर बास बस्यौं । काव्ययात्राको पाँचौ दिन हामी काठमाडौं नै फर्कियौं ।


यात्रामा नयाँ साथीहरू पनि बनाउन पाइयो । कुमारी लामा, प्रभा बराल, प्रगति राई, अनुपम रोशीजस्ता चर्चित लेखकलाई यही यात्राले चिनायो । हेमन्त विवश, अभय श्रेष्ठ, सागर उदास, तारानाथ पहारीहरूसँग त खप्तड यात्रादेखि नै चिनजान थियो । त्यसैगरी राजकुमार गजुरेल, घनश्याम पौडेल, दिनेशनारायण श्रेष्ठ, सुरेन्द्र राना, भवानी शिलाकार पनि पुरानै साथी हुन् ।
काफलडाँडाले मलाई धेरै कुरा सिकाएको छ । मनमा चामबहादुर दाइप्रति अझै सम्मान भाव बढाएको छ । नेपाली समाजमा लाहुरेहरू रिटायर्ड लाइफमा आरामदायी जिन्दगी बाँच्छन् भन्ने भास्य स्थापित छ । चामबहादुर दाइको योगदानलाई नजिकबाट नियाल्दा फरक अनुभूति पाएँ ।


बेलायती सेनाबाट रिटायर्ड भएको मान्छे, त्यो पनि बुढ्यौलीमा परिवारलाई उतै छाडेर जन्मथलोको सेवामा खटिनु भएको छ । लाग्छ उहाँको शब्दकोषमा ‘रिटायर्ड’ भन्ने शब्द नै छैन । नेपाली समाजमा एउटा भनाई प्रचलित छ, ‘पितृ देवोः भव’ । करबाकेली थानमा पुगेका बेला मैले यो भनाई सम्झिएँ । चामबहादुर दाइहरूले पितापुर्खालाई सम्झेर काम गर्नुभयो । त्यसैले उहाँको शिरमा करबाकेली बाबाको आशीर्बाद छ ।


चामबहादुर दाइकै सोच, नेतृत्व र गाउँलेको मिहिनेतका कारण काफलडाँडा पर्यटन गन्तव्य बन्न पुग्यो । हामीले उहाँबाट प्रेरणा लिनुपर्छ । काव्ययात्राबाट फर्केपछि बारम्बार मनमा प्रश्नहरूका छाल उठिरहेका छन्, ‘हामीले आफ्ना पितापूर्खाको सम्मानमा कति काम गर्‍यौं ? जन्मथलोको विकासमा कति योगदान पुर्‍यायौं ? समाजको विकासमा निस्वार्थ भएर केके गर्‍यौं ?

तपाईको प्रतिक्रिया