हाँडीकोटमा पर्यटन महोत्सव

राष्ट्रिय समाचार समिति (रासस) २०८० चैत १४ गते १६:०९

बलेवा ।
विस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला, महोत्सव गरेरै आन्तरिक पर्यटक पुर्‍याउन थालिएको हो ।


हाँडीकोटमा यस वर्षको फागु पूर्णिमामा पनि पाचौँ हाडीकोट महोत्सव भयो । कुनै ठूलो सहरको मेला महोत्सवको झल्को दिने गरी यस वर्षको महोत्सवमा आन्तरिक पर्यटक हाँडीकोट टापु पुगेका छन् । हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।


हाँडीकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष धर्मराज थापाले जानकारी दिए । यस पटक चैतको ८ देखि १२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडीकोटमा महोत्सव आयोजना गरिएको थापा बताउँछन् ।

Advertisement


महोत्सवमा आयोजना गरिएका भलिबल खेलमा सहभागी हुने खेलाडी, सांस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आएका दर्शकले हाँडीकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कलासंस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकार पनि प्रदर्शनी गरिएको थियो । यसले हाँडीकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।


यस वर्ष संस्थाले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीको छायांकन समेतको व्यवस्था मिलाएको थियो । महोत्सवमा इन्द्रेणी समूहलाई प्रस्तुतिका लागि बोलाएर त्यही कार्यक्रम छायांकन हुँदा टेलिभिजनमार्फत हाँडीकोटको प्रचारप्रसार देश–विदेशसम्म गर्ने प्रयास गरिएको थापाले जनाए ।

Advertisement

सडकले जोडिएपछि हाँडीकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । हाँडीकोटको पर्यटन विकास र यसलाई अझै आकर्षण बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ । हालसम्म दृश्यावलोकन स्तम्भ निर्माण, प्रतीक्षालय निर्माण, मन्दिर निर्माणका लागि २२ लाख खर्च गरिसकेको छ । खानेपानी व्यवस्थापनका लागि ९ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले सुनाए ।


हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ  । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । ब्याडथला र डाँडाखानीबाट २ हजार २ सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् ।


हाँडीकोटको नजिकका डाँडाखानी र ब्याडथलामा सामुदायिक घरबास सञ्चालनमा छन्  । घरबासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरबासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुकबजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडीकोट महोत्सव गरिँदै आएको छ । सदरमुकाम बागलुङ बजारदेखि ३ घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ ।


यहाँ खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान–बेलुकाको सिरेठो अनि पुरातात्विक संरचना रहेका छन् । निर्माणाधीन अवस्थामा रहेको दृश्यावलोकन स्तम्भ, शिव मन्दिर सत्तल र प्रकृतिको उहार प्रयोगविहीन जस्तै छन् ।


सहरको कोलाहल र प्रदूषण छाडेर हाँडीकोट पुग्दा मन आनन्द हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमशृङ्खलाको मनमोहक दृश्यले हाँडीकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछ । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराएजस्तो अनुभूति हुन्छ ।


यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भानसमेत हुने गरेको त्यहाँ पुग्ने पर्यटकको अनुभूति छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडीकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भुत लाग्दछन् । जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हाँडीकोट हो ।

समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडीकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने गर्छ । हाँडीकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ, त्यति पर्यटक भित्र्याउन नसकेको स्थानीय बताउँछन् । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित पहाड खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्ने गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया