पोखरा–ढाका उडान गर्ने तयारीमा अस्त्र

समाधान संवाददाता २०८० चैत १५ गते ११:१४

पोखरा ।
बंगलादेशी वायुसेवा कम्पनी एयर अस्त्रले ढाका–पोखरा दुईतर्फी उडान गर्न छुट सुविधा मागेको छ । तीन वर्षअघि सञ्चालनमा आएको अस्त्रले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि छुट मागेको हो ।


कम्पनीले भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्क लगायतमा छुट दिन आग्रह गरेको छ । कम्पनीले अर्थ र पर्यटन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन मन्त्रालयमा छुटको मागसहित आवेदन दिएको छ ।


उडानका क्रममा नेपाली रुपैयाँ र बंगलादेशी टाँकाको सटहीमा सहजीकरण गरिदिन कम्पनीले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । कम्पनीको मागबारे अध्ययन गरिरहेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

Advertisement


‘कम्पनीले विभिन्न विषयमा छुट मागेको छ । यसका लागि अन्तर मन्त्रालय समन्वय गर्नुपर्ने भएकाले हामी छलफलमा छौं,’ सहसचिव लामिछानेले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने प्रस्ताव हाम्रा लागि राम्रो अवसर पनि हो । हामी छिट्टै अध्ययन गरेर कम्पनीलाई प्रतिक्रिया दिने छौं ।’


यो वायुसेवाले जेनरल सेल्स एजेन्ट्स ‘जीएसए’को जिम्मेवारी सोसाइटी इन्टरनेसनल ट्राभललाई दिएको छ । कम्पनी सुरुमा सातामा ४ व्यावसायिक उडान गर्ने तयारीमा छ । अस्त्र एयरवेज अन्तर्गतको एयर अस्त्र सन् २०२१ बाट सञ्चालनमा आएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया