सरकारी जागिर त्यागेर राजनीतिमा छिरेका बैनबहादुर

समाधान संवाददाता २०८० चैत १५ गते ११:१३

पोखरा ।
एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बन्न सफल भए बैनबहादुर क्षेत्री । १० वर्षकै उमेरमा अनेरास्वयुबाट राजनीति थालेका क्षेत्री निजामती कर्मचारी हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । तर, पछि उनी निजामती कर्मचारीबाट राजीनामा दिँदै एमालेको पूर्णकालीन राजनीतिमा होमिए । र, २०५४ सालमा भएको कालिका गाविसको उपाध्यक्ष निर्वाचित भए ।

२५ वर्षकै उमेरमा तत्कालीन गाविसको दोस्रो नेतृत्वमा पुगेका क्षेत्रीले त्यसअघि ०५३ मा लोक सेवा आयोगले लिने परीक्षाको प्रशासनमा पाँचौं तहमा नाम निकालेका थिए । उनले त्यहाँबाट राजीनामा दिएपछि पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।
०७४ साल भएको पहिलो आम निर्वाचनबाट क्षेत्री जिल्ला समन्वय समिति कास्कीको प्रमुख बन्न सफल भए ।

जिल्ला समन्वय समितिको सदस्य हुँदै एमाले राजनीतिमा २०७८ मा भएको एमाले १० औैं जिल्ला अधिवेशनबाट सचिव भएका उनी ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बन्न क्षेत्री सफल भए । लामो समय राजनीतिक योगदान र क्रियाशीलताकै कारण नै आफू यो ठाउँमा पुगेको क्षेत्री बताउँछन् ।

Advertisement

विजयी भएपछि उनले फेसबुक स्टाटसमा भनेका छन्, ‘यो नितान्त पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो । कुनै नारा जुलुस नगरौं ल, सामान्यतातर्फ ध्यान दिऊँ । सम्पूर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद ।’


२०२९ सालमा कास्कीको साविक कालिका ३, पिपलडालीमा जन्मेहुर्केका उनी स्वर्गीय धनबहादुर अधिकारी र धनुमाया अधिकारीका छोरा हुन् ।

Advertisement


०३९ सालको १० वर्षकै उमेरमा अनेरास्ववियुको सदस्यता लिएका क्षेत्री २०४३ सालमा जनज्योति माविमा तत्कालीन अनेरास्ववियु एकताको पाँचौंको प्रारम्भिक कमिटीका अध्यक्ष भएका थिए । ०४४ सालमा अनेरास्ववियु कास्की जिल्ला सदस्य, २०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता, ०५२ सालमा नेकपा (एमाले) कालिका गाउँ कमिटी सचिवालय सदस्य थिए, साथै २०५४ सालमा नेकपा (एमाले) कालिका गाउँ कमिटी सचिव बने ।


स्वयंसेवी युवा दस्ता पिपुल्स भोलिन्टियर्सको कास्की जिल्ला कमिटीको उपसचिव, नेकपा मालेको युवा डस्टर युथ लिगको सदस्य, जिल्ला समन्वय समिति महासंघ केन्द्रीय कार्य सम्पादन सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष भई उनले काम गरिसकेका छन् । नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, जनज्योति माविको व्यवस्थापन समिति सदस्य, सुर्केमैदान युवा क्लबको संस्थापक अध्यक्ष, अमरसिंह मावि पोखरा १२ को विद्यालय व्यवस्थापन समिति अध्यक्ष भई उनले काम गरिसकेका छन् ।


०६१ सालदेखि ९ औं जिल्ला अधिवेशनसम्म आइपुग्दा क्षेत्री कास्की जिल्ला कमिटी सदस्य हुँदै कार्यालय सचिव बने । ०७८ सालमा दशौं जिल्ला अधिवेशनबाट उनी कास्की जिल्ला सचिवमा निर्वाचित हुँदै जिल्ला अध्यक्ष बन्न सफल भएका हुन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

अध्यक्षमा निर्वाचित हुँदा क्षेत्रीले ५५१ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याए । यस्तै प्यानलबाहेक अध्यक्षमा उम्मेदवारी दिएका विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।


क्षेत्रीको प्यानल नै विजयी भएको छ । पदाधिकारी र बहुमत सदस्यमा क्षेत्री समूहको बर्चस्व रहेको हो । अर्को प्यानल माधव समूहले भने केही सदस्यबाहेक सबैमा हार व्यहोरेको छ ।


क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल निर्वाचित भएका छन् । उनले ५ सय २७ मत ल्याएर निकटम् प्रतिस्पर्धी शिवप्रसाद आचार्यलाई पराजित गरे । आचार्यले ३ सय ८८ मतमात्र प्राप्त गरेका हुन् ।


सचिवमा दर्शन लामा विजयी भएका छन् । लामा पदाधिकारीमा पपुलर मत ल्याएर विजयी भएका हुन् । लामाले ५ सय ९५ मत ल्याए भने उनका निकट्म प्रतिस्पर्धी माधव प्यानलका सुरेन्द्र गुरुङले ३ सय २० मत प्राप्त गरे । उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित भएका छन् । परियारले ५ सय ८१ मत ल्याए । उनका निकटम् प्रतिस्पर्धी गीतादेवी विश्वकर्माले ३ सय ३४ मत प्राप्त गरिन् ।


उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदीले ५ सय १० मत प्राप्त गरेकी हुन् । उनले निकटम् प्रतिस्पर्धी राधिका शाही योगीलाई पराजित गरेकी हुन् । शाहीले ३ सय ४४ मत मात्र पाएकी हुन् भने दुई प्यानल बाहके स्वतन्त्र उम्मेदवार दिएकी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् । एमाले कास्कीको अधिवेशनले १ सय २० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

तपाईको प्रतिक्रिया