शनिबारसम्म आकाश उघ्रिन्न

समाधान संवाददाता २०८० चैत १६ गते १०:५५

पोखरा ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । सोही कारण नै गण्डकी प्रदेशसहित देशका थुप्रै भागमा पानी परेको छ ।


गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । महाशाखाले गण्डकीमा अझै तीन दिन अर्थात शनिबारसम्म चट्याङ्सहित हल्का वर्षा हुने जनाएको छ । त्यतिन्जेलसम्म आकाश उघ्रने सम्भावना नरहेको विभागले जनाएको छ ।


गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । ‘आगामी दुई,तीन दिनसम्म देशैभर नै मौसम सफा हुने देखिन्न,’ मौसमविद् शान्ति कँडेलले भनेकी छन् । हिउँद याममा हुने बर्खाको कारण भनेको मेडिटेरियन सागरबाट उत्पन्न हुने वाष्प हो ।

Advertisement

तर गण्डकीमा अलि ठूलो पानीचाहिँ स्थानीय वायुको चापले पनि परेको मौसम विभागको भनाइ छ । साथै बंगालको खाडीबाट मस्चर्ड आइरहेको र अरब सागरबाट पनि थोरै मस्चर्ड आउनुको साथै स्थानीय रूपमा नै वायुहरू बनेको मौसमविद् बताउँछन् । मौसमविद् कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँको बन्दिपुरमा ५७.८ मिलिमिटर वर्षा मापन भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया