घान्द्रुकमा २७ गतेबाट महोत्सव

समाधान संवाददाता २०८० चैत १६ गते ११:२२

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।


घान्दु्रक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो प्रतियोगिता र म्युजिकल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।


क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

Advertisement

महोत्सवमा हुने घोडा दौडका विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले २७ हजार ७ सय ७७ पाउने


पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडी (सेमिफाइनलबाट म्यान अफ द म्याच)लाई पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडी (सेमिफाइनलबाट म्यान अफ द म्याच)लाई पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement


पुरुष भलिबलतर्फ सहभागिताका लागि दर्ता शुल्क ५ हजार र महिलातर्फ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । महोत्सव संयोजक अमृत लामा गुरुङले खुला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । टिम दर्ताका लागि ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्ने छ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबल समेत हुनेछ । महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए ।


महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्ने छ । महोत्सवको अन्तिम दिन लोक तथा दोहोरी गायक राजु परियारको प्रस्तुति रहनेछ । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको बताउँदै उनले सो महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा लैजान सघाउ पुग्ने विश्वास व्यक्त गरे ।


पर्यटकलाई ३० प्रतिशत छुट
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा चैत २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने अध्यक्ष विक्रम गुरुङले बताए ।


प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खाना र बस्नका लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० व्यवस्थित होटल र १७ होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया