सम्पादकीयः एसईईको परीक्षा र गुणस्तरीय शिक्षाको अपेक्षा

समाधान संवाददाता २०८० चैत १६ गते ११:५५

राष्ट्रिय परीक्षा बोर्डले २०८०को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गरेको छ । २ हजार ६४ परीक्षा केन्द्रमा हुने परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सामेल भएका छन् । वि.सं. १९९०देखि नेपालमा पहिलो पटक प्रवेशिका परीक्षा अर्थात एसएलसी सुरु भएको हो । २००७सालदेखि एसएलसीको परिक्षाको नतिजा नेपाल राजपत्रमा पनि छापिन थालेको उत्र्तिण हुनेको लागि गौरवको विषय बन्थ्यो ।


वि.सं. २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्धतीलाई हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो । एसईई प्रणालीलाई शिक्षामा नयाँ आयामका रुपमा प्रस्तुत भएको मान्ने गरिन्छ ।


एसएलसीलाई एसईई गरिँदा र माध्यामिक विद्यालको अन्तिम परीक्षाका रुपमा कक्षा १२ लाई स्विकार गरिसक्दा पनि एसईई परिक्षा लिने प्रणाली भने उहिलेको एसएलसी जस्तै नै छ । वास्तविकतामा भन्ने हो भने यो केवल सामान्य ८, ९ को परिक्षा झै १० कक्षाको परिक्षा मात्रै हुनुपर्ने हो । साथै विद्यार्थीमा विशेष परीक्षाको रुपमा लिइदा र महत्व भने ८, ९ को सामान्य परिक्षा जस्तै हुँदा मानसिक रुपले भने विद्यार्थीहरु भने फलामे ढोका नै सम्झन तथा मान्न बाध्य छन् ।

Advertisement


हुन त नेपाल मात्रै होइन दक्षिण एशियाकै शिक्षा प्रणाली पुरातन शैलीको तथा घोकन्ते हुनु पर्ने बाध्यताको छ । प्रश्नपत्र बनाउने र जाँचकीहरु उहि ढाँचाको उत्तरलाई मात्रै बढि नम्बर दिने र भिन्न किसिमले उत्तर लेखेमा नम्बर नदिने गर्दछन् । जसले गर्दा अल्प ज्ञान भएका तर घोकन्तेहरुले बढि ग्रेड पाइरहेका हुन्छन् भने राम्रो ज्ञान भएका तर हुबहु उत्तर नलेख्नेहरुले ग्रेड कम पाएका हुन्छन् । जसले गर्दा नतिजामा बढी ग्रेड पाउने भन्दा कम ग्रेड पाउनेहरुले जीवनमा सफलता पाएका हुन्छन् ।


परीक्षा र नतिजाप्रति जति हाम्रो उत्साह, जिज्ञासा र अपेक्षा रहन्छ, त्यति नै मात्रामा गुणस्तरीय शिक्षाको महत्व र यसले प्रत्येक विद्यार्थीको जीवनमा ल्याउने रूपान्तरणको कला अर्थात् विज्ञान जान्ने हो भने एसईई ठूलो हाउगुजी बन्ने छैन । जसरी हुन्छ, फलामे ढोका एसईई उत्तीर्ण हुनु छ र गराउनु छ भन्ने मानसिकताबाट माथि उठेर विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंले गुणस्तरीय शिक्षाको बहुआयामिक अवधारणालाई बुझ्न सक्ने हो भने मात्र विद्यार्थीको जीवनमा सकारात्मक परिणाम देखिन्छ ।

Advertisement


विगतमा जसले एसईई उत्तीर्ण गरे, ती विद्यार्थी र तिनका अभिभावकले अहिले गुणस्तरीय शिक्षाको कमी महसुस गरिरहेका छन् । किनकि, त्यतिबेला परीक्षा उत्तीर्ण हुनुसँग सम्बन्ध थियो भने अहिले समग्र शिक्षाको आवश्यकता महसुस हुँदै गएको छ । गुणस्तरीय शिक्षा अधिक ज्ञानको अधिग्रहण मात्र होइन, समालोचनात्मक सोच कौशल, भावनात्मक बुद्धि, सामाजिक जागरूकता र व्यवहारिक क्षमताहरूको विकास पनि समावेश हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया