अटिजम बालबालिकालाई समावेशी शिक्षा

समाधान संवाददाता २०८० चैत १८ गते ११:३०

पोखरा ।
पोखरामा शनिबार अटिजम बालबालिकालाई समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
अटिजम केयर सोसाइटी गण्डकीको आयोजना र सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा भएको कार्यक्रममा अटिजमसँग सम्बन्धित सरोकारवाल संस्थाहरुको सहभागिता रहेको थियो । अन्तरक्रियाका वक्ताहरुले अटिजम कुनै कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या भएकाले उनीहरुका लागि समावेशी शिक्षा हुनुपर्नेमा जोड दिएका थिए ।


अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुने भएकाले सबैभन्दा पहिले परिवार नै सजग हुनुपर्नेमा उनीहरुको जोड थियो । त्यसपछि संघसंस्था, विद्यालयहुँदै सरकारले पनि यसमा ध्यान दिनुपर्ने उनीहरुको माग थियो ।


कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले हरेक अपांगता भएकाहरुका लागि गण्डकी प्रदेशले जति गर्नुपर्ने हो त्यति गर्न नसकेपनि सुरुवात गरेको बताए । अटिजम भएका हरुलाई समावेशी शिक्षाका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।

Advertisement


प्रदेश नीति तथा योजना आयोगकी सदस्य अन्चला चौधरीले अपांगताको क्षेत्रमा नीति रहेपनि बजेट कम रहेको सुनाइन् । पोखरा महानगगरपालिका, सामाजिक विकास महाशाखाकी बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले सरकार र संघसंस्था मिलेर समावेशी शिक्षाका लागि हातेमालो गर्नुपर्ने बताइन् ।


कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी संयोजक शिव खकुरेलले नेपाल सरकारको प्राथमिकतामा शिक्षा नभएको बताए । आम मानिसले शिक्षाको राम्रोसँग उपयोग गर्न नसकिरहेको अवस्थामा अपांगता भएकाहरुका लागि समावेशी शिक्षा कल्पनाभन्दा बाहिरको विषय रहेको उनको भनाइ थियो । यसका लागि आवाज बुलन्द बनाउँनै पर्ने उनले बताए ।

Advertisement


अटिजम केयर सोसाइटी गण्डकीका अध्यक्ष मुकुन्द लम्सालले उक्त कार्यक्रममा अटिजम बालबालिकाको समावेशी शिक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार नेपालमा करिब २५ हजारमा अटिजम छ ।


अटिजम केयर सोसाइटी गण्डकीमा गण्डकी प्रदेशका सबै जिल्लाबाट पहिचान भएको तथ्यांक अनुसार २०७६ देखि हालसम्म १ हजार ५० अटिजम छन् । २०८० सालमा २ सय ४५ जना अटिजम भएको संस्थासँग तथ्यांक रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया