मानव बेचविखनकाे स्वरुप फेरियो

समाधान संवाददाता २०८० चैत १९ गते १०:३१

पोखरा ।
सरोकारवालाले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरामा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचबिखनको स्वरुप फेरिए पनि अवस्था उस्तै रहेको औंल्याएका हुन् ।


कार्यक्रममा शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले मानव बेचबिखनको स्वरुप र तरिका फेरिए पनि अवस्था उस्तै रहेको बताइन् । उनले होटल, स्पा, रेस्टुरेन्टलाई व्यवस्थित तरिकाले लैजान नसक्दा समाजमा मानव बेचबिखन विस्तार हुँदै गएको उल्लेख गरिन् ।


पोखरा महानगरपालिकाकाी उपप्रमुख मञ्जुदेवी गुरुङले होटल, स्पा, रेस्टुरेन्टमा हुने अवैध गतिविधिको अनुगमन गरिरहेको बताइन् । कारबाहीको अधिकार स्थानीय तहलाई नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको उनले सुनाइन् । ‘हामी अनुगमन त गर्छाैं । तर, हामीलाई कारबाहीको अधिकार नहुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन् ।

Advertisement

खाजाघर, रेस्टुरेन्ट, दाेहाेरी जस्ता रात्रिकालिन मनाेरञ्जनमा वृश्यावृत्तिका लागि मानव बेचबिखन


अहिले पनि बेचबिखनमा परेका पीडित समाजमा पुनस्र्थापना हुन कठिन हुने अवस्था रहेको शक्ति समूह नेपालकी हरिमायाले सुनाइन् । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवीले मानव बेचबिखनमा परेकाहरुलाई समाजमा पुनस्र्थापनाका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले पीडितलाई लक्ष्य गर्दै सञ्चालन गरेको कार्यक्रमले उनीहरुलाई पुनस्र्थापना हुन सजिलो भएको दाबी गरिन् ।

Advertisement


कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले रात्रिकालीन मनोरञ्जनमा यौन व्यवासयका लागि बढी मानव बेचबिखन हुने गरेको बताए । ‘वेश्यावृत्तिका लागि बढी बेचविखन भएको देखिन्छ । त्यसमा पनि १८ वर्षभन्दा मुनिका बालबालिका बढी पीडित भएको देखिन्छ,’ उनले भने, ‘खाजाघर, रेस्टुरेन्ट, दोहोरी जस्ता रात्रिकालीन मनोरञ्जनमा वेश्यावृत्तिका लागि मानव बेचविखन भएको पाइन्छ ।’


प्रदेशमा छुट्टै कानुन नबनाए पनि मानव बेचविखनको विषय छलफल हुने गरेको प्रदेश सभा सदस्य सरस्वती गुरुङले बताइन् । ‘कसरी मानव बेचविखनलाई कम गर्न सक्छौं भनेर समितिमा छलफल गरिराखेका छौं । आफ्नो छुट्टै ऐनचाहिँ गण्डकी प्रदेशले बनाउन सकेको छैन । मानव बेचविखनको कुरा संविधानको धारा अनुसार नै गर्नुपर्ने हुँदा त्यसमा हामीले बनाएका छैनौं,’ उनले भनिन् ।


सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता गोपालप्रसाद ढकालले गोपनियताका डरले पनि मानव बेचबिखनको घटना बाहिर नआउने गरेको बताए । ‘बाहिर जान खोज्नुहुन्न, सक्नुहुन्न । सूचनाका कारणले, सचेतनाको कमीले पनि बाहिर आउन सकेको छैनन्,’ उनले भने ।


शक्ति समूहसँगको सहकार्यमा पब्लिक फोरके टेलिभिजनले अन्तक्रिया आयोजना गरेको हो । कार्यक्रमलाई पोखरा थियटर र फ्रि अ गर्लले सघाएका थिए ।

तपाईको प्रतिक्रिया