प्रदेश प्रमुखलाई मुख्यमन्त्रीकाे आग्रह: नयाँ सरकार गठनका लागि ७ दिन भन्दा बढी समय नदिनुस्

समाधान संवाददाता २०८० चैत २१ गते १३:०८

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सरकार प्रमुखबाट राजीनामा बुझाउन प्रदेश प्रमुख डिल्लीराज भट्टको निबास जाँदै गर्दा पोखराका पत्रकारहरुकाे पनि बाक्लै उपस्थिति थियो । पत्रकारले राजीनामा बुझाएको फोटो र भिडियो आफैले खिच्न चाहेका थिए । तर मुख्यमन्त्री आफैले पत्रकारलाई राेके भने– प्रदेश प्रमुखसँग मेलै केही कुरा गर्नुछ तपाईहरु बाहिरै बस्नुहोला ।

राजीनामा बुझाउने बेलामा पत्रकारहरुलाई बोलाइयो र फोटो खिचे लगत्तै बाहिर जान भनियाे । त्यसपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच गाेप्य सम्वाद भयो ।

Advertisement

श्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसँग नयाँ सरकार गठनका लागि गरिने आव्हानका बारेमा चासो राखेका छन् । उनले नयाँ सरकार गठनका लागि १ हप्ता भन्दा बढीकाे समय नदिन सुझाव दिएकाे बुझिएको छ । नयाँ सरकार गठनका लागि ३ दिन ५ दिन र धेरैमा ७ दिनसम्म समय दिने चलन छ भन्दै पाण्डेले यसैलाई आधार मानेर आजै आव्हान गर्न आग्रह गरेका थिए । प्रदेश प्रमुख भट्टले भने बुझ्छु भन्ने जवाफ फर्काएका थिए ।

नयाँ सरकार गठनका लागि कहिले आव्हान गर्ने र कति समय दिने भन्ने कुरा संविधानमा लेखिएको छैन् । यो प्रदेश प्रमुखमा भर पर्छ । मुख्यमन्त्री पाण्डे नयाँ सरकारका लागि धेरै समय नदिइयोस् भन्ने चाहान्छन् ।

Advertisement

केन्द्रमा सत्तारुढ गठबन्धन र राप्रपाबीच पनि कुरा मिलिनसकेको भेउ पाएका पाण्डे राप्रपा र सत्ता गठबन्धनको कुरा नमिलोस् भन्ने चाहान्छन् । कुनै पनि दलले बहुमत दावी गर्न नसकेमा धार १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा पाण्डे नै पुन मुख्यमन्त्री नियुक्त हुन पाउछन् । त्यसैले पनि उनले एक हप्ता भन्दा बढीको समय नदिन भनेका हुन् ।

तपाईको प्रतिक्रिया