सहकारी दिवसमा मान्द्रेढुंगाको शिविर

समाधान संवाददाता २०८० चैत २१ गते १३:१३

पोखरा ।
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारीको आयोजनामा मंगलबार निशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) प्रालिको प्राविधि सहयोगमा भएको शिविरमा ३ सय ५० जनाको जाँच गरिएको छ ।


सहकारीले पोखरा १४, विशाल मार्ग, काजीपोखरीमा आयोजना गरेको यो शिविर युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको १ सय ६४ औं शिविर हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले कृषि उत्पादनसहितका क्षेत्रमा काम गरिरहेको मान्द्रेढुंगाले शिविर आयोजना गरी नमुना काम गरेको उल्लेख गरे । उनले वडावासीलाई नियमित व्यायाम गर्न, खानपानमा ध्यान दिन र सम्भव भएसम्म वर्षमा एक पटक होल बडी जाँच गराउनसमेत आग्रह गरे ।


गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले स्थापनाको १० वर्षमा १ लाख ६० हजार नागरिकले निशुुल्क स्वास्थ्य परीक्षण सेवा लिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै बेला बेलामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरी नागरिकलाई सेवा दिदै आएको अध्यक्ष पन्तले उल्लेख गरे । ‘प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै शिविरमा जनतालाई सचेतना र सित्तैमा गुणस्तरीय सेवा दिइरहेका छौं,’ पन्तले भने ।

Advertisement


शिविरमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी), क्रिटिनाइन र एचआइभीसम्बन्धी रगत जाँच र क्षयरोगसम्बन्धी खकार जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको थियो । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला अहिले गण्डकी प्रदेशका २० स्थानबाट सेवा दिइरहेको बताउँछन् । प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउने गरी संस्था अघि बढेको उनको भनाइ छ ।


सहकारीका अध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका कोषाध्यक्ष एवम् युआरएल हस्पिटल चोकका निर्देशक मणि न्यौपाने, अर्का निर्देशक सुरेश पौडेल, सहकारीका सञ्चालक मीनबहादुर गुरुङ, कास्की बचत तथा ऋण सहकारी संघका सदस्य किरण अधिकारी लगायतले बोलेका थिए ।

Advertisement


समारोहका सहभागीले आउँदै गरेको नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका थिए । सात सय ३० सेयर सदस्य रहेको मान्द्रेढुंगा सहकारीले कृषि फार्म, ग्रोसरीसमेत सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया