कोरला खुला, भन्सार कर्मचारीविहीन

हिउँद यामभरि भन्सारमा कार्यालय सहयोगीमात्रै बस्दै आइरहेकोमा पछिल्लो समय मुस्ताङ भन्सारमा कार्यालय सहयोगीसमेत बस्न छोडे

समाधान संवाददाता २०८० चैत २४ गते १५:१८

सुन्दरकुमार थकाली
जोमसोम ।

Advertisement


उत्तरी चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ छोसेरस्थित नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ । त्यहाँ पछिल्लो केही हप्तादेखि कुनै पनि कर्मचारी छैनन् ।


कोरला नाका खुला नभएको अवस्थामा पनि भन्सार विभागले उपल्लो मुस्ताङको छोसेरमा भन्सार कार्यालय स्थापना गरेको थियो । जोमसोममा यही भन्सार कार्यालयको इकाई कार्यालय पनि छ । यहाँका भन्सारले बर्सेनि नेपाल—चीनबिच हुने अन्तर देशीय अल्पकालीन व्यापार मेलामा सीमित अवधिका लागि राजस्व उठाउन भन्सारका केही कर्मचारी त्यहाँ बस्थे । अन्य समय त्यहाँ कर्मचारीहरू बस्दैनथे ।


गएको कात्तिक २७ गते कोरला नाका औपचारिक रूपमा खुला भएसँगै त्यहाँको भन्सार कार्यालयमा केही कर्मचारी बस्ने गरेका थिए । हिउँद यामभरि भन्सार कार्यालयमा कार्यालय सहयोगी मात्रै बस्दै आइरहेकोमा पछिल्लो समय मुस्ताङ भन्सारमा कार्यालय सहयोगीसमेत बस्न छोडेको त्यस क्षेत्रका एक स्थानीय बासिन्दाले जानकारी दिए ।


मुस्ताङ भन्सार कार्यालयमा ७ जना कर्मचारीको दरबन्दी छ । जसमा १ जना अधिकृत, २ जना नायब सुब्बा, १ लेखापाल, १ कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी छ । हालसम्म मुस्ताङ भन्सार कार्यालयलाई अधिकृत तहको कार्यालय प्रमुखको दरबन्दी पदपूर्ति हुन सकेको छैन । ७ जना कर्मचारी दरबन्दी रहे पनि मुस्ताङ भन्सारले दरबन्दी अनुसारको कर्मचारी पाएको छैन ।

Advertisement


नेपाल—चीन नेचुङ–लिजी कोरला नाकामा अहिले पनि व्यापारिक कारोबार भइरहेको छ । पहिलापहिला आकलझुकल खुला हुने यो नाका ६ महिनादेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको हो । अहिले पनि दैनिक १०÷१२ जना व्यापारी नेपाल—चीन नेचुङ–लिजी कोरला पासको चिनियाँ भूमिमा पुगेर मालसामान आयात गर्ने गरेका छन् । नाकामा व्यापारिक कारोबार आंशिक रूपमा हुने गरे पनि त्यहाँ भन्सार कार्यालयमा कर्मचारी नहुँदा राजस्व संकलन ठप्प छ ।


लोमान्थाङको नेचुङ भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका सुरक्षाकर्मी बस्छन् । त्यही भन्सार कार्यालय परिसरमा छोसेर प्रहरी चौकीका कर्मचारी बस्छन् । त्यहाँ बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरिए पनि भन्सारका कर्मचारी त्यहाँ बस्न छाडिसकेको नाम नबताउने सर्तमा त्यस क्षेत्रका एक सुरक्षाकर्मीले जानकारी दिए । ‘खै किन हो केही हप्तादेखि भन्सारमा एकजना पनि कर्मचारी छैनन्, केही प¥यो कि कुन्नि,’ ती सुरक्षाकर्मीले भने, ‘नाका त खुलै छ, व्यापारीहरू पनि छिटपुट नाकामा गएर सामान ल्याउने गरेका छन् ।’


मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उपल्लो मुस्ताङमा रहेका कार्यालयहरूको अनुगमन तथा उपल्लो मुस्ताङीलाई सीमापार पास लिन छुटेकालाई पास वितरण गर्न आफू त्यसतर्फ जाँदै गरेको जानकारी थिए । प्रजिअ पन्तले भन्सारमा कर्मचारी छैनन भन्ने जानकारी आएको र के रहेछ त्यहाँ पुगेर रिपोर्टिङ गर्ने बताए ।


चीनले गत कात्तिक २७ गते उपल्लो मुस्ताङका दुई पालिकाका नागरिकलाई लक्ष्य गरी कोरला नाका बाह्रै महिना खुला गरेको थियो । नाका खुलेसँगै त्यस क्षेत्रका नागरिकले दैनिक उपभोग्य मालसामान किनमेल सजिलो भएको छ । सीमा क्षेत्रका बासिन्दाले चीनको कोरला नाकास्थित लिजी पुगेर खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र दैनिक उपभोग्य सामान किन्छन् । विगतमा यही नाकाबाट भेडा—च्यांग्रा तिब्बतबाट आयात गरिन्थ्यो । यताबाट भने कृषि उपज सामग्री, जडीबुटी र पश्मिना निर्यात हुन्थ्यो ।
नेपाल—चीन कोरला नाका औपचारिक रूपमा बाह्रै महिना खुला गरिए पनि यो नाकाबाट हालसम्म भेडा—च्यांग्रा आएका छैनन् । सरकारको पहलमा नाका खुला भए पनि त्यहाँ भन्सार कार्यालयमा पशु क्वारेन्टाइन पूर्वाधार नहुँदा भेडा—च्यांग्रा नेपालतर्फ आयात गर्न समस्या छ ।

तपाईको प्रतिक्रिया