‘पार्टीमा मिसन ८४, पिपिएलमा मिसन ८१ सफल पारौं’

समाधान संवाददाता २०८० चैत २५ गते ११:४९

पोखरा ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) कास्कीको वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष मदनप्रसाद तिवारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, खुला सचिव रुद्र कुँवर, महिला सचिव सुष्मा ओझा र कोषाध्यक्ष भूपराज पोखरेल चयन भए । कार्यसमिति सदस्यमा ईश्वरी पौडेल, खगेन्द्रराज घिमिरे, दधिराम पौडेल, गोविन्द काफ्ले, दीपक शर्मा पौडेल, संगीता काफ्ले, रमेशप्रसाद शर्मा, प्रदीप अधिकारी, कविता शर्मा अधिकारी कुञ्जनी परियार प्यासी रहेको अधिवक्ता शंकर सैंजुले जानकारी दिए ।


कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनलाई भत्काएर बनाएको नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको बताए । उनले २०८४ सम्म नयाँ समीकरणलाई टिकाएर उद्देश्य र लक्ष्यलाई पूरा गर्ने उल्लेख गरे । उनले एमालेलाई मुलुकको पहिलो र निर्णायक शक्ति बनाउने घोषणा गरे ।

Advertisement

पार्टी भित्रको गम्भीर रोग अन्तर्गत दक्षिणपन्थी अराजकता हावी भएको छ । आन्तरिक जीवन व्यवस्थापन गर्न कठिनाइ भएको छ ।
पृथ्वीसुब्बा गुरुङ
एमाले उपमहासचिव


उपमहासचिव गुरुङले पार्टीमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता बढेको उल्लेख गरे । ‘पार्टी भित्रको गम्भीर रोग अन्तर्गत दक्षिणपन्थी अराजकता हावी भएको छ,’ उनले भने, ‘पार्टीको आन्तरिक जीवन व्यवस्थापन गर्न कठिनाइ भएको छ । प्रदेश कमिटीदेखि टोल टोलसम्म अनुशासनमा नचल्ने परिपाटीको विकास भएको छ ।’ उनले युवा पुस्तालाई पार्टीमा आकर्षण गर्न हरेक अधिवेशनमा १५ प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेको जनाए ।

Advertisement


नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा पिपिएलएका इन्चार्ज रमेश बडालले संगठनको मुख्य काम नेपाल बार एसोसियसनको निर्वाचन भएको बताए । संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद सुवेदीले मिसन ८१ बारको चुनाव भएकाले संगठन सबै तयारीमा लागेको जानकारी दिए । बारमा संगठनको उपस्थिति नभएको उल्लेख गर्दै उनले बारमा संगठनको सानदार उपस्थिति हुन जरुरी भएको बताए ।


संगठनका केन्द्रीय सदस्य डा मुकुन्दराज अधिकारीले पार्टी मिसन ८४ को तयारीमा लागे जस्तै ८१ संगठनको मिसन भएको उल्लेख गरे । उनले संगठनको काम र क्रियाकलापमा नयाँ सदस्यको आकर्षण बढ्ने तर्क गरे ।


नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले संगठनले पार्टीको लागि कानुनी सल्लाहकारको रुपमा काम गरेको बताए । उनले पार्टीले संगठनको कामको मुल्यांकन गर्ने उल्लेख गरे ।


कार्यक्रममा प्रेस चौतारी नेपाल अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, संगठनका गण्डकी प्रदेश कमिटीका सचिव कमलप्रसाद अर्याल, संगठन कास्कीका कार्यवहाक अध्यक्ष भगवती पहारी, कास्कीका पूर्व अध्यक्ष पदमपाणि देवकोटा, कास्कीका सचिव मदनप्रसाद तिवारी, कास्की जिल्ला अदालत बार एसोसियसनका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा लगायतले संगठनको गतिविधिबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया