एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने गल्ती गर्दैन

समाधान संवाददाता २०८० चैत २९ गते १५:४१

पोखरा ।
सत्तारुढ दल नेकपा (एमाले)ले अहिलेको सत्ता समीकरणलाई २०८४ सालमा हुने निर्वाचनसम्म निरन्तरता दिने घोषणा गरेको छ । अहिलेको समीकरणलाई तोडेर कांग्रेस मिलेर सरकार बनाउने गल्ती नगर्ने एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए ।


नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको बुधबार भएको पूर्ण बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको समीकरणलाई चुनावसम्म लैजाने जानकारी दिए । उनले सत्ता सहकार्यलाई चुनावसँगै लगेर २०८४मा एमालेले एकल बहुमत ल्याउन चाहेको उल्लेख गरे । ‘अहिलेको सहयात्रालाई जोगाउने हो ।

जतन गरेर लैजाने हो,’ उनले भने, ‘नयाँ समीकरणको बारेमा कांग्रेसले भ्रम फैलाएको छ । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने गल्ती गर्दैन ।’ उनले नेकपा (माओवादी केन्द्रसँग झगडा गरे पनि मिल्नुको विकल्प नभएको तर्क गरे ।

Advertisement


उपाध्यक्ष पौडेलले २०७४ सालमा माओवादी केन्द्रसँग चुनावी तालमेल, सयुक्त सरकार गठन र पार्टी एकताको बाटो तय गरिएको स्मरण गरे । त्यतिवेला पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रको झगडा भएको उल्लेख गर्दै उनले अहिले फेरी भएको सहकार्यलाई निरन्तरता दिनुको विकल्प नभएको जनाए ।

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आएपनि एक्लै सरकार नबनाएर सबैलाई समेट्ने उल्लेख गर्दै उनले देशभक्त र प्रगतिशीलको सरकार बनाउने दाबी गरे । विचार, संगठन र परिवर्तनलाई संस्थागत गर्ने नायक एमाले भएको दाबी गर्दै उनले एमालेलाई बलियो र निर्णायक शक्ति बनाउने घोषणा गरे । उपाध्यक्ष पौडेलले च्यासलले गरेको निर्णय सिंहदरबारले कार्यान्वयन गर्ने आधार तय गर्ने बताए ।

Advertisement


कास्कीको कम्युनिस्ट आन्दोलन र जनतामा पार्टीको प्रभाव राम्रो भएको चर्चा गर्दै उनले पार्टीलाई प्रमुख शक्तिको निरन्तरतालाई कायम राख्न सुझाव दिए । प्रतिनिधि, प्रदेश र स्थानीय तहको जीतलाई कायम राख्दै थप जीतको हासिल गर्ने अभिभारालाई पुरा गर्न उनको आग्रह छ । उनले कास्कीको जनाधारलाई अझ बलियो बनाएर उद्देश्य केन्द्रीत काम गर्न सुझाव दिए ।


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका स्थायी समितिका सदस्य थममाया थापा, अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया