सत्ताबाहिरका क्रान्तिकारी शक्तिहरुको मोर्चा गठन

समाधान संवाददाता २०८० चैत ३० गते ११:०९

पोखरा ।


मुलुकमा सत्तालाई केन्द्रित बनाएर विभिन्न खालका गुट–उपगुट र मोर्चा बनिरहेका बेला गण्डकी प्रदेशमा सत्ताबाहिर रहेका क्रान्तिकारी तथा परिवर्तनकारी देशभक्त शक्तिहरुको छुट्टै मोर्चा बनेको छ ।


दीपक गुरुङको संयोजकत्वमा राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकी प्रदेश समिति गठन भएको छ । उक्त मोर्चामा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)बाट विद्रोह गरेर सन्तबहादुर नेपालीको नेतृत्वमा गठित नेकपा (मशाल), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी मोर्चाबाट विद्रोह गरेको समूह, नेकपा मार्क्सवादी (पुष्पलाल) र प्रतिरोध जनअधिकार आन्दोलन समितिका प्रतिनिधिहरुको सहभागिता छ ।

Advertisement


पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकी प्रदेश समिति संयोजक दीपक गुरुङले अहिले नेपाली जनतामा उत्पन्न चरम निराशालाई चिर्नुपर्ने आवश्यकता औंल्याए । नेपाली जनताको स्वाभिमानी राष्ट्रिय आन्दोलनलाई सही दिशामा गति दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वाधीनता, जनअधिकार, नागरिक स्वतन्त्रता र जनजीविका समस्या हल गर्न संसदमा भएको तर गठबन्धन वा सरकारमा सामेल नभएका क्रान्तिकारी, वामपन्थी, देशभक्त, जनवादी शक्ति गोलबन्द गर्न मोर्चा गठन गरिएको जानकारी उनले दिए ।

Advertisement


नेकपा (मशाल) कास्कीका सेक्रेटरी विक्रम थापा मगरले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा राज्यले अन्याय गरेमा आवश्यकता अनुसार आफूहरु राज्यविरुद्ध प्रतिवाद गर्नेसम्मको तयारीमा रहेको जिकिर गरे ।


नेकपा (मशाल)का अर्का नेता आकाश गौतमले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा राज्यविरुद्ध संघर्ष गर्ने क्रममा आफूहरु सांगठानिक विस्तारको क्रममा रहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया