सुखको पनि लोभ छैन

प्रमिला कुँवर २०८१ वैशाख २ गते १०:३६

पोखरा ।
पोखराको महेन्द्रपुल चोक अहिले अलिक फराकिलो भएको छ । त्यहाँका दुवैतर्फका भवन भत्काइएपछि केही भाग खुला भएको छ भने दुई लेनको पुलले गाडी र यात्रुलाई धान्न मुस्किल मुस्किल परेको छ ।


पुलको बिच भागमा बिहान ७ बजेदेखि नै एक महिला बसिरहेको देख्न सकिन्छ । पुलमा ओहोरदोहोर गर्नेको भीड उनलाई वास्तै नगरी गन्तव्यतर्फ लम्किरहन्छ । पुललाई नै जीविकाको माध्यम बनाएकी ४९ वर्षीया रामकुमारी आले भने दिनभर त्यही रहन्छिन् ।


१६ वर्षभन्दा बढी भयो उनी मानिसको तौल नाप्ने मेसिन लिएर त्यहाँ बस्ने गरेको । मेसिनको उमेर पनि १६ वर्ष नै भयो । बिहान ७ बज्दा नबज्दै काम गर्न आइपुग्ने उनी बेलुका ६ बजे घर फर्किन्छिन् ।

Advertisement

‘बाटोको व्यापार, केही भर छैन, दिनमा बढीमा २ सय जति कमाइ हुन्छ, यतिले खान बस्न धेरै नै धौंधौं छ, जसोतसो ओत लाग्न र भोक मेट्न पुगेको छ,’ उनले विवशता सुनाइन् ।


रामकुमारीको पुख्र्याैली घर बागलुङ हो । उनी १४ वर्षकी हुँदा परिवार पोखरा बसाइँ सरेको थियो । अहिले उनका माइती फूलबारीमा बस्छन् । जीवन निर्वाहका लागि आलेले १५/२० वर्षसम्म मजदूरी गरिन् । तर १९ वर्षअघि पक्षघात (प्यारालाइसिस) भएपछि उनको जीवन परिवर्तन भयो ।

Advertisement


प्यारालाइसिस भएर बसेको बेलैमा उनीमाथि अर्काे ब्रजपात पर्‍योः श्रीमानको मृत्यु । ‘उच्च रक्तचापले प्यारालाइसिस भयो, म बिरामी भएका बेला श्रीमानले हेरचाह गर्नुहुन्थ्यो, परिवारको जिम्मेवारी एक्लै सम्हाल्नुभयो भयो तर म बिरामी भएको एक वर्षपछि श्रीमान बित्नुभयो । ५ वर्षसम्म सँगै काम गरेर २०५५ सालतिर भागेर बिहे गरेका हौं । श्रीमान हुँदासम्म दुखसुख जीविका धानिएको थियो’, उनले विगत सम्झिन् ।

दुखैदुखमा जीवन सकिन लायो । दुख गर्दा गर्दै सयौं गुन्द्री फाटेर गए तर दुख कहिल्यै गएन,’ उनले सुस्केरा हालिन् ।


पक्षघात भएपछि उनका दुवै हात, खुट्टा चल्न छोडे । आफैंलाई सम्हाल्न नसक्ने अवस्थामा परिवारको जिम्मेवारी उनको काँधमा आयो तर उनी विचलित भइनन् । उनी हिम्मत गरेर अघि बढिन् । आफूसँगै परिवारलाई सम्हालिन् । उनको परिवारमा छोरा र २ छोरी छन् ।


छोरा वर्कसपमा काम गर्छन्, एउटी छोरी कक्षा १० मा पढ्दै छिन् भने ठूली छोरीले काम गर्छिन् । जीवन धान्न काम गर्नैपर्ने बाध्यता र आफूले गर्न सक्ने काम भएकाले यो काम रोजेको उनले सुनाइन् । आराम गरेर बस्ने बेलामा यसरी काम गर्नुको विकल्प छैन उनको ।


रामकुमारी अहिले हिँड्न सक्ने भएकी छन् तर उनको दायाँ हात चल्दैन, दायाँ खुट्टाले सिधा टेक्न सक्दैन । त्यस बेला एउटा चर्चले सहयोग गरेको उनले सुनाइन् । वेट नाप्ने मेसिन पनि त्यही चर्चले सहयोग गरेको हो ।


‘सडकमा बस्न सास्ती छ । धुलो, धुवाँले असर गर्छ । गर्मीमा त ठीकै छ जाडो मौसममा भुँइ चिसो भएर बस्न गाह्रो पर्छ । पानी पर्दा पनि समस्या पर्छ,’ उनी थप्छिन्, ‘कतिले त तौल नापेपछि पैसा नदिई जान्छन् कतिले भने यसै पनि दिन्छन् ।’ तौल नापेको उनले १० रुपैयाँ लिने गरेकी छन् । कतिले ५ रुपैयाँमात्र दिन्छन् ।


‘म बोल्न सक्दिनँ, जति दिन्छन्, त्यति लिन पर्‍यो,’ उनी विवश सुनिइन् । अशक्त शरीर भए पनि सक्दासम्म काम गरेर खाने उनको अठोट छ । यो कामप्रति उनलाई कुनै लघुताभास छैन । नयाँबजारमा कोठा भाडामा लिएर बस्ने उनी हिँडेर नै आउजाउ गर्छिन् ।


बिहान चिया नखाएसम्म यताउता हिँड्नै मन नलाग्ने बानी परेको छ । दिउँसो कहिले खाजा घरमा खाजा खान्छिन्, कहिले चिनेका साथीभाइले ल्याइदिन्छन् । कहिलेकाँही त घरमै खान जान्छिन् ।


‘छोराछोरीले काम नगर भन्छन् तर यहाँ आयो भने यताउता हेर्ने, मान्छे हेर्ने, गाडी हेर्ने गर्दा दिन काट्न सजिलो हुन्छ,’ उनले भनिन् ‘बन्द कोठामा बस्दा निस्सासिन्छु । महँगीले छोराछोरीको कमाइ अपुग हुन्छ । यहाँ आए खाने बाटो पनि भयो साथीभाइसँग भेटघाट, बोलचाल पनि हुन्छ । सक्ने बेलासम्म काम गर्नुपर्छ । दिनभरि यत्तिकै बस्दा झन् मानसिक तनाव हुन्छ ।’
जीविकाको दुखले भने बुढेस कालले छुने बेलासम्म पनि छोडेको छैन उनलाई । अरुको घर बनाउँदा बनाउँदै श्रीमान्को जिन्दगी सकियो । आफ्नो घर बनाउन नसकेको पीरले उनलाई बेला बेला झस्काइरहन्छ ।


खासै सुख नदेखेकी उनलाई सुखको लोभ पनि छैन । तर उनलाई एकपटक भने मुस्ताङ जाने रहर छ । ‘पैसा कहिल्यै हुँदैन, घुमघाममा जान मन लागे पनि, अरुले भनेको सुन्दा, मोबाइलमा देख्दा मुस्ताङ निकै रमणीय लागेको छ । दुखैदुखमा जीवन सकिन लायो । दुख गर्दा गर्दै सयौं गुन्द्री फाटेर गए तर दुख कहिल्यै गएन,’ उनले सुस्केरा हालिन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया