सम्पादकीयः सादगी नेता पौडेललाई श्रद्धाञ्जली

समाधान संवाददाता २०८१ वैशाख २ गते १२:०२

राजनीति गर्नु भनेको नेतागिरी गर्नु, चुनाव लड्नु, सांसद हुनु र मन्त्री बन्नुमात्रै होइन । नेता हुनु भनेको समाजको तृणमूल तहलाई छाम्न सक्नु र दृष्टिकोण बनाउनु, दिनु र समाजका लागि नेतृत्वदायी भूमिका खेल्नु हो । देश र समाजका लागि चिन्तनमात्रै नगरी योगदान गर्नु हो । पदमा नपुगेका तर देश र जनताका लागि चिन्तनशील भएर बाँचेका नेता थिए खेमराज पौडेल । सरल जीवनशैली र निष्कपट व्यवहारले उनलाई नेपाली कांग्रेसमा मात्रै नभई समग्र कास्कीमा आदर्श नेताको परिचय दिएको थियो ।


पञ्चायतकालभरि प्रजातान्त्रिक आन्दोलनमा कटिबद्ध खेमराजले प्रजातन्त्रको पुनर्वहालीपछि पनि सिद्धान्त र निष्ठा राजनीतिका अभिन्न अंग हुन् भनेर पार्टी र नेताहरुलाई घच्घच्याइरहे । कार्यकर्ताहरुलाई व्यवहारबाटै प्रशिक्षित गरिरहे । व्यक्तिगत लोभ, लालचा कहिल्यै राखेनन् । राख्थे भने बहुदल आउनेबित्तिकै भएका चुनावमा टिकट पाउँथे । वा अरु राजनीतिक नियुक्तिको जिम्मेवारी सम्हाल्थे । एकपटक त्यस्तै सरकारी नियुक्ति पाए पनि कुनै विवादित काम गरेनन् । कर्तव्य पूरा गरेर एउटा संस्थालाई कुशल नेतृत्व दिए ।


कास्कीको पुम्दीमा जन्मिए । वनारससम्म पुगे । त्यहीं बिपी कोइरालाको सामीप्य पाए । राजनीतिक आस्था र विचार अनि सिद्धान्तलाई आत्मसात गरे । कृष्णप्रसाद भट्टराईकै जस्तो सरल र निष्काम कर्मयोगको बाटोमा हिँडे । अचेल राजनीतिमा मैले के पाएँ भन्नेहरु हाबी छन् । खेमराज पौडेललाई ८१ वर्षे उमेरसम्म त्यस्तो कहिल्यै लागेन । २०८० सालको अन्तिम दिन चैत ३० लाई नै जीवनको अन्तिम दिन बनाउँदासम्म उनीले कसैको आशा गरेनन् । कुण्ठा र निराशा पालेनन् । अस्वस्थ भएर उपचार गराइरहँदा पनि आत्मविश्वास उत्तिकै राखे । त्यही प्रेरणा उनका कार्यकर्ताका लागि थियो ।

Advertisement


२०७६ सालमा कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा पार्टी सभापतिकै आग्रहमा मात्रै चुनाव लडे । मैले नै पाउनुपर्छ भन्ने उनको दाबी थिएन उम्मेदवारीमा छ । सहानुभूति र सदभाव जितेकै थिए । निर्वाचनमा विद्या भट्टराईसँग पराजित भए पनि लोकतान्त्रिक संस्कार उनले देखाए र मतदातासहित तमाम कस्केलीको मन जिते । सरल जीवनशैली र निष्ठामा बाँचेका नेता खेमराज पौडेललाई सच्चा श्रद्धाञ्जली भनेको उनका नैतिक मूल्य मान्यता र सिद्धान्तहरुको अनुसरण नै हो । एक सादगी नेतालाई हार्दिक श्रद्धाञ्जली !

Advertisement

तपाईको प्रतिक्रिया