कविता: कला

त्रिवेणी २०८१ वैशाख २ गते १२:३०

मल्हार रागका घटाजस्ता ऐँठनपछि
मध्यरातका केही घडी पर
अनिर्णयको बन्दी हामीलाई
सम्बन्धको उषःकाल कुरिरहेथ्यो !

सायद त्यसैबेला हुनुपर्छ
टल्स्ट्वेले ‘सन्तुष्टिको यात्रा’ सुरु गरेको
बुद्धले ‘भोकको डोरी’ समाएको
र हामीले चमेराका हुँकारमा
ताप र सपनाको द्वन्द्व बिसाइ
‘म’ लाई ‘हामी’ बनाएको !
‘हामी’लाई ’आँफू’ पाएको

एंगेल्सको कल्पनालाई चुनौती दिई
कालीदासकी शकुन्तला बनेकी तिमी
कौण्डको उद्यानका लता र तृणसँग
माक्सको खोपडी साट्ने जेनी बन्यौ
सेक्सपियरका ओैला रोज्ने ह्याथवे पनि
तर तिमीलाई नै नचिन्ने दुष्यन्त
के ‘प्रेमविहीन’ थियो?

Advertisement

अचेल,
बतासले बहिखाताका बाक्ला सम्झना पल्टाउँदा
धुवाँका आकृत्ति हेर्दै
गम खाइरहेको म,
तिम्रै स्वरुप बोकेकी अबला गान्धारी देख्छु
जोसँग तिम्रा सपना खोस्ने कृष्णलाई दिने दण्ड छैन
जोसँग दृश्य छन् तर सपना छैनन्
फगत, दृष्टिबन्धक हुनुको पछुतो छ
र इतिहासको ’निर्णय’सँग सघन घृणा

ए… कला

Advertisement

मलाई लठ्याउने हाक्पारे मुन्धुमको सप्तकमा
तिम्रो आँगानको केवँरामा
र मेरो समर्पणको दैलोमा
किन त्यस्तो ईश्वर बस्यो
जसका चरणमा नचढ्ने
धुर्सेलीका खिरिला पत्रदलमात्र छ मसित
जसका कानले नसुन्ने
रोदनको मन्द सप्तक मात्र छ हामीसित?
र जसको इतिहास
भट्ट र भटेनीको लोककथासँग ट्याक्कै मेल खान्छ

ए… मया

ओडिनको भालहालामा नभएको सन्तुष्टि
युधिष्ठिरको स्वर्गमा नफुल्ने साकुरा
कुन कुबेरको दरबारमा खोजूँ म?
बरु,
लिङ्कनको बार्दोमा अड्किएको कायाझैँ
शान्तिको पर्खाइमा बसेको हृदय
एकाएक ज्वारभाटाले बगाई ‘काल’को पहाडसँग ठोकिने
‘टाइटेनिक’ भैजान्छ अचेल
जसभित्र सबार एकथान सपना
एउटा ऋचा
र दुईथान काया
कल्पान्तको सुक्ष्मद्वारबाट
अस्तित्वको गर्तमा बिलाउँछन् !

त्यसैले सायद
साम्यवादको दैलोमा पुग्दा
पुँजीवादले पनि ऐना हेर्दो हो

उत्परिवर्तित् कोषझैँ
बिच्किएर नियम र प्रकृतिसँग
वर्तमानको भविष्य निमोठी
तिमीलेझैँ भन्दो हो,
‘साम्यवादको सौन्दर्य सुनले परिभाषित गर्नुपर्छ !
मलाई छिर्नु छैन दर्शनको सन्दुकभित्र !’

तपाईको प्रतिक्रिया