जसले जीवनभर पदकाे लाेभ गरेनन्

समाधान संवाददाता २०८१ वैशाख २ गते १२:५०

पोखरा ।
नेपाली कांग्रेसका नेता खेमराज पौडेलको शुक्रबार निधन भएको छ । उनी ८१ वर्षका थिए । फोक्सोको क्यान्सरबाट पीडित पौडेलले फेवासिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार अन्तिम सास फेरे । त्यागी र निष्ठावान् समाजवादी नेता पौडेलको जीवनशैली सादगी थियो ।


प्रजातान्त्रिक आन्दोलनमा कटिबद्ध भएर लागेका उनले व्यक्तिगत लोभ, लालचभन्दा माथि र समाजप्रति समर्पित जीवन बाँचे । २०७६ सालमा कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा पौडेल कांग्रेस उम्मेदवार थिए । यद्यपि उनले नेकपा एमालेकी विद्या भट्टराईसँग पराजय भोग्नुपर्‍यो । नेपाली कांग्रेसमा पौडेल पछिल्लो समय महासमिति सदस्य थिए ।


कास्कीको पुम्दीभुम्दी गाउँ, हाल पोखरा २२ पुम्दीमा बस्दै आएका पौडेलको आइतबार नै सेतीनदीको शान्तिघाटमा अन्तिम संस्कार भएको छ । स्वर्गीय पौडेलका पत्नी, २ छोरा र २ छोरी छन् । पौडेल २०१७ सालमा नेपाली कांग्रेसको कास्की क्षेत्र नम्बर ९९ को अधिवेशनमा सहभागी भएका थिए । नेपाली कांग्रेसमा बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आदर्शलाई पछ्याएका नेता पौडेल पछिल्लो कालखण्ड शेरबहादुर देउवानिकट थिए ।

Advertisement


देउवाले कांग्रेस विभाजन गरी गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की सभापतिको जिम्मेवारी पौडेलले सम्हालेका थिए । पोखराका अग्रज पत्रकार तिलकमान गुभाजु खेमराजलाई कुनै लोभ, लालच नभएका इमान्दार पार्टी नेताका रुपमा सम्झन्छन् । ‘आफ्नो लागि उहाँले कहिल्यै केही माग्नुभएन, ठूला नेताको पछि लाग्नुभएन, कार्यकर्तालाई समान व्यवहार गर्नुभयो,’ उनले भने, ‘निकै अनुशासित हुनुहुन्थ्यो, कुनै स्वार्थ नराख्ने ।’ २०७६ सालको उपनिर्वाचनमा पनि शेरबहादुर देउवाको आग्रहअनुसारमात्रै उनी उम्मेदवार बनेको गुभाजु सम्झन्छन् ।

प्रजातान्त्रिक आन्दोलनमा कटिबद्ध खेमराजले व्यक्तिगत लोभ, लालचभन्दा माथि र समाजप्रति समर्पित जीवन बाँचे

Advertisement


‘त्यस उमेरमा उम्मेदवार बन्दा पनि उहाँ पुरानो पुस्ताको मात्रै होइन, नयाँ पुस्ताको पनि नेता बन्नसक्नुभयो,’ उनले भने, ‘उहाँमा मध्यस्थ बन्न सक्ने र समन्वयकारी भूमिका खेल्न सक्ने क्षमता थियो ।’ पुम्दीको अनदुडाँडामा रहेको विश्वशान्ति स्तूपका लागि पनि पौडेलको अतुलनीय योगदान रहेको गुभाजुले सम्झिए । माओवादी सशस्त्र द्वन्द्वका बेला पौडेलको सहयोग पाएको उनले बताए ।


विश्लेषक विश्व सिग्देलले नेता पौडेललाई जीवनभर न्याय हुन नसकेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अब म कसरी तपाईंका ती मृत्यु उपरान्तका कर्मकाण्डमा भिड बढाऊँ, कुन शब्द र फुलपातीले श्रद्धाञ्जली दिऊँ, हाम्रा गुरु तपाईं खेमराज त ब्रम्हलीन भइसक्नुभयो, बाँकी जे रहेको तपाईं हैन । बरु तपाईंलाई जीवनभर न्याय दिन सकिएन, न्यायको निमित्त लडन सकिएन, अब कसैलाई तपाईंलाईजस्तो नियति नहोस्, श्रद्धाञ्जली स्वरुप यति त संकल्प गर्न सकिन्छ नि ।’


कवि तथा पूर्वशिक्षक लक्षमण थापाले पौडेललाई निरंकुशता विरुद्ध संघर्ष गर्ने जिउँदो इतिहास तथा वास्तविक हिरोको संज्ञा दिएका छन् । स्वतन्त्र लेखक रवीन्द्र माकाजूले २०३१ सालमा पौडेलसँग राष्ट्रिय माध्यमिक विद्यालयमा ज्ञान हासिल गर्ने मौका पाएको स्मरण गरेका छन् । माकाजू लेख्छन्, ‘उहाँ राम्रा शिक्षकमा गनिनुहुन्थ्यो ।’


वनारसमा पढाइ पूरा गरेर बिपी कोइरालाको निर्देशन अनुरुप तरुण पत्रिका फैलाउन भूमिका खेलेका र वनारसबाट आउँदा नेपाल पुकार, तरुण पत्रिका पोखरा ल्याउने गरेको अग्रजबाट आफूले सुनेको माकाजूले लेखेका छन् ।

तपाईको प्रतिक्रिया