पोखरामा अचाक्ली दूषित हावा

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । वायु गुणस्तर सूचकांक जति कम भयो उति राम्रो हो । पोखराको प्रदूषण भने मानव स्वास्थ्यलाई हानि हुने तहमा पुगेको देखिन्छ

समाधान संवाददाता २०८१ वैशाख ३ गते १०:२८

पोखरा ।
पोखरामा वायु प्रदूषणको मात्र ह्वात्तै बढेको छ । गएको एक साता धुवाँ र तुवाँलोका कारण आकाश धुम्मिए पछि आइतबार केही खुलेको छ । तर, आइतबारको तुलनामा वायु प्रदूषणको सूचक गत हप्ता निकै माथि थियो । दूषित हावाकै कारणले पछिल्ला दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवरुद्धसमेत भएका थिए ।


वायु प्रदूषण वृद्धि हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार १० किलोमिटर मात्र भिजिबिलिटी छ । जसले उडान अवरुद्ध भइरहेको छ । विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार आइतबार मौसम राम्रो भएपनि गएको १ हप्ता विमानस्थलबाट हवाई उडान अवरुद्ध भए । त्यसको प्रमुख कारण भिजिविलिटी कम नै हो ।

हावामा प्रदूषणको दर बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिविलिटी कम बनाउँछ । कम भिजिविलिटी हुँदा विमानस्थलबाट समेत हवाई उडान हुन नसकेको रेग्मी बताउँछिन् । जसले यात्रु व्यवस्थापनमा चाप बढेको थियो । समयमा उडान नहुँदा बिहान एयरपोर्ट पुगेको यात्रु दिउँसो मात्र उड्न बाध्य भएको थियो ।

Advertisement


गएको एक साता पोखरा दिउँसै अँध्यारो हुने साँझ बिहान आकाश धुम्म हुँदै आएको थियो । जुन बेला पोखराका आकाशमा उडान समेत हुन सकेन । त्यसका धेरै प्रत्यक्ष अप्रत्यष असर परे । डाँडाकाँडा पनि नदेखिँदा उकुसमुकुस भएजस्तो अनुभूति पोखरेलीले गरेका थिए ।


अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्यांकले पनि पोखरामा एयर प्रदूषणको दर बढिरहेको देखाएको छ । अप्रिल ११ अर्थात चैत २९ गते हावाको प्रदूषण १५२ एक्वुआई थियो । चैत ३० गते एक्युआई १ सय ४२ मा झर्‍यो । यसदिन प्रदूषणको दर ह्वात्तै घट्यो । तर, यो घटाइ एक दिन पनि टिकेन । वैशाख १ गते प्रदूषणको दर १ सय ५४ एक्युआई पुग्यो । आइतबार (वैशाख) २ गते भने हावाको प्रदूषण दर ह्वातै घटेको छ । बेलुका साँझ ६ बजेसम्म एक्वुआई ८७ छ । यो २४ घन्टाको यकिन तथ्यांक होइन । रातको १२ बजेपछि मात्र यकिन तथ्यांक आउँछ ।

Advertisement


आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरुको हावाको गुणस्तर मापन गर्छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । वायु गुणस्तर सूचकांक जति कम भयो, उति राम्रो हो । नम्बर जति धेरै भयो, उति वायु प्रदूषण बढी भएको बुझिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।


नेपाल वायु प्रदूषण हुने सूचीको ८ औैं स्थानमा रहेको एक्युआईको सन् २०२३ को तथ्यांक छ । यस वर्ष औसतमा नेपालको एक्युआई १ सय १८ थियो । स्विट्जरल्यान्डबाट मापन हुने यो एक्युआईको पछिल्लो केही दिनको तथ्यांक हेर्दा भने डरलाग्दो छ ।


काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक नम्बरमा परेको तथ्य प्रकाशित भइसकेको छ । आइक्यु एयरका अनुसार नेपालको वायु गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो । जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा वायु प्रदूषण बढिरहेको जनाएको छ । यसले नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन् ।


पोखरामा वायु प्रदूषण हुनुमा हालैका दिनमा लागेको डढेलो पनि कारण हो । गोरखा, कास्की, स्याङजा, नवलपुरमा आगलागी हुँदा पनि वाय प्रदूषण बढेको विज्ञको भनाइ छ । बर्खाको समय हावाहुरी चल्ने समय हो । पानी परेर हावा हुरी चलेमा प्रदुषण घट्दै जान्ने विज्ञको भनाइ छ । तर पानी पनि उतिसारो परेको छैन ।


जनस्वास्थ्यविद्हरूका अनुसार श्वासप्रश्वाससम्बन्धी दीर्घरोगको मुख्य कारक वायु प्रदूषण हो । अहिले जनस्वास्थ्यमा देखिएका अधिकांश रोज वायु प्रदूषणसँगै जोडिएको छ । मुटुसम्बन्धी रोगका लागि पनि खानपान, जीवनशैलीका साथसाथै वायु प्रदूषणको भूमिका पनि व्यापक छ । अनि फोक्सोको क्यान्सरका लागि समेत वायु प्रदूषणले भूमिका खेल्छ । त्यस हिसाबले नेपालमा हुने मृत्युको मुख्य कारण नै वायु प्रदूषण हो भन्ने पनि सकिने तर्क केही विज्ञको छ ।


कसरी मापन हुन्छ प्रदूषण ?


वातावरण विभागका अनुसार विभागले देशका २७ स्थानमा राखेका उपकरणहरूले ती उपकरण राखिएका स्थानको हावाको नमुना लिएर प्रदूषणको मापन गर्ने गरेका छन् । विभागले पोखराका विभिन्न ठाउँमा त्यस्तो उपकरण राखेको छ । पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुलमा विभागले वायु प्रदूषण जाँच्ने उपकरण राखेको छ ।

उपकरणले त्यो ठाउँको हावा पम्प गरेर भित्र तान्छ र त्यहाँ प्रदूषण कति छ भनेर मापन गर्छ । यस्ता उपकरणमा उच्च प्रविधियुक्त फिल्टर जडान गरिएको हुन्छ र त्यसमा कति कणहरू जम्मा भए भन्ने हिसाबले प्रदूषण नापिन्छ । त्यसले निकै ससाना धूलोका कणहरूसँगै तरल प्रदूषणको पनि मापन गर्छ ।


विभागका अनुसार यस्ता अधिकांश उपकरणहरू २४ सै घण्टा सञ्चालन हुन्छन् र हरेक मिनेटमा तथ्यांकहरू विभागको सर्भरमा पठाउँछन् । सर्भरले दैनिक औसत लगायतका विवरण स्वचालित रूपमा हिसाब पनि गर्छ र त्यो विवरण कम्प्युटर प्रणालीबाट वेबसाइटमा स्वतः प्रकाशित हुन्छ ।

वायु प्रदूषणबाट बँच्ने उपाय
– बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग गर्ने,
– मानव बस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने,
– व्यवस्थित सहरीकरणको विकास गर्ने,
–पुराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने,
– वनजंगल फडानी नगर्ने र वृक्षारोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने,
– सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध गर्ने,
– ढल निकासको उचित व्यवस्था गर्ने,
– इन्धनको रूपमा प्रयोगमा जोड दिँदै दाउरा, कोइलाको सट्टा, गोबर ग्यास, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने,
– कुनै समस्या भएमा तातो पानीको सेवन मात्र गर्ने,
– बाहिर हिँड्दा धेरै बाहिरका खानाहरु नखाने,
– पूरा शरीर ढाक्ने खालका कपडा लगाएर हिँड्ने,
– बाहिर हिँड्दा छाताको प्रयोग गर्नु राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया