सम्पादकीय: महानगरको राजस्व चुहावट

समाधान संवाददाता २०८१ वैशाख ३ गते ११:५२

पोखरा महानगरपालिकाले जति राजस्व उठाउन सक्छ, त्यति त उठाएकै छैन । दायरा बढाएको छैन । उठाइरहेका विधा र शीर्षकमा पनि वास्तविकता अनुसारको आम्दानी गर्न चुकेको छ नै । उठेको कर पनि महानगरपालिकामा दाखिलै नहुने समस्या पनि छ, जुन निकै संवेदनशील हो । राज्यको कर वा आम्दानी त्यसरी चुहिनु सामान्य चुहावटमात्रै होइन, त्यो लुट हो र ठूलो अपराध । जसले त्यसो गरिरहेको छ, त्यसलाई अहिलेसम्म कारबाही भएको सुन्न र देख्न पोखरावासी जनताले पाएका छैनन् ।

अरु अपराधमा भन्दा राजस्व ठगी र चोरी जस्ता अपराधमा राज्य संसारमा जहाँ पनि कठोर हुन्छ तर पोखरा महानगरपालिकामा भने सय खत माफ भनेजस्तोमात्रै छैन, सहस्र खत माफी जस्तो उन्मुक्ति र अभयदान दिइएको आभास जनताले गरेका छन् ।
पोखराको महेन्द्रपुलमा महानगरपालिकाकै सटर कबलहरु भाडामा थिए । अहिलेचाहिँ ऊ आफैंले भत्काएको छ । तर त्यसअघिको भाडा पालिकाको कोषमा आएको छैन । कसले तिर्नुपर्ने हो भनेर पनि महानगरपालिकाले खोजेको छैन । कुनै ताकेता छैन । तिर्नुपर्ने र महानगरका जिम्मेवार अधिकारीहरुको मिलिभगतमा त्यसलाई त्यत्तिकै ढिसमिस पार्न खोजिएको हो कि जस्तो देखिन्छ । तर जनप्रतिनिधिहरुले त्यस्तो प्रवृत्तिलाई त्यत्तिकै छाड्नु हुँदैन । हर कुनै हालतमा राजस्व उठाइ छाड्नुपर्छ ।


महानगरका सटर, कबल महेन्द्रपुलमा मात्रै थिएनन, छैनन्, अन्तर पनि छन् । भवनै पनि भाडामा छन् । तिनबाट उठाउनुपर्ने भाडा पनि उठाउन नसक्नु भनेको हदैसम्मको लाचारीमात्रै होइन निकम्मापन हो । हालै आएर राजस्व र सुशासनका लागि महानगरपालिकाले २ समिति बनाएको भन्ने समाचार आएको छ । यस्ता समिति संघ सरकारले पनि धेरै बनायो । तर धेरैको प्रतिवेदन र सिफारिस कार्यान्वयन गरेन । समितिमा जनप्रतिनिधि छन् । अब हेर्नु छ उनीहरुले महानगरपालिकाप्रति कत्तिको जिम्मेवार भएर प्रतिवेदन निकाल्छन् । सत्यतथ्य कसरी उधिन्छन् ? यो ती समितिमा बस्नेहरुको ठूलो नैतिक परीक्षा हो । र सिंगो महानगरपालिकाका सबै जनप्रतिनिधिको पनि हो ।

Advertisement


महालेखा परीक्षकले नै औंल्याउँदा पनि यतिका समय झन्डै दसकदेखिको भाडा उठाउन आलटाल गर्नु र तिरेको भाडा अनि कतिपय राजस्व महानगरपालिकाको प्रणालीमा नदेखिनु भनेको ठूलो भ्रष्टाचार र अपराध हाकाहाकी भइरहको छ भन्ने नै हो । महानगरपालिकाका जनप्रतिनिधिले यतिका संवेदनशील विषयमा पनि गम्भीर ढंगले काम गर्न सकेन भने उनीहरुबाट अरु केही आशा गर्न सकिन्न । बरु सन्देह उत्पन्न हुन्छ कि यस्ता गम्भीर अपराधमा कतै उनीहरु पनि संलग्न छन् कि ?

Advertisement

तपाईको प्रतिक्रिया