लक्ष्मि र भवानी कालिका माविलाई भारतिय दुतावासको बस सहयोग

समाधान संवाददाता २०८१ वैशाख ३ गते १६:३९

लेखनाथ ।
भारतिय दुतावासले पोखरा महानगरपालिकाका दुई विद्यालयलाई सवारी साधन बस उपलब्ध गराएको छ । दुतावासले आइतबार काठमाण्डौंमा हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक विद्यालयलाई बुझाएको हो ।


दुतावासले सवारी बसको चावी पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको थियो ।
अध्यक्ष थापाले सवारीसाधनको सुविधाले विद्यालय शिक्षाको गुणस्तर वृद्धि हुनेमा आशावादी रहेको बताए । विपन्न नागरिकका छोराछोरीलाई विद्यालयसम्म आउने जाने व्यवस्थाका लागि सवारी साधनको प्रयोग गर्ने गरी योजना बनाउन उनले आग्रह गरे ।


आगामी आर्थिक वर्षको बजेट शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने उल्लेख गर्दै, सबै विद्यालयले वडा शिक्षा समितिले निर्माण गरेको शैक्षिक क्यालेण्डर अनुसार चल्न सुझाव दिए । सामुदायिक विद्यालयको शिक्षामा गरिएको लगानीले सोचेजति प्रतिफल प्राप्त गर्न नसकेको उल्लेख गर्दै, अध्यक्ष थापाले विद्यार्थीको ड्रपआउटले थप चिन्तित बनाएको उनकाे भनाइ छ ।

Advertisement


अध्यक्ष थापाले श्रोत र साधनको अभावमा विद्यालयको शैक्षिक गुणस्तर खस्कन नहुने उल्लेख गर्दै, शैक्षिक सुधारका लागि सहयोग गर्ने प्रतिवद्धा जनाए ।


भवानी कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, प्रधानाध्यापक रमेश भट्टराई, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले विद्यालयमा बस उपलब्ध गराउन भूमिका खेल्नेहरुलाई धन्यवाद दिएका थिए ।

Advertisement


पोखरा २६ विजयपुरमा रहेको भवानी कालिकामा लगभग चार सय र अर्घौमा रहेको लक्ष्मी माविमा लगभग नौ सय विद्यार्थी अध्ययनरत छन् । दुवै विद्यालयलाई विद्यार्थीको संख्या वृद्धि चुनौतीका रुपमा छ ।

तपाईको प्रतिक्रिया