अन्नपूर्ण क्षेत्रमा डेढ लाख पर्यटक

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख ४ गते १०:४३

गण्डकी ।
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिनामा १ लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार ९ सय ६९ र अन्य मुलुकका १८ हजार २ सय ९६ गरी ३५ हजार २ सय ६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । गत असोजमा २८ हजार ५ सय ५ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

Advertisement


यो वैशाख महिनामा पर्यटक संख्या थप बढ्ने प्रमुख डा कडरियाको अनुमान छ । गत आवको वैशाखमा ३१ हजार ९ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ ।


‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर मनाङ, मुस्ताङ लगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या यकीन छैन । ‘एक्याप’का अनुसार सन् २०२३ मा १ सय ७३ देशका १ लाख ९१ हजार ५ सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । उक्त सङ्ख्या हालसम्मकै उच्च हो ।

Advertisement


त्यसअघि सन् २०१९ मा १ लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्य छन् ।

७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ ।


हिम शृङ्खला सहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी लगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया