२२५ जनाको सित्तैमा मधुमेह र कोलेस्ट्रोल जाँच

समाधान संवाददाता २०८१ वैशाख ४ गते १०:५६

पोखरा ।
घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा दुई सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो भने अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको छ ।


गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त युआरएलले अहिलेसम्म आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो एक सय ६७ औं स्वास्थ्य शिविर हो । यी शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।


कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापाले सामाजिक संघ, संस्थाले सदस्यलाई स्वास्थ्य सचेतनासहित सित्तैमा विभिन्न रगत जाँच उपलब्ध गराउनु निकै राम्रो काम भएको बताइन् । उनले स्वस्थ नागरिकबाट नै समृद्ध समाज र देशको कल्पना हुन सक्ने उल्लेख गरिन् ।

Advertisement


कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र कोलेस्ट्रोल हुनुका कारण, प्रभाव र उपचार प्रद्धतिबारे प्रकाश पारे । उनले मधुमेह र कोलेस्ट्रोल उच्च हुँदा माष्तिष्क घात र ह्यदयघात बढेको जनाउँदै बेला बेलामा नियमित जाँच गर्न र स्वास्थ्यमा समस्या देखिए उपचारसँगसँगै खानपानमा समेत विशेष ख्याल गर्न आग्रह गरे ।


युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सर्वसाधारणलाई सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै प्रदेशलाई नै रक्त जाँचमा आत्मनिर्भर बनाउने गरी लागिपरेको उल्लेख गरे ।

Advertisement


युआरएलले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर सेवामा छुट दिएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखाका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् । नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए ।


संस्थाका अध्यक्ष मानबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सचिव यामसरी थापा, मगर संघ चाउथे इकाइ अध्यक्ष सुनमाया आले, वडा सदस्य विष्णुहरि काफ्ले लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया