दृष्टिविहीनलाई अब प्रविधिले डोर्‍याउँछ

समाधान संवाददाता २०८१ वैशाख ५ गते १०:३२

पोखरा ।
दृष्टिविहीनका लागि सेतो छडी बाटो देखाउने विशेष मेसिन वा यन्त्र होइन । तर, पनि अधिकांश दृष्टिविहीनले दैनिक जीवनमा छडीको सहयोगले आफ्नो गन्तव्य तय गर्छन् । सधैं सेतो छडीको मात्रै भरले हुँदैन । अरुको सहयोग र सहारा लिनैपर्ने बाध्यता पनि आइपर्छ ।


मंगलबार पोखरा १ बगरको केआइसिंह पुल नजिकैको मेमोरी बेकरी अगाडि उभिएका २२ जना दृष्टिविहीनले फरकफरक गन्तव्यको यात्रा थाले तर उनीहरुसँग सहयोगी थिएनन् । गन्तव्य भने पहिल्याउन उनीहरु सफल भए । ४ समूहमा विभाजित २२ जना निश्चित समयमा गन्तव्यमै पुग्न सफल भए र पुनः बेकरीमै आइपुग्न सफल भए । नेपाल बैंक, गोरखा म्युजियम, संस्कृति मावि र माछापुच्छ्रे बैंक उनीहरुका गन्तव्य थिए । कसैको सहयोग नलिई र कसैलाई पनि नसोधी उनीहरुलाई गन्तव्य पुग्न सजिलो पारेको थियो— प्रविधिले ।


कृत्रिम बौद्धिकता (एआई) र गुगल म्यापको तालिम लिएर उनीहरुले मंगलबारको गन्तव्य पहिल्याउन सके । अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले उनीहरुलाई आधुनिक प्रविधिका बारेमा प्रशिक्षित गराएपछि सजिलै गन्तव्य पहिल्याउन सकेको प्रशिक्षार्थी दृष्टिविहीन रेजिना घिमिरेले बताइन् ।

Advertisement


‘सेतो छडीले मात्र सबै कुरा चिन्दैन । कहिँ जानुपरे, कसैको साहरा लिनुपर्ने अवस्था सबैको थियो । तर, अब प्रविधिले धेरै सजिलो बनाइदिँदो रैछ,’ उनले भनिन्, ‘आवश्यकताले सञ्जाल चिनायो, सञ्जालले संसार चिनाउने रैछ । अब यात्रा गर्न कसैको साहरा नलिइकन पनि यात्रा गर्न सकिँदो रैछ भन्ने जान्यौं ।’


कास्की नेत्रहीन संघले आयोजना गरेको दृष्टिविहीनको सशक्तीकरणका लागि प्रविधिमा पहुँच तालिममार्फत दृष्टिविहीनले प्रविधि कसरी सिक्ने ज्ञान लिएका हुन् । पोखरामा ३ दिनसम्म सञ्चालित उक्त तालिममा उनीहरुले दृष्टिविहीनको दैनिकीमा प्रविधि कसरी प्रयोग गर्ने र गन्तव्यमा पुग्न कसरी सक्ने भन्ने सिके । त्यसकै सीपको अभ्यास गर्दा तालिम सहभागीले मंगलबार उनीहरुले पोखरा १ बगरका विभिन्न गन्तव्य पहिल्याएका थिए ।

Advertisement

श्याम ढुंगानाले भने, ‘लठ्ठीले बाटोमात्र देखाउँथ्यो । ठाउँ चिन्दैनथ्यो । मोबाइलबाट गुगल म्यापको सहयोगले अब ठाउँ र गन्तव्य दुवै चिन्न सक्ने भइयो ।’


कार्यक्रममा सहभागी संघकी उपाध्यक्ष सुनीता ज्ञावलीले डिजिटल मोभिलिटीले दृष्टियुक्तलाई सहज र दृष्टिविहीनलाई सम्भव बनाएको बताइन् । ‘यसअघि प्रविधि थाहा थिएन । तर, हाम्रो पहुँचमा ल्याउन सकिएको थिएन,’ उनले भनिन् ।


सहभागी श्याम ढुंगानाले आफ्नो भिजन राम्रो नभएकाले तालिममा सहभागी भएको बताए । ‘यो श्रवण दृष्टिविहीनहरुका लागि त अत्यावश्यक नै रैछ । मोबाइलको सहयोगले गन्तव्य पहिल्याउन सहज हुनेभयो,’ ढुंगानाले भने, ‘लठ्ठीले बाटोमात्र देखाउँथ्यो । ठाउँ चिन्दैनथ्यो । मोबाइलबाट गुगल म्यापको सहयोगले अब ठाउँ र गन्तव्य दुवै चिन्न सक्ने भइयो ।’


गुगल म्यापले गन्तव्य पुग्न कहाँबाट कहाँ मोडिनेदेखि कहाँ आइपुगियो जस्ता जानकारी दिने प्रशिक्षणमा सहभागीले थाहा पाएका थिए । हातमा मोबाइल लिँदै र कानमा हेडफोन लगाएर गुगल म्यापको सहारामा दृष्टिविहीनले यात्रा गर्न सक्ने सिप उनीहरुले प्रयोगात्मक रुपमै सिके ।


अपांग महासंघका केन्द्रीय सदस्य पुष्पराज रिमालले दृष्टिविहीनले दृष्टियुक्तहरुले भन्दा सुरक्षित सफ्ट्वर चलाउन पाएकोमा खुसी व्यक्त गरे ।


प्रशिक्षक खोमराज शर्माले आफूले अंग्रेजी जानेकै कारणले गुगलमार्फत सिकेका कुरालाई बाँडेको बताए । ‘मैले कतै औपचारिक तालिम लिएको होइन । प्रविधिमा रुचि र अंग्रेजी जानेकै कारणले गुगलमार्फत सिकेको कुरा बाँडेको हुँ,’ उनले भने ।


तालिमले अरुको सहयोगमा गर्नुपर्ने काम अब एक्लै गर्न सक्ने प्रयासको सुरुआत भएको उनले बताए । ‘केही कुरा त पर्सनल र गोप्य हुन्छ । कसैलाई भन्न पनि नसकिने । सँगै लैजान पनि नसकिने हुन्छ । त्यस्तो ठाउँमा पुग्न साथीहरुले अब एआई र गुगल म्यापको प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘अब ‘बी माई एआई’ मार्फत दैनिक जीवनमा धेरै कुरा सहयोग लिन सक्छौं । मान्छेका हुलिया, क्रियाकलाप कस्तो छ । सबैको ज्ञान लिन सक्छौं । यी सबै कुरा साथीहरुले सिक्नुभयो भन्ने लागेको छ ।’


इसेवा जस्ता डिजिटल वालेट, मोबाइल बैंकिङ, इनड्राइभ जस्ता राइड सेयरिङ एप र डिजिटल प्रविधिलाई कसरी प्रयोग गर्ने भनेर सिकाएको उनले सुनाए । उनले समाचार माध्यमहरुले पत्रिका पिडिएफमा अपलोड गर्दा पढ्न असजिलो भएको गुनासो गरे ।


नेत्रसंघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहीनका क्षेत्रमा सरकारले काम गर्न नसकेको सुनाए । उनले व्यवस्था फेरिए पनि दृष्टिविहीहरुको हकमा अझै भेदभाव हुने गरेको बताए । तथापि संघले गरेको कार्यक्रम वरदान भएको उनले बताए । ‘हामी जस्तो साथीहरुलाई यो प्रोग्राम बदान भएको छ । सबैले यसलाई व्यवहारमा उतारेर देखाउनुपर्छ,’ सापकोटाले भने ।

संघले अब छिट्टै दृष्टिविहीनहरुलाई शिक्षा सेवा आयोगको परीक्षा तयारी कक्षा सञ्चालन गर्ने उनले बताए । त्यसमा सबै साथीहरु सहभागी हुने उनको अपेक्षा छ । तालिम समापन कार्यक्रम सचिव सुशील गोदारले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया