मुस्ताङमा सवा ४ लाख पर्यटक

समाधान संवाददाता २०८१ वैशाख ५ गते ११:००

जोमसोम ।
पछिल्लो वर्ष मुस्ताङमा सवा ४ लाख पर्यटक आएका छन् । २०८० बैशाखदेखि चैत महिना मसान्तसम्म बेनी जोमसोम सडक मार्ग तथा पोखरा जोमसोम हवाई मार्ग हुँदै ४ लाख २५ हजार ९ सय ६४ जना पर्यटक भित्रिएका हुन् ।


मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा प्रहरी चौकीको चेकपोस्ट र हवाई मार्ग हुँदै मुस्ताङ आउनेका लागि जोमसोम नागरिक उड्यन कार्यालयमा कार्यरत सुरक्षाकर्मीले दिनहुँ अभिलेख राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले प्रहरीले राख्ने गरेको तथ्यांकमा राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको अभिलेख नहुने जनाए ।


सो तथ्यांक एक्यापलेमात्र राख्ने गरेको छ । विस २०८० को बाह्र महिनामा बेनी जोमसोम सडक मार्ग हुँदै ४ लाख १४ हजार २८० जना र पोखरा—जोमसोम हवाई मार्ग हुँदै ११ हजार ६ सय ८४ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ आएका छन् ।

Advertisement


सडक मार्ग हुँदै ३ लाख ३५ हजार ४ सय ६६ जना आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए भने पोखरा जोमसोम हवाई मार्ग हुँदै १ हजार ८ सय ७९ जना नेपाली मुस्ताङ भित्रिएका थिए । यो अभिलेख अनुसार २०८० को बाह्र महिनामा ३ लाख ३७ हजार ३ सय ४५ जना नेपाली मुस्ताङ भित्रिएका छन् ।

२०८० सालमा सार्क र अन्य मुलुकका गरी ८८ हजार ६ सय १९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । जसमध्ये बेनी जोमसोम सडक मार्ग हुँदै ७८ हजार ८ सय १४ जना र पोखरा जोमसोम हवाईमार्ग हुँदै ९ हजार ८ सय ५ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् ।

Advertisement

भारतीय र नेपाली पर्यटक मुक्तिनाथसम्म पुगेर फर्किन्छन् भने युवाहरु कोरला पुग्न थालेका छन् । चर्काे रोयल्टीका कारण विदेशीहरु तल्लो मुस्ताङबाटै फिर्ता हुन्छन् ।


मुस्ताङमा विदेशी पर्यटक भित्रिदै गर्दा सबैभन्दा धेरै सार्क मुलुकका पर्यटकको आगमन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकको भनाइ छ । प्रहरी रेकर्डमा सार्क मुलुकका ७२ हजार ७ सय ५६ जनाले सडक मार्ग हुँदै मुस्ताङ प्रवेश गरेको उल्लेख छ । हवाई मार्ग हुँदै आउने ८ हजार ५५ जना सार्क मुलुकका पर्यटक हुन् ।


सार्कबाहेक अन्य मुलुकका ६ हजार ५८ जना पर्यटकले बेनी जोमसोम सडकमार्ग हुँदै र १ हजार ७ सय ५० जना अन्य मुलुकका विदेशी पोखरा जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ भित्रिएका थिए ।


मुस्ताङमा अधिकांश आन्तरिक र भारतीय पर्यटक मुक्तिनाथको दर्शन गर्ने र कागबेनीधाममा दिवंगत पितृको नाममा श्राद्ध तथा पिण्डदान गरेर फर्किने गरेका छन् । मुस्ताङ भ्रमणमा आउने युवायुवती भने उपल्लो मुस्ताङ घुमेर फर्किने गरेको पाइएको छ । मुस्ताङ भित्रिने सार्क तथा विदेश पर्यटक मुक्तिनाथ क्षेत्र र कागबेनी घुमेर फर्किने गर्छन् ।


उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र भ्रमण गर्नका लागि सार्क तथा अन्य मुलुकका विदेशीले नेपाल सरकार अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरी प्रवेशाज्ञा लिनुपर्छ । उपल्लो मुस्ताङ घुम्न गएका पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्ने हुन्छ ।


उपल्लो मुस्ताङ भ्रमणका लागि चर्को रोयल्टी शुल्क तिर्नुपर्ने भएका कारण केही भिआइपी पर्यटकबाहेक अधिकांश विदेशी तल्लो मुस्ताङबाटै फर्किने गर्छन् । उपल्लो मुस्ताङीले माथिल्लो क्षेत्रको पर्यटन विकास गर्न निषेधाज्ञा फुकुवा गर्नुपर्ने र त्यसो हुन नसके पर्यटन रोयल्टी घटाउन सरकारसँग पटक पटक माग राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया