पोखरा ६ मा बेकरी तालिम

समाधान संवाददाता २०८१ वैशाख ५ गते ११:४३

पोखरा ।
पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं–६ को आर्थिक सहयोगमा सञ्चालित दुई हप्ते बेकरी तालिम सकिएको छ । तालिममा पोखरा ६ का विपन्न परिवारका २० जना सहभागी थिए ।


समापन कार्यक्रममा पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले पछिल्लो समय नेपालमा गुणस्तरीय कच्चा पदार्थ नहुँदा उत्पादित सामग्रीहरू पनि गुणस्तरीय हुन नसकेको जनाए । उनले यस्ता तालिम प्राप्त जनशक्तिले देशमै रोजगारीका अवसर खोज्नुपर्नेमा जोड दिए ।


पोखरा प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख हर्कलाल श्रेष्ठले तालिम फलदायी भएको भन्दै आगामी दिनमा पनि पोखरा महानगरपालिकामा यस्ता तालिमलाई निरन्तर दिनुपर्ने जनाए । प्रशिक्षक साजन गुरुङले उद्यमी बन्नका लागि सीप र क्षमता आवश्यक पर्ने भएकाले तालिममा सहभागलाई सिकेको सीपलाई व्यवहारमा समेत लागू गर्न आग्रह गरे ।

Advertisement


प्रशिक्षार्थी कृष्टिना जलारीले कुनै पनि काम ठूलो सानो नहुने र आफूले सिकेको सीपलाई व्यवहारमा पनि उतार्ने बताइन् । अर्का प्रशिक्षार्थी प्रशान्त परियारले तालिम प्राप्त गरेपछि नेपालमा आफैँले केही गरेर पनि जिउन सकिने आत्मविश्वास बढेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया