आलु महोत्सव आजसम्म

समाधान संवाददाता २०८१ वैशाख ५ गते १२:०६

पोखरा ।
हेमजामा जारी राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिँदै छ । चैत २५ देखि सुरु भएको महोत्सवमा मंगलबारसम्म ३० लाखको आलु कारोबार भएको छ । आलु प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरिएको छ ।


मंगलबारसम्म ७० हजारभन्दा बढीले महोत्सव अवलोकन गरेकोमा ३ हजार २ सय १५ घरपरिवारले आलु किनेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । कास्की, स्याङ्जा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ र काठमाण्डौबाट समेत मानिस किन्न आएका छन् ।


महोत्सवमा मंगलबार उद्घाटनका दिन चैत २५ गते आयोजित झाँकी र्‍यालीको नजिता पनि सुनाइएको छ । प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज पहिलो हुँदै १० हजार र प्रमाणपत्र पुरस्कार पाएको छ । र्‍यालीमा हेमजा नेवा खलको समूह दोस्रो, पोखरा महानगरपालिका स्थित सामुदायिक महिला स्वास्थ्य स्वयमको समूह तेस्रो तथा नवजागर बाल समूह तथा धौलागिरी हेमजा मगर समाज सान्त्वना भए ।

Advertisement


द्वितीय, तृतीय र सान्त्वना भएसँगै ती समूहले क्रमश ७ हजार, ५ हजार तथा ३ हजारका साथमा प्रमाणपत्रमा पाएका छन् । कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङले कृषि उपजका नाममा महोत्सव गरिनु आफैंमा महत्वपूर्ण रहेको जनाए ।

उनले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘म मनाङको मान्छे, आलु खाँदै हुर्केको हो, आज यहाँ पनि आलुका परिकार खान पाए, खुसी छु । आगामी दिनमा हुने यस किसिमका महोत्सवमा प्रदेश सरकारको पनि साथ रहन्छ,’ मन्त्री गुरुङले भने ।
मंगलबार महोत्सवमा कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सुरेशरमण अधिकारी, कृष्ण गुरुङ, सरिता सारु, गगन गुरुङ, सुभद्रा श्रेष्ठ, परशुराम अधिकारीसहित लक्ष्य ब्यान्डका प्रस्तुति रहे । महोत्सवमा आलुसहित अन्य सामग्री गरी हालसम्म साढे ३ करोडको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जनाए ।

Advertisement


महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यंग्य एवं लाइभ पप कन्सर्ट लगायत छन् ।

तपाईको प्रतिक्रिया