२७ शरणार्थीको परिचयपत्र नवीकरण

सुन्दरकुमार थकाली २०८१ वैशाख ५ गते १४:१८

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका—१ छेरौ स्थित तिब्बतीयन क्याम्पमा २७ जनाले तिब्बती शरणार्थी परिचयपत्र नवीकरण गराएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट गएको टोलीले सोमबार क्याम्पमा शरणार्थी परिचयपत्र बनाएका ४० जनामध्ये २७ जनाको शरणार्थी परिचयपत्र नवीकरण गरेको हो ।


मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीसहितको टोली शरणार्थी परिचयपत्र नवीकरणको सुविधा प्रदान गर्न छैरो क्याम्प पुगेको थियो । यसअघि शरणार्थी परिचयपत्र लिएकामध्ये १३ जना क्याम्प नभएकाले शरणार्थी परिचपयपत्र नवीकरण गर्न नसकिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।


‘छैरो क्याम्पमा रहेका शरणार्थीको परिचयपत्र नवीकरण गर्न त्यहाँ पुग्यौं,’ सहायकसुवेदीले भने,‘ कुल ४० जना शरणार्थीले परिचयपत्र लिएकामध्ये १३ जना अनुपस्थित रह्यो, सायद उहाँहरु जिल्ला छोडेर कतै जानु भएको होला ।’ उनले मुस्ताङको छैरो तिब्बती क्याम्पका २७ जनाको २०८१ चैत अन्तिमसम्मका लागि शरणार्थी परिचयपत्र नवीकरण भएको जानकारी दिए ।

Advertisement

परिचयपत्र नवीकरण हुन नसकेकाहरु सम्पर्कमा आएमा नवीकरण गर्न समस्या नहुने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाइ छ ।


२०३१ सालमा मुस्ताङबाट खम्पा विद्रोहीहरु विस्थापित भएसँगै वर्षौदेखि मुस्ताङको घरपझोङ १ छैरोमा तिब्बती शरणार्थीको बसोबास रहँदै आएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको अघिल्लो २ वर्षको शरणार्थी तथ्यांकमा मुस्ताङको छैरो तिब्बती क्याम्पमा २ सय ७ जना छन् । जसमध्ये ५१ जनाले शरणार्थी परिचयपत्र लिएका थिए भने बाँकी १ सय ४१ जनाले शरणार्थी परिचयपत्र लिएका थिएनन् ।

Advertisement


त्यस बेला मुस्ताङ प्रशासनको रेकर्डमा रहेकामध्ये २४ जना विदेश पलायन भएका थिए । क्याम्पमा रहेकामध्ये ६१ जनाले सामान्य खेती किसान गर्दै आएका छन् भने ५२ जना विद्यार्थी छन् । ११ जना शिक्षक र ४ जना मेडिकल तथा आयुर्वेद पेशामा आवद्ध छन् । क्याम्पमा रहेकामध्ये २ जना वृद्धवृद्धा छन् भने केही शरणार्थी महिला गृहिणी छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया