कागबेनी दोभानमा भेटियो कुर्म अवतारको कछुवा शालग्राम

समाधान संवाददाता २०८१ वैशाख ५ गते १६:१५
मुस्ताङको पवित्र धार्मिक कागबेनीमा भेटियो विष्णु भगवानको प्रतिक कुर्म अवतारको कछुवा शालिग्राम । तस्विरः सुन्दरकुमार थकाली

जोमसोम ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित श्राद्ध स्थल नजिक ‘कुर्म अवतार’को शालग्राम भेटिएको छ । मुस्ताङको कालिगण्डकी नदीको तटीय क्षेत्रमा विभिन्न प्रकारका शालग्राम भेटिने गरेपनि कर्म अवतारको कछुवा रुपी शालग्राम विरल्लै भेटिने गर्छ ।


भगवान विष्णुको प्रतिक मानिने कुर्म अवतारको कछुवा जस्तो देखिने शालग्राम चैते दशै औसी अघि कागबेनी धाममा प्रतिस्थापन गरिएको हो । मुस्ताङको कालिगण्डकी नदी र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धामबाट बग्ने शाखा नदीको दोभानमा कुर्म अवतारको कछुवा आकारको शालग्राम भेटिएपछि कागबेनी मन्दिर तथा श्राद्धस्थल संरक्षण व्यवस्थापन समितिले त्यहाँ प्रतिस्थापन गरेको समितिका अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । समितिले प्रतिस्थापन गरिएको शालग्रामसंगै दर्शन गर्न घण्ट समेत राखेको छ ।

Advertisement


भगवान विष्णुको प्रतिक शालग्राम नेपालको मुस्ताङमा मात्र पाईने गर्छ । कुर्म अवतारको रुपमा कछुवा आकार शालग्राम पहाडबीचको चटनहरु खिईदै खिईदै डिस्कल भई फुस्रो देखिएको समितिकी अध्यक्ष गुरुङको भनाइ छ । भगवान बिष्णुको बासस्थानको रुपमा रहेको यसक्षेत्रमा विभिन्न प्रकारका शालग्रामहरु पाइने गर्छ । समितिले भेटेको कुर्म अवतारको शालग्रामलाई श्राद्धस्थल नजिक प्रतिस्थापित गरी भक्तजनहरुलाई दर्शन गर्न फोटो खिच्ने सुविधा उपलब्ध गराइएको अध्यक्ष गुरुङको भनाइ छ ।


शालग्राम विशेषगरी हिन्दु वैष्णव भक्तजनहरुको घरघरमा र विष्णु भगवानको मन्दिरमा प्राण प्रतिष्ठानसहित पुजाआजा गर्ने गरिन्छ । वैदिक धर्म शास्त्रमा भगवान विष्णुले दोस्रो पटक कुर्म अवतार अर्थात कछुवाको अवतार लिएर देवी एवं मानव जगतको कल्याणका लागि काम गरेको धार्मिक किवंदन्ती छ । यसैका कारण हिन्दु धर्मालम्बीहरुले यसैको स्मरण गर्दै कुर्म जयन्ती मनाउने प्रचलन पनि छ ।

Advertisement

तपाईको प्रतिक्रिया