पौने ४ अर्बमा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन प्रस्ताव

समाधान संवाददाता २०८१ वैशाख १७ गते ११:०२

पोखरा ।
तेस्रो लगानी सम्मेलनमा विभिन्न २० आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिँदै छ । सम्मेलनमा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र बनाउन आह्वान गरिएको छ । यो परियोजनाको अनुमानित लागत ३ अर्ब ७२ करोड छ ।

Advertisement


लगानी सम्मेलनमार्फत लगानी जुटाउने लक्ष्यका साथ यो परियोजना सोकेसमा राख्न लागिएको छ । प्रस्तावित यस परियोजनाले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यो परियोजनामा पाँचतारे होटल, रेस्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

५ सय जना अटाउन सक्ने एम्फीथिएटर, २ प्रदर्शनी हल, पाँचतारे होटल (२ सय कोठा), रेस्टुराँ र फुडकोर्ट, सङ्ग्रहालय र स्मारिका कोठा, बाल उद्यान, तीन हजार मानिस अटाउने सम्मेलन हल, वनभोज क्षेत्र रहने प्रस्ताव तयार भएको छ।


पोखराको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र पर्यटकीय अकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको सन्दर्भमा पर्यटक बढाउन यस्ता परियोजना सञ्चालन गर्न आवश्यक छ । बोर्डका अनुसार अत्याधुनिक सेवा सुविधा दिन सकिने, संग्रहालय र सांस्कृतिक आकर्षण, मनोरञ्जनका क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरको दूरीमा रहेको, पर्यावरण अनुकूल डिजाइन र सञ्चालन नै परियोजनाका मुख्य विशेषता छन् ।


आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो ।

Advertisement

लगानी सम्मेलनमार्फत लगानी जुटाउने लक्ष्यका साथ यो परियोजना सोकेसमा

सम्मेलनमा ४० दशमलव ०२ मेगावाट विद्युत् उत्पादन क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका रूपमा तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पनि आशयपत्र मागका लागि सोकेसमा राख्न लागिएको छ । यो आयोजनाको लागत ८० अर्ब १२ करोड अनुमान गरिएको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका बन्ने यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन विद्युत् विकास विभागले गरिसकेको छ ।


यस्तै, तनहुँ, पाल्पा, नवरपुर र स्याङ्जा जिल्लामा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता छ सय ५० मेगावाट रहनेछ । १ खर्ब ७४ अर्ब ७३ करोड लागत अनुमान गरिएको यो परियोजनाका लागि १० हजार ९ सय ३४ हेक्टर जमिन आवश्यक पर्नेछ ।

७० प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी रहनेगरी यो आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२५ सम्ममा वातावरणीय प्रभाव मूल्यांकनको काम सकिसक्ने लक्ष्य राखिएको छ ।


गोरखामा निर्माण प्रस्ताव गरिएको सुपर बुढीगण्डकी जलविद्युत् आयोजनामा आशयपत्र आह्वानका लागि विद्युत् विकास विभागमार्फत लगानी सम्मेलनमा सोकेसमा राख्न प्रस्ताव भएको हो । ३४ दशमलव ९३ मेगावाट उत्पादन क्षमता रहेको यो जलविद्युत् आयोजनाको लागत ७ अर्ब ३४ करोड अनुमान गरिएको छ ।


नवलपुरको हुप्सेकोट गाउँपालिका–५ मा रहेको धौवादी खानी उत्खनन गर्ने र वार्षिक करिब ५ लाख टन स्टिल बिलेट (फलामको कच्चा पदार्थ) निकाल्ने उद्देश्यका साथ सरकारले यो आयोजना विकासको योजनाअघि सारेको छ । यो योजनाका लागि ५१ अर्ब २५ करोड लागत अनुमान गरिएको छ । धौवादी फलाम खानी उत्खननका लागि सन् २०२३ मा सम्भाव्यता अध्ययन भइसकेको छ ।


सम्मेलनमा विभिन्न क्षेत्रका १ सय ५१ वटा परियोजना प्रस्तुत हुँदै छन् । तीमध्ये सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ आयोजना छन् । यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका ५, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका ७, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका २, पानी आपूर्तिका ४ र सहरी विकाससम्बन्धी ६ परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि सम्मेलनमा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया