गण्डकीका लागि आर्थिक त्रिभुज

काठमाडौं ।
सरकारले पोखरा, भरतपुर र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा परियोजना सञ्चालन गर्ने उल्लेख गरे ।
एकीकृत विकासको अवधारणा अनुसार नमुना विकास अभियान सञ्चालन गर्न ३ सहरलाई ३ कोणमा राखी परियोजना चलाइने छ । यसमार्फत् निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने यसको लक्ष्य हो । गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सकिनेछ । बुटवल–पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गरिने भएको छ ।
तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले बताए । मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ ।
पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । यस परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रूपमा विकास गरी कार्यान्वयन गर्न २ अर्ब विनियोजन गरिएको छ ।
सार्वजनिक निजी मोडेलको यो परियोजनाका लागि २ अर्ब विनियोजन
सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् को १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोरिनेछ । बाँकी वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख छ ।
सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको छ । सन् २०२४ को सुरुआती महिनादेखि निरन्तर विदेशी पर्यटक आगमन वृद्धि भइरहेको छ । पछिल्लो मे महिनामा मात्रै १ लाख ११ हजार विदेशी नेपाल आएका छन् ।
महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजारमा खुम्चिएको थियो ।
पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्न मार्गचित्र बनाउने, पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने लक्ष्य लिइएको छ । भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने लक्ष्य लिएको सरकारले सीमावर्ती जिल्लामा यस्तो अभियान चलाउने योजना सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया