पहिरोमा सीमान्तीकृत नै किन पर्छन् ?

सञ्जय रानाभाट २०८१ साउन ९ गते ८:२०

(मनसुन सुरु भएयता गण्डकीमा ज्यान गुमाएका ३८ मध्ये अधिकांश दलित समुदायका)
पोखरा ।
असार २७ को राति १०ः१५ बजेतिर पोखरा–१९ पुरुन्चौरस्थित तल्लाकोट ठाँटीमा घर पछाडिबाट पहिरो खस्दा एकै घरभित्र ६ जना पुरिएर मृत्यु भयो । पहिरोकै असरले तल्लो घरमा रहेकी महिलाको पनि निधन भयो । तल्लाकोटमा मोटरबाटोको माथि ४६ वर्षीय कुलबहादुर परियारको ढुंगा र माटोको गारो र टिनको छानो भएको २ कोठे कच्ची घर थियो । घरपछाडि पाखोबारीमा मकै लगाइएको थियो ।

Advertisement


२÷३ दिनको लगातार झरीले अघिल्लो दिन नै सानो पहिरो घर माथिको बारीसम्म आएर थुप्रिएको थियो । मूल फुटेर घरको करेसाबाट बगिरहेको थियो । त्यही पहिरो सफा गर्न असार २७ मा माइली छोरी प्रभा र ज्वाइँ अस्मित आएका थिए ।
भिरालो जमिनमा पहिरो जाने सम्भावना सधैं रहिरहन्छ । अत्यधिक बर्षाका कारण यी सबै पहिरो गएको भन्ने उल्लेख भएको पाइन्छ । एकातिर पहिरो जानुमा प्राकृतिक अवस्था र तिनलाई बिगार्दै लैजाने मानवीय कारणहरूको कुनै न कुनै भूमिका देखिन्छ । अर्कोतर्फ, सबै पहिरोले एकै खाले मानिसहरूको ज्यान लिएको र धनमाल ध्वंश गरेको पाइन्छ । माथि उल्लेख गरेको कुलबहादुर जस्ता गण्डकीका यो वर्षको मनसुन सुरुयता भएको ३८ जनाको मृत्युलाई प्रतिनिधिमूलक रुपमा हेर्न सकिन्छ ।


त्यही राति पोखरा ३२, चैनपुरमा पहिरोले घर पुरिँदा ३ बालबालिकाको ज्यान गयो । राति सुतेको बेला आरती ओझाको घर पहिरोमा पुरिँदा ३ बालबालिका एकै चिहान भए । त्यसको २ दिनअघि असार २५ मा पोखरा २७, सहेलापाटामा पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको ज्यान गयो । पानी परेको बेला घरभित्रै रहेका उनले पहिरो आएको चालै पाएनन् ।
बर्खासँगै सुरु भएको विपद्का कारण असार महिनामा मात्र ३८ जनाले ज्यान गमाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विपद्मा तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरेमा ठूलो मानवीय भयो । हीरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो जाँदा ३ जनाको मृत्यु भयो । पहिराले ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोला र ४० वर्षीया हीरा नेपालीको मृत्यु भएको हो । त्यस पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भए ।


पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भयो । घरमाथिबाट पहिरो झर्न थालेपछि गोठमा भैंसी, बाख्रा बचाउन गएका उनीहरुको मृत्यु भयो । घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरे । यस्तै अविरल वर्षाअघि असार १२ गते लमजुङको क्व्होलासोथार गाउँपालिका ३ बगुमका ४ जनाको पहिरोबाट ज्यान गयो । ज्यान गुमाउनेमा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ महिनाकी ईच्छा गुरुङ, ५ महिनाकी निश्मा गुरुङ हुन् ।


असार १२ गते नै लमजुङको दोर्दी गाउँपालिका धैरेनीमा १४ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको थियो । सोही दिन कास्कीको मादी गाउँपालिका चितेपानीकी १३ वर्षी आयुश्मा रानाभाट र पोखरा २७ आरुपाटका ३ वर्षीय नाबालक अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको थियो ।

Advertisement


त्यस रात नवलपुर काबासेती १४ अग्यौलीका ४६ वर्षीय महिलाको चट्याङबाट मृत्यु भएको थियो । असार १४ गते स्याङ्जाको फेदीखोजा ५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय बालक निसिका जिटीको मृत्यु भएको थियो । असार १५ गते बागलुङ गल्कोट नगरपालिका ८ बिसौनाका ५५ वर्षीय प्रेम विक र ५० वर्षीय वसन्त विकको पहिरोबाट मृत्यु भएको थियो । स्याङ्जामा पहिरोमा परेर २ ठाउँमा गरी ४ जनाको मृत्यु भयो । शनिबार दिउँसो बिरुवा गाउँपालिका ६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७१ वर्षीय माधव शर्मा, उनकी श्रीमती ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी र छिमेकी ६७ वर्षीय हरिमाया शर्मा छन् ।


घटनाअघि उनीहरु आफ्नो घरमा आएको पहिरोबाट जोगिएर ईश्वरी लम्सालको घरमा आश्रय लिन पुगेका थिए । तर, आश्रय लिएको घरमा पनि माथिबाट पहिरो खस्दा तीनै जनाको मृत्यु भएको हो ।लम्सालको परिवारका ८ जना सदस्य पनि त्यही घरमा थिए । ५ जना घाइते भए । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक जिमिरेमा घरमाथिबाट खसेको पहिरोले एकजना वृद्धाको मृत्यु भयो । सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खिनाकुमारी मल्लको मृत्यु भएको हो । उनकी बुहारी भने भागेर ज्यान जोगाउन सफल भइन् ।


विपदमा पर्नेहरूमा विपन्न र सीमान्तीकृत समुदायका मानिसहरू बढी छन् । उनीहरु आर्थिक÷सामाजिक कारणले जोखिम भएका ठाउँमा बस्न बाध्य हुन्छन्, जोखिम भएका ठाउँबाट आफै सुरक्षित ठाउँमा जान सक्दैनन् र प्राकृतिक हिसाबले तुलनात्मकरूपमा सुरक्षित ठाउँहरू सडक, खेती, जस्ता विकास र जीविकोपार्जनका काममा जमिनको उपयोग गर्दा जोखिमको ख्याल नगरेको हुँदा पहिरो निम्तिएका पाइन्छन् । जलाधार व्यवस्थापन विज्ञानले पहाडी भेगमा भू—क्षय हुने र पहिरो जाने प्राकृतिक र मानवीय दुवै कारण हुन्छन् भन्ने व्याख्या गरेको छ । जलाधारमा हुने प्राकृतिक र मानवीय क्रियाकलापहरूको अन्तक्र्रियाले पहिरो जाने अवस्थामा पु¥याउँछन् ।


अधिकांश पहिरोका घटनामा पीडितहरूका तथ्यांक र अवस्था विश्लेषणले दलितहरू जोखिममा धकेलिँदै जाने वा जोखिमयुक्त ठाउँबाट बाहिर आउन नसकेर विपद्मा परेको देखाउँछन् । प्रभावित अरुको आर्थिक—सामाजिक हैसियत पनि दलितकै जस्तै कमजोर पाइन्छ । त्यसैले, सामाजिकरूपमा सीमान्तीकृत गरिएका र आर्थिकरूपमा दुर्वल भएकैले सीमान्तीकृतहरू असुरक्षित अवस्थामा धकेलिन्छन् र अन्ततः प्रकोपको मुखमा पुग्छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया